काठमाडौं । पाँच गीतमाथि प्रतिबन्धको माग गर्दै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालले साइबर ब्युरो गुहारेको छ । प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर र महासचिव शिव हमाल पाँच गीतलाई प्रतिबन्धको माग गर्दै साइबर व्यूरो पुगेका हुन् ।
अध्यक्ष मगरले उजुरी दिनुको कारण खुलाउँदै भनिन्, ‘गीतको शब्द, भिडियो पचाउनै नसकिने खालको भएकाले हामीले उजुरी दिएका हौं । हामीले उहाँहरुलाई (पाँच गीतका सर्जक) लाई सम्झाइबुझाइ गर्दा पनि नमानेपछि हामीले कानुनी उपचारको बाटो समात्न बाध्य भयौं ।’
मगरका अनुसार केही गीतहरु तिज गीत छन् भने केही गीतहरु लोकदोहोरी गीतहरु नै छन् । अपाच्य तिज गीतहरुका कारण मान्छेलाई तिज पर्व नै नआएको पनि हुने जस्तो लाग्न थालेको मगरको भनाइ छ । यही कारण आफूहरु साइबर ब्युरो पुगेर पाँच गीतको युट्युब लिंकसमेत राखेर ती गीतलाई प्रतिबन्ध लगाइदिन व्युरो पुगेको बताइन् ।
तर, कुन-कुन गीत हो भनेर आफूहरुले मिडियामा चाहिँ नखुलाउने मगरको भनाइ छ । यदि गीतको नाम खुलाएको खण्डमा ती गीत झनै भाइरल हुने र प्राप्त भ्युजले त्यस्ता अपाच्य गीतका सर्जकहरु झनै हौसिने भन्दै गीतको नाम नखुलाउने मगरले बताइन् । उनले भनिन्, ‘उजुरीका कारण चर्चामा आएर त्यस्ता गीत चलेमा उनीहरु झनै हौसिन सक्छन् । त्यसले सामाजिक सद्भाव भड्काउने सम्भावना हुन्छ ।’
लोकदोहोरी प्रतिष्ठानसँगै राष्ट्रिय लोकसंचारकर्मी नेपालले पनि साइबर व्युरोमा उजुरी दिएका छन् । लोक संचारकर्मी नेपालले भने तीन गीतको नामै खुलाएर उजुरी दिएको छ । त्यसमध्ये एक गीत शान्तिश्री परियार र रामजी खाँडको स्वरमा रहेको तीज गीत छ । उक्त गीतको अडियोमा ‘माल’ शब्दको प्रयोग गरिएको छ । तर, युट्युबमा राखिएको गीतको शब्दमा भने ‘कमाल’ लेखिएको छ ।
यस विषयमा जिज्ञसा राख्दा मगरले भनिन्, ‘लोक संचारकर्मीले किटान गर्नुभएको शान्तिश्री र रामजीको गीतको शब्द जे भए पनि उच्चारण खराब छ । त्यसलाई ‘माल’ होइन, ‘कमाल’ नै गाउनुपर्यो । पुनः रेकर्ड गरेर भए पनि सच्याउनुपर्यो ।’
गीत संगीतमा देखिएको विकृतिबारे दोहोरीगीत प्रतिष्ठानको टिमले गत बिहीबार गृह मन्त्रालय पुगेर गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउँदै त्यस्ता गीत रोकिदिन राज्यका निकायले पहल गर्न आग्रह गरेको थियो।
त्यस क्रममा गृहमन्त्री लेखकले अपाच्य गीतमा सरकारले कडाइ गर्ने जनाएका थिए। गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध र विकृति हेर्न प्रहरीको साइबर ब्युरोमा छुट्टै फोकल पर्सन तोक्न समेत निर्देशन दिएका थिए ।

Leave a Reply