रूपन्देही उपनिर्वाचन : निर्वाचन आयोगको मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रूपन्देही जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु गरेको छ । आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नामावली अद्यावधिकका लागि आवश्यक मिति र कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगका अनुसार मतदाता नामावली अद्यावधिकका लागि कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकलाई केन्द्रित गरिएको छ । ती नागरिकको विवरण यहिँ असार १६ गतेसम्म देशभरबाट दर्ता गरेका मतदाता नामावलीबाट समेटिनेछ ।

अद्यावधिक गरिएका विवरण आगामी साउन १४ गते आयोगको वेबसाइटमा प्रकाशन गरिने आयोगका सहसचिव एवम प्रवक्ता निता पोखरेलले जानकारी दिईन । उनका अनुसार त्यसपछिका सात दिन, अर्थात् साउन १५ गतेदेखि २२ गतेसम्म मतदाताले नामावलीमा रहेका त्रुटि सच्याउने, झुटा विवरण दिएको व्यक्तिको उजुरी दिने, दोहोरो नाम हटाउने, मृतक वा नागरिकता त्याग गरेका व्यक्तिको विवरण हटाउने लगायतका कार्यका लागि निवेदन दिन सक्नेछन् ।

यस प्रक्रियाका लागि आयोगले अनलाइन प्रणाली समेत उपलब्ध गराएको छ। मतदाताले अनलाइन माध्यमबाट समेत त्रुटि सच्याउन, उजुरी गर्न वा अन्य आवश्यक निवेदन दिन सक्नेछन् । अन्तिम चरणमा, आगामी भदौ २५ गते अद्यावधिक भएको अन्तिम मतदाता नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ ।

आयोगले मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालालाई सहभागिता जनाउन आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *