तिलोत्तमामा नेपालकै ठूलो विद्युतीय सवारी चार्जिङ्ग स्टेशन स्थापना

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ नयाँमिलमा विद्युतीय सवारी साधनका लागि नेपालकै ठूलो चार्जिङ्ग स्टेशन स्थापना गरिएको छ । कुल ४ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको सो चार्जिङ्ग स्टेशनमा एक पटकमा १४ वटा सवारी साधन रिचार्ज गर्न सकिने क्षमता रहेको छ ।

स्टेशनमा १ हजार केभिए क्षमताको नेको ट्रान्सफर्मर जडान गरिएको र ७ वटा चार्जिङ्ग मेसिनबाट दोहोरो सेवा प्रदान गरिएको शशिला मोटर्स प्रा।लि।का महाप्रबन्धक अशोक सुबेदीले जानकारी दिए । उनले चार्जिङ स्टेशनसँगै सोही स्थानमै सर्भिस सेन्टरसमेत सञ्चालनमा ल्याउने बताए ।
चार्जिङ्ग स्टेशनको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले मुलुकको आर्थिक बिकासका लागि इन्धन आयात घटाउनुपर्ने कुरामा जोड दिँदै यसका लागि स्वदेशमा उत्पादित विद्युत् खपत बढाउनुपर्ने बताए ।

पछिल्लो समय मुलुकका बिभिन्न शहरमा फैलिइरहेको उच्च बायु प्रदूषण र बढ्दो तापक्रम रोक्न विद्युतीय सवारी साधनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नगर प्रमुख खाणले यसको प्रयोगले आयात प्रतिस्थापन गर्न एकप्रकारले सहयोगी हुनसक्ने धारणा राखे ।

नेपाल विद्युत प्राधिकरण लुम्बिनीका सहायक प्रबन्धक रामप्रसाद ज्ञवालीले बढ्दै गइरहेको विधुत डिमाण्ड बढाउन पूर्वाधारमा लगानी बढाउनुपर्ने बताउँदै विद्युतीय गाडीले वार्षिक ३ खर्बको पेट्रोलियम पदार्थ आयातको आकार घटाउने जनाएका थिए ।

पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि।का अध्यक्ष दधिराम खरेलले विद्युतीय सवारी साधनले प्रदान गर्ने सेवाको गुणस्तर उच्चस्तरको हुनुपर्ने बताउँदै अघोषित लोडसेडिङ्गको समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।

विद्युतीय सवारी साधनप्रति आमजनताको विश्वास स्थापित गर्न सेवालाई गुणस्तरीय बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष खरेलले चार्जिङ्ग स्टेशनमा अटो वर्कसप र अटो पार्टस्को ब्यबस्थासमेत गरिनुपर्ने जनाए ।

शशिला अटो मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले आफूहरुले बिक्रीपछि र अघिको सेवालाई प्राथमिकतामा राखेर काम गरेको जनाए । यातायात ब्यबसायी बाबुराम खरेललगाएतले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग र यसबाट लिन सकिने लाभका बारेमा चर्चा गरेका थिए ।

सो अवसरमा शशिला मोटर्स प्रा।लि।बाट हाईगर कम्पनीको विद्युतीय सवारी साधन खरिद गर्ने तीन जनालाई साँचो हस्तान्तरण गरिएको थियो । कार्यक्रममा चीनको छेन्दु के मोटर्सका प्रबन्धक छिरिङले आफूहरुले वस्तु उत्पादनसँगै यसको सेवा र गुणस्तरमा विशेष ध्यान दिइरहेको बताउँदै विद्युतीय गाडीबाट हुने फाइदाका विषयमा सबैलाई जानकारी दिनुपर्ने बताइन् । शशीला मोटर्सले एसी र ननएसी इभी बिक्री थालेको छ । यसको १ करोड २० लाख मूल्य राखिएको छ । कम्पनीले यो अहिलेसम्मकै धेरै सीट भएको इभी बस भएको जनाएको छ ।  

Comments

One response to “तिलोत्तमामा नेपालकै ठूलो विद्युतीय सवारी चार्जिङ्ग स्टेशन स्थापना”

  1. rajen subedi Avatar
    rajen subedi

    Good तर भारा दर घत्छ कि घत्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *