राप्रपाको अनुशासन आयोगबाट हटाइएपछि नवराज सुवेदी लठ्ठी टेक्दै निर्वाचन आयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएका वरिष्ठ नेता नवराज सुवेदी निर्वाचन आयोगमा उजुरी गर्न पुगेका छन् । राप्रपाको संस्थापन इतर खेमाले उनलाई साथ दिएको छ ।

राप्रपा अध्यक्ष लिङदेनले सुवेदी पार्टीमा नरहेको निष्कर्ष निकाल्दै अनुशासन समितिबाट उनलाई हटाएका थिए । उनको स्थानमा रोशन कार्कीलाई अध्यक्ष बनाइएको छ । तर सुवेदीले आफू राप्रपाबाट अलग नभएको दाबी गर्दै अध्यक्षको कदमविरुद्ध आयोगमा उजुरी गर्न पुगेका हुन् ।

सुवेदीले राजसंस्था पुन:स्थापनाका लागि गठिन संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिए लगत्तै पत्रकार सम्मेलनमा राप्रपाको साधारण सदस्यता त्यागेको घोषणा गरेका थिए । तर, उनले राप्रपामा लिखित राजीनामा भने बुझाएका छैनन् । उनले सार्वजनिकरुपमा गरेको घोषणालाई नै राप्रपाले पार्टी परित्यागको रुपमा लिएको छ ।

राप्रपाको विधान अनुसार अनुशासन समितिको अध्यक्ष नियुक्त गर्दा पार्टी अध्यक्षले केन्द्रिय समिति वा कार्यसम्पादन समितिमा प्रस्ताव लैजानुपर्छ । उक्त प्रावधानको उल्लंघन गरेको भन्दै संस्थापनइतर खेमाले निर्वाचन आयोग गुहार्ने निर्णय गरेको थियो । सगुन लावतीलाई प्रवक्ताबाट हटाउने निर्णयको पनि यो खेमाले विरोध जनाएको छ ।

निर्वाचन आयोगमा अहिले नवराजलाई साथ दिँदै डा. धवलशम्शेर राणालगायतका नेताहरू पनि पुगेका छन् ।

लठ्ठी टेक्दै निर्वाचन आयोगमा आएका सुवेदीले पत्रकारसँग बोल्न मानेनन् । उनले भित्रबाट काम सकेर निस्किएपछि प्रतिक्रिया दिने बताए ।

‘हामी निस्किएपछि बोल्छौं, तपाईंहरू पनि नियममा हिँड्नुस,’ उनले पत्रकारलाई भने ।

तस्बिरहरू : उमेश कार्की । 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *