काठमाडौं । निर्देशक दिपेन्द्र लामाले चलचित्र ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्ने भएका छन् । सामिप्यराज तिमल्सेनाको पटकथा तथा श्रीधर पौडेल कार्यकारी निर्माता रहेको यस चलचित्रमा हालसम्म अभिनेता राज कटुवाल मात्रै अनुबन्धित भएका छन् ।
पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच २०७५ सालको फिल्म ‘गोपी’ पछि फेरि सहकार्य हुन लागेको हो । चलचित्रमा अनुबन्ध भएका अभिनेता कटुवाल पछिल्लोपटक ‘नरसिंहा अवतार’ मा देखिएका थिए ।
निर्देशक लामाका अनुसार बाँकी कलाकारहरूका विषयमा टिमसँग छलफल भइरहेको र केही दिनभित्र टुंगो लाग्नेछ। उनले भने, ‘फिल्मको पटकथामा सुहाउँदो भएकाले राज कटुवाललाई अनुबन्धित गरेका हौं, बाँकी कलाकार पनि कथा र चरित्र अनुकूल हुनेगरी छान्ने हाम्रो योजना छ।’
निर्देशक लामाको पछिल्लो चलचित्र ‘दुःखी आत्मा’ हो । यस चलचित्रले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेको भने थिएन ।
फिल्मका लेखक तिमल्सेनाले फिल्ममा ग्रामीण परिवेशको फरक स्वादको प्रेमकथा हेर्न पाइने जानकारी दिए। उनले भने, ‘पछिल्लो समय नेपाली फिल्ममा हेरिँदै आएकाभन्दा भिन्न स्वभावका प्रेमकथा यसमा प्रस्तुत गरिनेछ।’
कार्यकारी निर्माता पौडेलले पटकथा र प्रि–प्रोडक्सनको काम राम्रो भएपछि मात्रै छायांकनमा निस्किने बताए । पौडेलका अनुसार चलचित्रको छयांकन कास्कीको ग्रामीण भेगमा गरिनेछ ।

Leave a Reply