कैलाली । कैलाली कारागारमा शनिबार कुटपिट भएको छ । दिउँसो कारागारका नाइके खगेन्द्र बोगटीमाथि कुटपिट भएको हो ।
कुटपिटमा परेका बोगटीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको नाक र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।
सामान्य विवादबीच बोगटीमाथि कुटपिट भएको बताइएको छ ।बोगटीमाथि कपिल श्रेष्ठको समूहले कुटपिट गरेको आरोप छ ।
घटनालगत्तै कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणालगायतको टोली कारागार पुगेको छ । उनीहरूकै अगाडि कैदीबन्दीहरू जेलर वसन्त खत्रीविरूद्ध खनिएका छन् ।
‘हामीहरूलाई सुरक्षा दिनुपर्ने जेलर नै बाह्य शक्तिको पछाडि लागेर जेलभित्र विभिन्न समस्या सृजना गर्न लागिपरेका छन्’, उनीहरूले सीडीओ र प्रहरी प्रमुखसमक्ष बताएका थिए ।
जेलर खत्रीले अघिल्लो दिन दुई व्यक्तिलाई आफ्नो फोनमार्फत बाह्य एक व्यक्तिलाई सम्पर्क गर्न लगाएको र त्यही विषय जेलभित्र प्रवेश गरेपछि कुटपिट भएको उनीहरूले आरोप लगाएका छन् ।
उनीहरूले सीडीओ र प्रहरी प्रमुखकै अगाडि जेलर खत्रीले मनोमानी गरेको भन्दै उनीविरुद्ध नाराबाजी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी राणाले कैदीबन्दीहरूबीच सामान्य विवाद भएको बताउँदै अहिले घटना साम्य भइसकेको बताए ।
‘सामान्य विवादपछि घटना भएको देखिन्छ । अहिले एक जनाको उपचार भइरहेको छ’, उनले भने, ‘हामीले घटनाबारे बुझिरहेका छौँ छानबिन हुन्छ । दोषीमाथि कारबाही हुन्छ ।’
सुरक्षा स्रोतका अनुसार बिहीबार प्रमुख जिल्ला अधिकारी हमालले गरेको निरीक्षणको क्रममा ब्लक ‘ए’ मा रहेका कैदीहरूसँग मोबाइल फेला परेको थियो ।
कारागार प्रशासनकै लापरबाहीका कारण यसअघि पनि यहाँ विभिन्न घटना हुने गरेको छ । यसअघि कारागारभित्रै डडेलधुराका २८ वर्षीय हरिससिंह पालीको रहस्यमय मृत्यु भएको थियो । त्यस्तै कैलालीको घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय दीपक विकको पनि कारागारभित्र मृत्यु भएको थियो ।

Leave a Reply