रामजी खाँडको असन्तुष्टिः मेरो गीतमाथि उजुरी हाल्नुअघि एकपटक छलफल गरेको भए हुन्थ्यो

काठमाडौं । सामाजिक सद्भाव भड्काएको भन्दै तीन तिज गीतलाई प्रतिबन्धको माग गर्दै राष्ट्रिय लोक संचारकर्मी नेपालले साइबर ब्युरोमा आज उजुरी दियो । उक्त तीन गीतमध्ये एक गीत शान्तिश्री परियार र रामजी खाँडको स्वरमा रहेको ‘लुकी लुकी’ बोलको छ ।

लोक संचारकर्मी नेपाल सँगसँगै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालले पनि पाँच गीतको प्रतिबन्ध माग गर्दै व्युरोमा उजुरी दिएको छ । यद्यपि लोक दोहोरी प्रतिष्ठान नेपालले पाँच गीतको नाम भने खुलाएको छैन ।

तर, लोक संचारकर्मी नेपालले आफ्नो ‘लुकी लुकी बोलको गीतलाई समेत तिज गीतको क्याटागोरीमा राखेर उजुरी दिएपछि गायक खाँडले भने असन्तुष्टि जनाएका छन् । उनले नेपालप्रेससँगको कुराकानीमा आफू र परियारले गाएको गीत ‘तिज गीत’ नै नरहेको दाबी गरे ।

उनले भने, ‘हामीले गाएको गीत तिज गीत पनि होइन । न त दोहोरी गीत नै हो । उहाँहरुले उजुरी गर्नु अगाडि गीतको विधा छुट्याउनुपथ्र्यो । हाम्रो गीतलाई लोक फ्युजन गरिएको गीत हो । तर, उहाँहरुले सीधै तिज गीतको क्याटागोरीमा राख्नुभएको छ ।’

यति मात्रै होइन, आफ्नो गीतमाथि प्रतिबन्धको माग गर्दै व्युरोमा पुग्नु अगाडि आफूसँग एकपटक पनि छलफल नगरेको खाँडको गुनासो छ । छलफल त के, एउटा कलसम्म नआएको उनले बताए ।

उनले भने, ‘म विगत २५ वर्षदेखि अनवरत यस क्षेत्रमा छु । संख्यात्मक हिसाबले पनि धेरै गीत गाउने कलाकारमध्येमा पर्छु । त्यति धेरै गीत गाएर आउँदा यो गीतले चाहिँ अश्लीलता फैलाएको निचोड निकाल्नुभएछ उहाँहरुले । अब गीतको शब्दले अश्लीलता फैलायो वा दृश्यले फैलायो भनेर एकपटक छलफल गरेको भए कुरा क्लियर भइसक्थ्यो । तर, उहाँहरुले सीधै रामजी खाँड भनेर उजुरी हाल्नुभएछ ।’

उनले उजुरी हाल्नेहरुलाई इंगित गर्दै थपे, ‘उहाँहरु संस्कृति जोगाउँछु, विकृति, विसंगति हटाउँछु भनेर लाग्नुभएको छ । साथीहरुलाई म शुभकामना दिन्छु ।’

‘तर, तपाईंहरुले गीतको शब्द राख्दा ‘कमाल’ राख्नुभएको छ, तर उच्चारण ‘माल’ भनेर गर्नुभएको रहेछ नि रु’ भन्ने प्रश्नमा खाँडले भने, ‘माल भन्नसाथ गलत अर्थ लाग्ने भन्ने हुन्न । कुरालाई गलत तरीकाले व्याख्या गरेपछि गलत नै देखिन्छ । अनि सबैले गलत भन्दै भन्दै जाँदा सही शब्द पनि गलत भएर निस्कन्छ ।’

यदि शब्दले अप्ठ्यारो पारेको भए वा दृश्यले अप्ठ्यारो पारेको भए आफू सच्याउन तयार रहेको खाँडले बताए । तर, उजुरी गर्नुअघि एकपटक फोन गरेर संवाद गरेको भए सल्टिसक्ने उनको भनाइ छ ।

खाँड र परियारको ‘लुकी लुकी’ सँगै अन्य दुई गीतलाई पनि प्रतिबन्धको माग गर्दै लोक संचारकर्मी नेपालले उजुरी दिएको छ । गीत संगीतमा देखिएको विकृतिबारे दोहोरीगीत प्रतिष्ठानको टिमले गत बिहीबार गृह मन्त्रालय पुगेर गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउँदै त्यस्ता गीत रोकिदिन राज्यका निकायले पहल गर्न आग्रह समेत गरेको थियो।

त्यस क्रममा गृहमन्त्री लेखकले अपाच्य गीतमा सरकारले कडाइ गर्ने जनाएका थिए। गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध र विकृति हेर्न प्रहरीको साइबर ब्युरोमा छुट्टै फोकल पर्सन तोक्न समेत निर्देशन दिएका थिए। गृहमन्त्रीको निर्देशनपछि लोका दोहोरी प्रतिष्ठान र लोक संचारकर्मी नेपाल उजुरी गर्न व्युरो पुगेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *