नवराज र सगुनलाई जिम्मेवारीबाट हटाइएकोप्रति राप्रपा संस्थापनइतरको आपत्ति, आयोगमा उजुरी दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संस्थापनइतर बैठकले पार्टीको अनुशासन समिति संयोजकबाट नवराज सुबेदीलाई र प्रवक्ताबाट सगुन लावतीलाई हटाइएको प्रति कडा असहमति जनाएको छ । आज बसेको संस्थापन इतरको भेलाले अध्यक्षको सो निर्णय विरुद्ध निर्वाचन आयोगमा उजुरी दिने निर्णय लियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधानले दिएको अधिकार बमोजिम भन्दै अनुशासन समितिको अध्यक्षबाट सुबेदीलाई हटाएर रोशन कार्कीलाई मनोनित गरेका छन् । यस्तै, प्रवक्ताबाट लावतीलाई पदमुक्त गरिएको छ । तर, सो निर्णय विधान विपरित रहेको निस्कर्ष आजको भेलाले निकाल्यो ।

भेलाले अध्यक्ष लिङदेनले गरेको कारवाही विधान विपरित रहेको निस्कर्ष निकालेको एक केन्द्रीय सदस्यले जानकारी दिए । पार्टीको संशोधित विधानमा अध्यक्षले सिधै कारवाही गर्न पाउने व्यवस्था नरहेको ती नेताको भनाइ छ ।

उनले भने, ‘अहिलेको व्यवस्था अनुसार अध्यक्षले कारवाहीका लागि अध्यक्षले केन्द्रीय समितिमा प्रस्ताव लैजानुपर्छ र केन्द्रीय समितिले निर्णय गर्नुपर्छ । अध्यक्षले सिधै कसैलाई पनि पदमुक्त गर्न सक्नुहुन्न ।’

संस्थापन पक्षले भने नवराज सुबेदीलाई हटाइएको उनले आफैं पार्टी परित्याग गरेको हुँदा अनुशासन विभाग अध्यक्ष पद खाली रहेको तर्क गरेको थियो । संस्थापनइतर पक्षले भने उनी राप्रपामै रहेको दावी गरेको छ ।

सुबेदीले राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिने भएपछि आफू अब राप्रपामा नरहेको एक पत्रकार सम्मेलनमा बताएका थिए । उनले राप्रपामा लिखित राजीनामा भने दिएका छैनन् । सुबेदीले पत्रकार सम्मेलनमै बोलेको कुरालाई नै संस्थापन पक्षले उनको पार्टी परित्यागको अर्थमा बुझेको हो ।

यद्यपि, आफूले नेतृत्व गरेको जनआन्दोलन निस्कर्षमा पुर्याउन नसकेपछि सुबेदी अहिले राप्रपामै रहने मनस्थितिमा रहेको स्रोत बताउँछ । राजीनामा नदिएको र पार्टीले उनलाई हटाउने निर्णय पनि नगरेकाले सुबेदी राप्रपाको केन्द्रीय कार्यसम्पदन समितिको बैठकमै उपस्थित हुन वाधा नरहेको संस्थापन इतर पक्षको तर्क छ ।

सुबेदी र लावतीमाथ गरिएको कारवाही विरुद्ध भोलि निर्वाचन आयोगमा उजुरी गर्न जाने संस्थापन इतर पक्षका केन्द्रीय सदस्यले जानकारी दिए ।

पार्टी महामन्त्री डा. धवलशम्शेर राणाको संयोजनमा उनकै टंगाल स्थित सचिवालयमा संस्थापन इतर नेताहरु भेला भएका हुन् । भेलामा १० पदाधिकारीसहित र ५० केन्द्रीय सदस्यको सहभागीता रहेको एक नेताले जानकारी दिए ।

पार्टीका पूर्व अध्यक्ष तथा निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको भेलामा सहभागीता थियो । यस्तै, उपाध्यक्षहरु विक्रम पाण्डे, मुकुन्दश्याम गिरी, महामन्त्री डा. राणा, कुन्ती शाही, प्रवक्ता (हटाइएका) सगुनसुन्दर लावती, सहायक प्रवक्ता प्रवीनकुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, ऋषिराज देवकोटा, सैरेन्द्र बहादुर शाह लगायत भेलामा सहभागी थिए ।

संस्थापन इतरले आफ्नै पक्षमा रहेको ठानेका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने आजको भेलामा सहभागी भएनन् । उनी पार्टीको गुट बैठकहरुमा प्राय अनुपस्थित रहने गरेका छन् । वैचारिक रुपमा भने मिश्र डा. धवलसम्शेर राणासँग नजिक छन् ।

याे पनि पढ्नुहाेस् ।

राप्रपाको अनुशासन आयोगमा नवराजको स्थान रोशनले लिइन्, सगुन लावती प्रवक्ताबाट हटाइए

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *