इतर पक्षको भेला लक्षित लिङदेनको टिप्पणी- मेरो गुट छैन, नयाँ मान्छे ल्याउँदा शत्रु ठान्नेबाट पार्टी बन्दैन (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा आफ्नो कुनै गुट नभएको बताएका छन् । काठमाडौं ५ द्वारा आयोजित जनजागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाधिवेशनको मिति समय आएपछि तोकिने बताए ।

अध्यक्ष लिङदेनदेखि असन्तुष्ट महामन्त्री डा. धवलशमशेर राणाको संयोजनमा संस्थापन इतर नेताहरू भेला बसेको थियो । त्यही भेलालाई लक्षित गर्दै उनले भने, ‘म सबैलाई भन्छु, पार्टीभित्र मेरो गुट छैन, मेरो पार्टीभित्र कोही विपक्षी छैन, विपक्षी को हो, जसले पार्टीलाई मुठ्ठीमा राख्न खोज्छ, नयाँ मान्छेहरू आउँदा शत्रु आए जस्तो ठान्छ । ती मानिसहरूसँग मेरो फरक मत छ ।’

नयाँ मानिसहरू नआई पार्टी ठूलो बन्दै नबन्ने भन्दै अध्यक्ष लिङदेनले कांग्रेस, एमाले, माओवादीबाट मानिसहरू ल्याउनुपर्ने बताए ।

उनले थपे, ‘अहिले महाधिवेशनमा को अध्यक्ष हुने भनेर लाग्ने बेला भएको छैन । टाइम आएपछि आआफ्नो उम्मेदवारी घोषणा गरेर साथीहरू हिँड्दा भयो । साथीहरूलाई म एक पटक फेरि आउनुपर्छ भन्ने लागे, मलाई पनि त्यस्तो लागे म पनि घोषणा गरुँला । कोही उपयुक्त भयो भने सहयोग गरेर पनि हिँडौँला । पद कसैले जीवनभर पाउने कुरा होइन ।’

उनले विधानमै एउटा व्यक्ति दुई पटक भन्दा नेतृत्वमा आउन नहुने उल्लेख गरेको बताए ।

लिङदेनले थपे, ‘मैले अब बेसी पाए एक चोटीमात्रै पाउँछु । एक चोटी म हुन पाउने सुविधा छ, तर नहुँदा मलाई कुनै पश्चाताप छैन । मैले जति सक्छु राम्रो गर्ने हो । पार्टीलाई योगदान गर्न पदमै बस्नुपर्छ भन्ने छैन । त्यसैले हामी एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन ।’

उनले राजावादी आन्दोलन आफ्नो नेतृत्वमा नभएको भन्दै सहयोगमात्रै गरेको भन्ने कुरा पार्टीकै नेताहरूले बुझ्नुपर्ने बताए ।

उनले भने, अहिले हाम्रो पार्टीभित्रका साथीहरूले राजेन्द्रले आन्दोलन तुहायो, आन्दोलन गरेन भन्नेहरूले राजेन्द्रबाट आन्दोलन हुँदैन नयाँ नेतृत्व चाहिन्छ भनेर नवराज सुवेदी दाइलाई खोजे, उहाँलाई बनाएपछि हुन्छ भने हामीले मान्दियौँ। देशभरको कार्यकर्ता हामीले उभ्यायौं । आन्दोलनको नेतृत्व गर्नेहरूले किन स्थगित भयो भन्ने भन्नुपर्‍यो नि ! मैले आन्दोलन स्थगित भनेर विज्ञप्ति निकालेका छैन ।’

अध्यक्ष लिङदेनले आजै गणतन्त्र समाप्त भएर राजालाई नारायणहिटीमा राख्ने चाहना रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *