काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट यस वर्ष दर्ता भएका भन्दा बढी मुद्दा फछ्यौट भएका छन् । जिल्ला अदालत काठमाडौंले आइतबार पत्रकार सम्मेलन गर्दै यस वर्ष दर्ता भएका मुद्दा भन्दा बढी मुद्दा फछ्यौट भएका जनाएको हो ।
जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलका अनुसार यस वर्ष २५ हजार ६३९ मुद्दा दर्ता भएका थिए । तर, यस वर्ष २६ हजार ७४४ मुद्दा फछ्यौट भएका छन् । उनका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका २६ हजार ५०२ र नयाँ दर्ता भएका २५ हजार ६३९ गरेर जम्मा मुद्दाको लगत ५२ हजार १४१ रहेको छ ।
जम्मा मुद्दाको लगतमा भने ५१ प्रतिशत मुद्दा फछ्यौट भएका छन् । अदालतको तथ्यांक अनुसार जम्मा लगत मुद्दामा ४८ प्रतिशत अर्थात २५ हजार ३३९ मुद्दा बाँकी रहेका छन् । जसमा २ वर्ष भन्दा बढी नाघेका मुद्दाको संख्या १ हजार ८५३ रहेका छन् ।
फैसला कार्यान्वयनमा पौने ६ करोड जरिवाना असुल हुँदा विगो भने ५० लाख पनि कटेन
फैसला कार्यान्वयनतर्फ चालू आर्थिक वर्षमा जरिवानातर्फ १४ अर्ब ४ करोड ८ लाख २९ हजार ९२१ रुपैयाँ जरिवाना तिराउने आदेश भएकोमा ५ अर्ब ८६ करोड ३७ लाख ६५ हजार ४३२ रुपैयाँ तिराउन सफल भएको छ भने २ अर्ब ५ करोड ३३ लाख ४८ हजार ९४९ सरकारी बिगो तिराउन आदेश गरेकोमा ३७ लाख ३४ हजार ४५९ रुपैयाँ मात्रै अशुल उपर गराउन सफल भएको छ ।
मेलमिलापका २७ सय मुद्दामा ३०१ मात्रै सफल, २ हजार भन्दा बढी फिर्ता
मेलमिलापतर्फ मेलमिलाप केन्द्रमा पेस भएका २ हजार ७०५ मुद्दामा ३०१ मुद्दा सफल भएका छन् भने प्रक्रियामा रहेका मुद्दाको संख्या ३८४ रहेको छ । यस्तै मेलमिलाप हुन नसकी फिर्ता भएका मुद्दाको संख्या २ हजार २० रहेका छन् ।
अदालतमा विशेष प्रकृतिका निवेदनमा २ हजार १६६ अधिकृत वारेश, २ हजार ७४२ जोडीको दर्ताद्धारा विवाह, २४ जना संरक्षकको नियुक्ति, ३२ मृत्युको न्यायिक घोषणा, १६ जनालाई धर्मपुत्र धर्मपुत्री राख्ने अनुमति अदालतले दिएको छ भने प्रकृतिक व्यक्ति दामासाही एउटा रहेको छ ।
पछिल्लो ५ वर्षको तुलनामा यस वर्ष पहिलो पटक ५० प्रतिशत भन्दा बढी मुद्दा फछ्यौट
जिल्ला अदालतको पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा पहिलो पटक ५० प्रतिशत भन्दा बढी मुद्दा फछ्यौट भएका छन् । चालू आर्थिक वर्षको आजको दिनसम्मा जम्मा ५१ हजार १४२ मुद्दाको लगत रहेकोमा ५१.२९ प्रतिशत अर्थात २६ हजार ७४४ मुद्दा फछ्यौट भएका छन् । जसमा १ हजार ८५३ मुद्दा २ वर्ष नाघेका बाँकी रहेका छन् ।
लगतको तुलनामा २ वर्षे बाँकी मुद्दाको प्रतिशत ३.५५ रहेको छ । अघिल्लो आर्थिक वर्ष ०८०–८१ मा ४९ हजार ८२९ जम्मा मुद्दाको लगत रहेकोमा ४६ प्रतिशत अर्थात २३ हजार ३२७ मुद्दा पछ्र्यौट भएका थिए । अघिल्लो वर्ष २ वर्ष नाघेका मुद्दा १ हजार ८७३ बाँकी रहेका थिए । लगतको तुलनामा २ वर्षे बाँकी प्रतिशत ३.७६ प्रतिशत गत वर्ष रहेको थियो ।
आर्थिक वर्ष ०७९–८० मा ३६ हजार ६१४ जम्मा मुद्दाको लगत रहेकोमा ४२.४५ प्रतिशत अर्थात १५ हजार ५४३ मुद्दा फछ्यौट भएका थिए । उक्त आर्थिक वर्षमा २ वर्ष नाघेका बाँकी मुद्दाको संख्इा ३ हजार १६ थियो । त्यस वर्ष लगतको तुलनामा २ वर्षे बाँकी प्रतिशत ८.२४ प्रतिशत थियो ।
आर्थिक वर्ष ०७८–७९ मा जम्मा मुद्दाको लगत संख्या २९ हजार ५९५ रहेकोमा ३९.२९ प्रतिशत अर्थात ११ हजार ६२८ मुद्दा फछ्यौट भएका थिए । त्यस वर्ष २ वर्ष नाघेका बाँकी मुद्दाको संख्या ३ हजार ८० थियो भने लगतको तुलनामा २ वर्षे बाँकी प्रतिशत १०.४१ प्रतिशत थियो । यस्तै आर्थिक वर्ष ०७७–७८ मा २१ हजार ८३२ जम्मा मुद्दाको लगत रहेकोमा ३७.०९ प्रतिशत अर्थात ८ हजार ९८ मुद्दा फछ्यौट भएका थिए । त्यस वर्ष २ वर्ष नाघेका बाँकी मुद्दाको संख्या २ हजार ३६३ रहेकोमा लगतको तुलनामा २ वर्षे बाँकी प्रतिशत १०.८२ प्रतिशत थियो ।
४३ जना न्यायाधीशको दरबन्दीम ६ जनाको पद रिक्त
जिल्ला अदालत काठमाडौंमा ४३ जना न्यायाधीशको दरबन्दी रहेकोमा ३९ जनाको पदपूर्ति रहेकोमा ४ जनाको दरबन्दी रिक्त छ । अन्य अदालतबाट अन्य अदालतमा काजमा गएका न्यायाधीशको संख्य २ रहेकाले यस अदालतमा कार्यरत न्यायाधीशको संख्या ३७ छ ।
करार र काजसहित दरबन्दी भन्दा ६२ बढी कर्मचारी, तर ३७ दरबन्दी रिक्त
यस्तै जम्मा स्थायी दरबन्दी कर्मचारीको संख्या ३२७ रहेकोमा पदपूर्ति संख्या २९० रहेकाले रिक्त कर्मचारीको संख्या ३७ जना रहेको छ । रिक्त दरबन्दी मध्ये करारमा कार्यरत कर्मचारीको संख्या २४ जना रहेको छ भने बजेट प्रयोजन अन्तरगत कार्यरत कर्मचारीको संख्या ५२ जना रहेको छ भने अन्य अदालत वा निकायबाट जिल्ला अदालत काठमाडौंमा काजमा रहेका कर्मचारीको संख्या ५८ रहेको छ । यस अदालतमा न्यायाधीश र उनीहरुको सुविधा अन्तरगतका कर्मचारी बाहेक जम्मा कार्यरत कर्मचारीको संख्या ३८९ रहेको छ ।

Leave a Reply