भारतबाट चोरी गरी ल्याएकाे आशंकामा दुईवटा कार बाैद्ध र शिवचोकबाट बरामद

काठमाडौं । शंकास्पद दुई वटा गाडीहरुसहित दुई जनालाई  ट्राफिक प्रहरीले पक्राउ गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले  शुक्रबार गाडी नम्बर बा १६ च ३१३१ र बा १६ च ४०१७ नम्बरका स्वीफ्ट कारहरुसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका वडा नं ४ घर भई जोरपाटी बेशीगाउँ बस्ने ४० वर्षीय धन बहादुर तामाङ र सिन्धुली गोलान्जोर गाउँपालिका वडा नं ३ का ३९ वर्षीय मोहन लामा रहेका छन्।

तामाङकाे साथबाट बा १६ च ३१३१ नम्वरको स्वीफ्ट कार प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा वडा नम्बर८ शिवचोकबाट बरामद गरेको हो भने लामाकाे साथबाट बा १६ च ४०१७ नम्वरको स्वीफ्ट कार बौद्धबाट बरामद गरेको हो ।

अनुसन्धानको क्रममा उक्त कारहरु यातायात व्यवस्था कार्यालय एकान्तकुना र सम्बन्धित सुजुकी आधिकारीक कम्पनिमा अभिलेखमा रहेको नदेखिएको हुँदा भारतबाट चोरी पैठारी गरी नेपाल भित्राई संचालनमा ल्याएको देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी साधन प्रयोगकर्ता धन बहादुर तामाङ्ग र मोहन लामालाई थप अनुसन्धान तथा कारवाहीको लागि त्रिभूवन बिमानस्थल गौचर पठाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *