सवारी चापले नागढुङ्गा-मुग्लिन सडक निर्माण प्रभावित

काठमाडौं । नागढुङ्गा-मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभावित भएको छ ।

नागढुङ्गा-मुग्लिन सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशवप्रसाद ओझाले यस सडक खण्डमा आवातजावत गर्ने १५ हजारभन्दा बढी सवारीसाधनलाई व्यवस्थापन गरेर निर्माण गर्न समस्या भइरहेको बताए ।

यस सडक खण्डमा डाइभर्सन पनि नभएको र काठमाडौं जोड्ने सडक बीपी र कान्ति राजमार्गले पनि सोचेको जस्तो सहयोग नगरेको हुँदा सवारी चापका कारण सडक निर्माणले तीव्रता लिन नसकेको उनको भनाइ छ ।

‘हालको अवस्थामा निर्माण सामग्रीको समस्या प्रमुख छ । दोस्रोमा १५ हजारभन्दा बढी सवारीसाधनलाई व्यवस्थापन गरेर निर्माण गर्न पनि समस्या भइरहेको छ’, योजना प्रमुख ओझाले भने, ‘यसको डाइभर्सन पनि छैन । काठमाडौं जोड्ने सडक बीपी राजमार्ग र कान्ति राजमार्गले पनि हामीले सोचेको जस्तो सहयोग नगरेको हुँदा सबै सवारी चाप यही सडकमा परेको छ ।’

उनले दिनमा ८ घण्टा काम गर्ने समय पनि नपाएको भन्दै यसलाई समाधान गर्ने हो भने काम तीव्र रुपमा अगाडि बढ्ने बताए ।

सवारी धनी, जिल्ला प्रशासन र ट्राफिकहरुसँग समन्वय गरेर गाडीको चाप कम हुने समयमा निर्माणलाई तीव्रता दिने काम भइरहेको उनको भनाइ छ ।

योजना प्रमुख ओझाले अबको एक वर्षभित्र बाँकी २७ किलोमिटर पहिलो तहको कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखेका जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *