‘ओलीबिनाको एमाले सम्भव छैन, जाल बुन्नेहरू सफल हुँदैनन्’

झापा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकतालाई मजबुत बनाएर सङ्कल्पका साथ लाग्ने हो भने एमालेलाई अरूले हराउन नसक्ने बताएका छन् ।

एमालेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिद्ध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको बताए ।

केपी ओलीबिनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गरे । पार्टी भित्र र बाहिरबाट भइरहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गरे ।

उनले भने, ‘एमालेबिनाको देश र केपी ओलीबिनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन । एमाले साना स्वार्थ बोक्ने पार्टी होइन । यसको काँधमा देश बनाउने महान् उद्देश्य छ । यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो । एमालेविरुद्ध जाल बुन्नेहरू सफल हुँदैनन् । माकुरोको जालोमा कहिल्यै भैँसी पर्दैन । हाम्रा विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन । केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन । हामी सहकारी ठगेर मुद्दा झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन ।’

नेपाललाई एमालेले नसके अरू कसैले बनाउन नसक्ने स्पष्ट गर्दै आफू प्रधानमन्त्री भएपछि फलामखानी र पेट्रोलियम पदार्थको उत्खनन, सुरुङ मार्ग निर्माणजस्ता अनेकौं विकास र समृद्धिका काम थालनी भएको र त्यसको प्रतिफल आउन थालेको बताए ।

 

Comments

One response to “‘ओलीबिनाको एमाले सम्भव छैन, जाल बुन्नेहरू सफल हुँदैनन्’”

  1. samir Avatar
    samir

    यस्तालाई प्रधानमन्त्री मानेर बस्नुभन्दा हामी स्वतन्त्र युवाहरु विदेश पलायन हुनु नै राम्रो हो।

    यो देश यस्तै भ्रष्ट र अपराधीहरुले नै कब्जा गरिसके!

    कतिसम्म भने रास्वपा भन्ने नयाँ पार्टीले आफ्नो पार्टी निर्णय अद्यावधिक गरिदिन निर्वाचन आयोगमा पत्र लेखेको एक वर्ष हुँदा पनि कालो काङ्ग्रेस , भ्रष्ट एमाले र हत्यारो माओवादीबाट नियुक्ति खाएका आयोगका झोले खातेहरुले अद्यावधिक नै गरिदिन्नन!
    😪😡

Leave a Reply

Your email address will not be published. Required fields are marked *