काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि सन्तोष कुँवरले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयदेखि एनआरएनए अष्ट्रेलियामा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवर अहिलेका महासचिव हुन ।
यसअघि उनी राज्य समन्वय परिषद्का सचिव, राज्य संयोजक २०१७-२०१९, आईसीसी सदस्य २०१९-२१ र ओसेनिया क्षेत्र उप-संयोजक २०२१-२३ रूपमा समेत काम गरेका थिए ।
कुँवरले करिब एक दशकदेखि संस्था भित्रको यात्रामा आफूले संस्थालाई संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शी र सरकारी संयोजनमै प्रभावकारी बनाउनेतर्फ उल्लेखनीय योगदान दिएको दाबी गरेका छन् ।
‘विद्यार्थीका रूपमा अष्ट्रेलिया आएको म आज एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदसम्म उम्मेदवारी दिने मोडमा पुगेको छ,’ कुँवरले भने, ‘संस्थाको दिगो विकास र श्रोत उपयोगमा मेरो भूमिका स्पष्ट छ ।’
उनको एजेन्डामा द्विपक्षीय लगानी, अनुदान संकलन, दोस्रो पुस्ता समावेशीकरण, च्यारिटी पारदर्शिता, उद्यमशीलता प्रवर्द्धन लगायतका विषय प्राथमिकतामा परेका छन् ।
एनआरएनए अस्ट्रेलियामा आगामी २६ तारिख नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । आफ्ना दुई वर्षका कार्ययोजनाहरू समेत तयार पारेको भन्दै सबैलाई साथ लिन आग्रह गरेका छन् ।

Leave a Reply