रूपन्देही । शाक्यवंशी राजा शुद्धोधनको राजधानी रहेको ऐतिहासिक स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) विश्व सम्पदा सूचीमा सूचीकृत पार्ने पहल विफल भएको छ । युनेस्कोमा मनोनयनका लागि लामो समयदेखि गरिएको तयारीपछि पनि यस वर्षका लागि सूचीबद्ध हुने आशा आज सकिएको हो ।
फ्रान्सको पेरिसमा जारी युनेस्कोको ४७ औँ सत्रमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने विषयमा आज भएको अन्तिम छलफलमा यो अस्वीकृत भएको हो ।
आजको छलफल अघि नै युनेस्कोको प्राविधिक सल्लाहकार संस्था ‘इकोमस’ (स्मारक तथा स्थलहरूको अन्तर्राष्ट्रिय परिषद्) ले ‘डिफर’ (स्थगन) सिफारिस गरेकोले अहिले सूचिकृत हुने अवस्था कम भएको थियो तर आजको बैठकमा यसको सम्बोधन हुने झिनो आशा गरिए पनि त्यो पूरा नभएको फान्स रहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्यारक्याल लामाले बताए । उनले अन्तिम समयसम्म गरिएको प्रयास असफल भएको जनाएका हुन् ।
लुम्बिनी विकास कोषमा सदस्यसचिव शानुराजा शाक्यका अनुसार इकोमसको ‘डिफर’ सिफारिस भनेको प्रस्तावित विषयलाई तत्काल निर्णय नगरी पछि सार्ने हो, जसले प्रक्रियामा अन्योल थपिन्छ । युनेस्कोले प्रायः निर्णय इकोमसकै सिफारिसमा आधारित भएर गर्ने भएकाले तत्काल सूचीमा सूचीकृत हुने सम्भावना हिजो नै कमी भएपनि आजको बैठकले त्यसलाई नहुने निश्चित गरेको उनले बताए ।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने र बुद्ध जन्मस्थल लुम्बिनीलाई सम्भावित खतरा सूचीमा नराख्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्यारक्याल लामासहितको उच्चस्तरीय सरकारी टोली पेरिस पुगेको थियो ।
टोलीमा कोषका वरिष्ठ निर्देशक ज्ञानीन राई, संस्कृति मन्त्रालयका सहसचिव र पुरातत्व विभागका अधिकारी छन् । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार टोलीले द्विपक्षीय तथा बहुपक्षीय छलफलमार्फत तिलौराकोटको पक्षमा व्यापक लबिङ गरिरहेको छ ।
१००० पृष्ठको दस्तावेज, एक दशकभन्दा बढीको अनुसन्धान
२०२४ जनवरी ३१ मा नेपालका तर्फबाट स्थायी प्रतिनिधि तथा फ्रान्सका लागि राजदूत डा.सुधीर भट्टराईले करिब १,००० पृष्ठ लामो अन्तिम मनोनयन दस्तावेज युनेस्कोको विश्व सम्पदा केन्द्रमा बुझाएका थिए।
त्यसपछि इकोमसको उच्चस्तरीय टोलीले तिलौराकोटको स्थलगत निरीक्षण गरी मूल्यांकन प्रतिवेदन दिएको थियो, जसको आधारमा अहिले निर्णय हुने प्रक्रिया थियो। यस पटक विश्वभरबाट ३२ वटा साइट प्रस्तावित छन्, जसमध्ये २४ सांस्कृतिक, ७ प्राकृतिक र १ मिश्रित छन् ।
भारतको असहमति, ‘पिपरहवा’ र ‘गनवरिया’को दाबी
इकोमसको नकारात्मक सिफारिसमा भारतको अप्रत्यक्ष दबाब पनि एक कारण हुनसक्ने अनुमान गरिएको छ । युनेस्कोमा भारत प्रभावशाली राष्ट्रका रूपमा चिनिन्छ ।
भारतले उत्तर प्रदेशको सिद्धार्थनगरस्थित पिपरहवा र गनवरियालाई शाक्यहरूको राजधानी दाबी गर्दै आएको छ । तर, नेपालका पुरातत्वविद्हरूले तिलौराकोट नै प्राचीन कपिलवस्तु रहेको प्रमाणित भइसकेको बताउँछन् । पुरातत्वविद् वसन्त बिडारीका अनुसार, चिनियाँ यात्रीहरूको विवरण, भौगोलिक स्थिति र उत्खननबाट प्राप्त सामग्रीहरूले तिलौराकोट नै शुद्धोधनको राजधानी हो भन्ने पुष्टि भइसकेको छ ।
बिडारीले भारतलाई कन्भिन्स गरेर दुई देशको साझा सम्पदा भनेर ट्रान्स बोर्डर विश्व सम्पदाका रूपमा सूचीबद्ध गर्न सकिने बताउँछन् । उनका अनुसार जर्मनी, नेदरल्याण्ड र डेनमार्कले वाडेन सी, जिम्बाब्वे र जाम्बियाले भिक्टोरिया फललाई यस्तो साझा सम्पदाका रूपमा सूचीबद्ध गराएका उदाहरण छन् ।
लुम्बिनी भने खतराको सूचीबाट मुक्त हुने संकेत
युनेस्कोले बुद्ध जन्मस्थल लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राख्ने चर्चा चले पनि त्यसबाट राहत पाउने संकेत देखिएको छ । कोषका सदस्य सचिव शाक्यका अनुसार, लुम्बिनीमा सुधार गर्न निर्देशन दिइएका अधिकांश काम सम्पन्न गरिएकाले खतराको सूचीमा नराखिने सम्भावना बलियो छ ।
लुम्बिनीसम्बन्धी ‘स्टेट अफ कन्जरभेसन रिपोर्ट’ युनेस्कोमा बुझाइएको छ। १० र ११ जुलाईमा लुम्बिनी र ११ देखि १३ जुलाईसम्म तिलौराकोटको विषयमा छलफल हुने कार्यतालिका छ।
सन् २०१४ देखि वैज्ञानिक उत्खनन्, गहिरिँदो प्रमाण
डरहम विश्वविद्यालयका प्रोफेसर रविन कनिङ्घमको नेतृत्वमा सन् २०१४ देखि तिलौराकोटमा वैज्ञानिक उत्खनन् हुँदै आएको छ। ११ वर्षको उत्खननले प्राप्त प्रमाणहरू ईसा पूर्व आठौँ शताब्दीसम्म पु¥याउँछ। सन् १९९६ मा युनेस्कोको प्रारम्भिक टोलीले तिलौराकोटमा सानो ट्रेन्च उत्खनन् गरी ‘टेन्टेटिभ लिस्ट’मा राखेको थियो। त्यसयता त्यो सूचीभन्दा माथि जान नसकेको तिलौराकोट, अब फेरि सूचीबद्ध गराउने अन्तिम प्रयासमा जुटेको थियो ।
तिलौराकोटलाई सूचिकृत गर्नका लागि फ्रान्स पुगेको टोलीभन्दा त्यहाँ रहेको राजदूतावासले यसको समन्वय नगरेको स्रोतले जनाएको छ । ‘नेपालबाट आएको टोलीले यति धेरै मेहनत गर्दा पनि यहाँ रहेका राजदूतको समन्वय नै हामीले पाएनौं, यसको गम्भीर समीक्षा हुनुपर्छ’ टोलीका एक सदस्यले भने ।
युनेस्कोको प्राविधिक सल्लाहकार इकोमस नै तिलौराकोटबारे सकरात्मक प्रतिवेदन तयार नपारेपछि नेपालको वर्षोँदेखिको प्रयास असफल भएको हो।
युनेस्को जापानिज फन्ड इन ट्रस्ट परियोजनाअन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाण जुटाएको थियो।
संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्तव विभागले विभिन्न चरणमा अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञहरूसँग तिलौराकोट क्षेत्रमै पटकपटक छलफल गरेको थियो।
अन्तर्राष्ट्रिय सम्पदा विज्ञ डा.डंकन मार्सल (अस्ट्रेलिया), प्रा.डा. रविन कनिङहम (बेलायत)सहित नेपालका तर्फबाट विज्ञहरु काई वाइजे, प्रोफेसर योकियो निसिमुरा, प्रो. म्याक्स डिग, डा. मार्क म्यानुअलसहित नेपालका विज्ञहरुले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृतको अन्तिम मनोनयन दस्तावेज तयार पार्ने काम गरेका थिए।
यनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो।

Leave a Reply