विद्यार्थी प्रतिनिधित्वबिनै त्रिवि सभाको बैठक बसेको भन्दै स्ववियु सभापतिहरुको आपत्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिहरुले बिना विद्यार्थी प्रतिनिधित्व एबम् पूर्वसूचनाविनै त्रिवि सभाको बैठक बसेको भन्दै आपत्ति जनाएका छन् ।

विभिन्न १७ क्याम्पसका स्ववियु सभापतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बिहीबार बिना विद्यार्थी प्रतिनिधित्व एबम् पूर्वसूचना विनै बैठक बसेको भन्दै आपत्ति जनाएका हुन् ।

हालसम्म पनि कसले त्रिवि सभामा प्रतिनिधित्व गर्न पाउने सम्बन्धि स्पष्ट कानुनी व्यवस्था नगरिएकाले सो प्रतिनिधित्व सबै निर्वाचित सभापतिहरुको अपनत्व हुनेगरि खुल्ला प्रतिष्पर्धा वा कुनै विधिको निर्वाचनबाट मात्र हुनु पर्ने माग राख्दै आएका छन् ।

विद्यार्थी अधिकारको सुनिश्चितता गर्दै बौद्धिक स्वतन्त्रता एबम् लोकतान्त्रिक प्रक्रियाका लागि निरन्तर आवाज उठाएका सभापतिहरुको अवमूल्यन हुनु पूर्णत गैरप्राज्ञिक, निरंकुश एबम् खेदजनक रहेको उनीहरुको भनाइ छ ।

यसलाई तत्काल सच्याउनुको कुनै विकल्प नभएको जनाउँदै तत्काल कार्यविधि बनाई खुल्ला प्रतिष्पर्धा वा कुनै विधिको निर्वाचन प्रक्रिया सम्बोधन हुने गरि मात्र आगामी सेनेटको गठन गर्न र तत्पश्चात् मात्र सभाको बैठक राख्न माग गरेका छन् ।

‘हालसम्म त्रिवि कार्यकारी परिषदले अपारदर्शी एबम् स्वेच्छाचारी ढङ्गले स्ववियु सभापितहरूको सिफारिस गरी कुलपति एबम् प्रधानमन्त्रीले मनोनयन गर्ने तथा त्रिवि सभा मात्र नभएर विद्यार्थी कल्याण परिषदमा पनि कुनै नियम, छनौट प्रणाली वा कार्यविधि नबनाई लाखौँ विद्यार्थीहरूको भविष्य निर्धारण गर्ने निकायमा प्रतिनिधित्व गर्ने जस्तो संवेदनशिल विषयलाई अनौपचारिक तथा अलोकतान्त्रिक ढंगले गर्नु र गराउनु गैर जिम्मेवार एवम् त्रासदिपुर्ण मात्र नभई स्वतः विद्यार्थी एबम् निर्वाचित सभापतिहरूको हकअधिकारको अवमुल्यन भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

यस विषयको सम्बोधनका निम्ति कानुनी तथा आन्दोलनको बाटो अपनाउन बाध्य हुने चेतावनी दिएका छन् ।

 

Comments

One response to “विद्यार्थी प्रतिनिधित्वबिनै त्रिवि सभाको बैठक बसेको भन्दै स्ववियु सभापतिहरुको आपत्ति”

  1. ksp pyl Avatar
    ksp pyl

    गुण्डागर्दी गर्ने, ताला लगाउने, तोडफोड गर्नेलाई किन बोलाउनु ? यस्ता संगठन नै खारेज गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *