सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मान तथा प्रादेशिक प्रतिभा पुरस्कार वितरण

कैलाली । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले २१२ औँ भानु जयन्तीको अवसर पारेर विभिन्न विधाका स्रष्टाहरूलाई ‘प्रादेशिक प्रतिभा पुरस्कार’ तथा ‘प्रादेशिक प्रतिभा सम्मान’ प्रदान गरेको छ।

धनगढीमा आइतबार सम्पन्न विशेष समारोहमा प्रतिष्ठानले २०८१ सालका लागि सात जना स्रष्टालाई प्रादेशिक प्रतिभा पुरस्कार र अन्य नौ जना स्रष्टालाई प्रादेशिक प्रतिभा सम्मान प्रदान गरेको हो।

प्रादेशिक प्रतिभा पुरस्कार प्राप्त स्रष्टाहरूमा भाषा विधामा बैतडीका वीरबहादुर चन्द, साहित्यमा दार्चुलाका सह–प्रा. गणेशराज जोशी, लोकसंस्कृतिमा अछामका यज्ञराज उपाध्याय, लोकगायनमा बझाङकी डिक्रा बादी, चलचित्रमा कैलालीका संगत थारू, नृत्यमा डोटीका रामबहादुर रावल र ललितकलामा कञ्चनपुरका अमर सुनार रहेका छन्। उनीहरूलाई नगद ५० हजार रुपैयाँ, दोसल्ला र प्रशंसा–पत्र प्रदान गरिएको हो।

त्यस्तै, प्रतिष्ठानले प्रादेशिक प्रतिभा सम्मान अन्तर्गत डडेल्धुराका उमेश मायालु (नाट्य), कैलालीका अम्बिका प्रसाद आचार्य (चलचित्र), अछामका पदमबहादुर धामी (लोक दोहोरी), बझाङका उमाशंकर जोशी (लोकगायन), डोटीका खडक मल्ल (मातृभाषा चलचित्र), कैलालीका मनिष चौधरी (चित्रकला), कैलालीका हेमराज भट्ट (नृत्य), कैलालीकै प्रेम भण्डारी (नाट्य) र प्रकाशबहादुर शाह (गायन) लाई नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको हो।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का प्रमुख अतिथि रहेका थिए भने प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टी.एन. जोशीको सभापतित्व रहेको थियो।

समारोहमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, संविधानसभा सदस्य आनन्दी पन्त, पूर्व सांसद यज्ञराज पाठक, वरिष्ठ कथाकार किरण आचार्य, महाकाव्यकार मनिराज जोशी, प्राज्ञ यज्ञराज उपाध्याय, सुदूरपश्चिम विश्वविद्यालयका कार्यकारी सदस्य हरिकृष्ण कडायतलगायत विशिष्ट स्रष्टाहरूको उपस्थिति रहेको थियो।

सोही अवसरमा प्रतिष्ठानको अनुसन्धानमूलक ग्रन्थ ‘संस्कृति र इतिहास विशेष– सगुन’ र इन्द्र चौधरीद्वारा लिखित ‘सुदूरपश्चिमका थारू संस्कृति र लोककथा’ कृतिको पनि लोकार्पण गरिएको थियो। कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जीवन र कृतित्वमाथि प्रा। गणेशराज जोशीले चर्चा गरेका थिए।

भानु जयन्तीको अवसरमा आयोजित उक्त साहित्यिक तथा सांस्कृतिक उत्सवमा कविता वाचन र विविध सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *