नेपाली दुःखको काव्यसागर

द्वितीय विश्वयुद्धताका ब्रिटिस सरकारले जापानी फौजसँग लड्न पठाएको थियो, कसिदुङ, दोर्दी गाउँ (लमजुङ) का नाकम गुरुङलाई । दक्षिणी मलायाको अनकन्टार जङ्गलमा पुग्दा नाकम मलेरिया ज्वरोले थलिए । फौजले उनलाई सँगै लिएर हिँड्ने स्थिति रहेन । त्यसैले नाकमलाई एक्लै जङ्गलमै छाडेर बाटो लाग्यो । ज्वरो निको हुँदै गएपछि उनी आफ्नो उमेर आफैँलाई थाहा नहुने रुखजस्तो भएर बसे । अग्लो रुखमा छाप्रो बनाए । गिठा, भ्याकुर, तरुल अनि जङ्गली सिकार गरेर प्राण धाने ।

छुटिगएको फौजको अनन्त पर्खाइमा नायक दर्जाका नाकमले सात वर्ष बिताए । फौजले उनलाई चटक्कै बिर्सियो । एक दिन हेलिकप्टरबाट जङ्गल अपरेसनमा उत्रिएको फौजले नेपाली भाषामा बात मारेको सुनेर उनको बाँच्ने आस पलायो । तर फौजले कानेखुसी गर्‍यो, ‘वनमान्छे ! वनमान्छे !!’ नाकमले नेपाली भाषामै बात गरे पनि त्यो जत्थाले विश्वास गरेन, जापानी जासुस वा कम्युनिस्ट छापामार पो ठान्यो । मेजर वाइलीको नाम लिएपछि बल्ल फौज सपनाबाट ब्युँझियो र दुब्लाएर सिन्का भइसकेको सिपाही साथीलाई वर्षौंपछि भेटेर खुसियाली मनायो ।

वीर गोरखाली नाकम गुरुङ मात्र नभएर सम्झनाबाट क्रमशः बिलाइरहेका थुप्रै ज्ञात–अज्ञात सिपाहीको दर्दनाक कहानीलाई काव्यिक रूपमा सजाएका छन्, कवि लालगोपाल सुवेदीले नवीनतम लामो कविता ‘चेतन–प्रवाहमा सा रे ग म प..’ मा । अलका आत्रेयकृत ‘गोर्खाली युद्धबन्दीका लोकभाका र कथा’ मा उद्धृत किंवदन्तीजस्तो लाग्ने जीवन–कथामा नेपाली जातिले बेहोर्दै आएको दुःखको इतिहास मात्र बोलिएको छैन, नेपाली आँसुको महासागर नै बगाइएको छ ।

विडम्बना के भने पहिलो र दोस्रो विश्व महायुद्धमा नेपालको कुनै शत्रु पक्ष थिएन । तर दुई लाख ५० हजार नेपालीलाई युद्ध लड्न पठाइयो । दुवै युद्धमा गरी गुरुङ, मगर, राई, लिम्बू र तामाङ जातिका २४ लाख २७ हजार लडाकु मारिएको चर्चा–परिचर्चा पनि बेलाबखत हुने गरेकै छ । यो दृष्टान्तले लालगोपालको कवि–मन नराम्ररी बिथोलियो । कविलाई नेपाली जाति कठिन सङ्घर्ष, बलिदानी र दुःखकै पर्याय रहेछ भन्ने बोध भयो । आज देश छाड्ने नेपालीको सङ्ख्या करोडको हाराहारी पुगिसक्यो भन्ने खबर किन नौलो होइन भने कवि स्वयम् दसौँ वर्षदेखि देशबाहिर छन् ।

कवि लालगोपाललाई अझै विस्मित पार्ने कुरा चाहिँ रुकुम, खाराका जुरन बुढाथोकीले प्रथम विश्वयुद्ध लडे । बाँकी जीवन जर्मनको जेलघरमा युद्धबन्दीका रूपमा कुँजिए । तिनै जुरनका पनाति–पनातिनीले दसवर्षे ‘जनयुद्ध’ लडे । अहिले उनीहरू कि त गरिबीको जाँतोमा घुनझैँ पिसिँदै छन् कि रेगिस्तानमा ऊँट धपाउँदै छन् । उनी धिक्कार मानिरहेका छन्– नेपाली योद्धा जाति त हो तर सधैँभरि अर्कैका लागि लडिरहेको ।

लामो कविता ‘चेतन–प्रवाहमा सा रे ग म प..’ मा दुईवटा विषय टड्कारो देखिएका छन् । एउटा चेतन–प्रवाह शैली, अर्को सा रे ग म प.. अर्थात् स्वर सप्तक । साहित्यमा चेतन–प्रवाह (स्ट्रिम अफ कन्सियसनेस) शैली मात्र नभएर धाराप्रवाह चेतना पनि हो । यो कुनै पनि पात्रको विशिष्ट विचार, भावना, अनुभूति, मनोदशा वा संवेदनालाई बिना अवरोध वा सम्पादन (अनफिल्टर्ड) निरन्तर वा सहज प्रवाह गर्ने शैलीको रुपमा स्थापित छ । खासमा यो आत्मसंवादको एक साहित्यिक विधि हो ।

यो शैलीको उपयोग मूलरुपमा आख्यानमा हुने भए पनि कवितामा पनि नवीनतम चेतनाका साथ भइरहेकै छ । अङ्ग्रेजी साहित्यमा जेम्स ज्वायसको ‘युलिसिस’, भर्जिनिया वुल्फको ‘टू द लाइटहाउस’, हिन्दी साहित्यमा मुक्तिबोध, शमशेरबहादुर सिंह, अज्ञेय आदिका कवितामा मनका जटिलता र आन्तरिक सङ्घर्ष अभिव्यक्त गर्न यस शैलीको अनुशीलन छ ।

नेपाली साहित्यमा दशकौं पहिले बालकृष्ण समको ‘आगो र पानी’, जगदीशशमशेर राणाको ‘कान्छी सहर जान्छे’ सहित मोहन कोइराला, द्वारिका श्रेष्ठ आदिले पनि कवितामा यस्तो शैली अँगालेका छन् । गद्यसाहित्यतर्फ लक्ष्मीप्रसाद देवकोटा, शङ्कर लामिछाने, कृष्णचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई आदिले यसै शैलीको अमिट हस्ताक्षर दिएका छन् ।

चेतन–प्रवाह शैलीमा कवि–हृदयमा उठ्ने ज्वाला–आँधी–तुफानलाई कविताको कलेवर दिने काम हुन्छ । यसमा अक्सर भाषाको प्रयोग जटिल हुन्छ । कहिलेकाहीँ त्यो व्याकरणिक कोटिमा नपर्न पनि सक्छ । यसमा व्यक्तिपरकता, अनियमितता र भावनात्मकता हुन्छ । पात्रको आन्तरिक जीवनको गहिराइ गोचर हुन्छ । अतीतदंश, वर्तमान मनोदशा र आगतको कल्पना सम्मिश्रण हुन्छ । यसमा मूलतः आत्मनिष्ठता हुन्छ । बरु क्रमबद्धता नहुन पनि सक्छ ।

प्रस्तुत लामो कविताको अर्को सौन्दर्य आन्तरिक लय र झन्कार हो । अझ भन्ने हो भने सङ्गीतका सात स्वर अर्थात् सप्तक वा सरगमको तीव्र अनुभव हुन्छ । सा रे ग म प ध नि सा (आरोह) अनि सा नि ध प म ग रे सा (अवरोह) अर्थात् स्वर अलङ्कार हो । सा – षड्ज, रे – ऋषभ, ग – गन्धार, म – मध्यम, प – पञ्चम, ध – धैवत र नि – निषाद । हरेक रागमा दुई मुख्य स्वर चुनिन्छन् ।

सङ्गीत कतिपय अर्थमा सम्भ्रान्त वा शान्त शब्द लाग्ने भए पनि लालगोपालले यहाँनेर नेपाली जातिको दुःखका अनन्त शृङ्खला देखाउने सन्दर्भमा उपयोग गरेका छन् । उनले वर्षेनी दोहोरिने प्राकृतिक विपत्ति, मानवीय हृदयका दुःख, पीडा, वेदना र सुस्केरा, युद्धजन्य कारुणिक घटनाका सम्झना गरेका छन् । तिनलाई अझ सघन बनाउन थुप्रै लोकगीत, दोहोरी गीत, शास्त्रीय सङ्गीत, आधुनिक गीतहरू समेटेका छन् । सङ्गीतको व्याकरण र रन्कोले उनको कवित्व झन् उज्यालिएको छ, उचालिएको छ । –

छत्तिस नगरा घन्कन लाग्या

जोडी सहनाई बज्या सुनाभुरुल्ली साइयौ

जोडी सहनाई बज्या

पन्चफिरकल्ली नाच्या सुन भुरुल्ली साइयौ

पन्चफिरकल्ली नाच्या

बत्तिसै नगरा खनक्या सुनभुरुल्ली साइयौ

बत्तिसै नगरा खनक्या

सुनभुरुल्ली साइयौ बत्तिसै नगरा खनक्या

‘चेतन–प्रवाहमा सा रे ग म प..’ को उडान पनि सङ्गीतबाट भएको छ, अवतरण पनि सङ्गीतबाटै । चौधौं शताब्दीमा नेपाल–मण्डलमा घन्केको छत्तिस नगराको तिखो आवाजबाट थालनी भएको लामो कविता सा रे ग म प निको ‘फेड–इन र फेड आउट’मा समापन भएको छ ।

खस राजा जितारी मल्लले राज्यविस्तारका क्रममा काठमाडौँ उपत्यका आक्रमण गर्दा कुनै कविले लेखेको वीररस प्रधान गीत लामो कवितामा उद्धृत हुनु संयोग मात्र होइन, स्वयम् कवि लालगोपालको काव्यविस्तारको एक झलक हो भन्नेमा कुनै दुबिधा छैन । अझ स्मरणीय कुरा, कविले आफ्नो लामो कविता नेपाल–निर्मातालाई मात्र नभएर सांस्कृतिक नेपाल निर्माताहरूप्रति समर्पित गरेका छन् ।

अझ भन्ने हो भने, प्रस्तुत लामो कवितामा गीतैगीतको फेहरिस्त छ । तिनमा नेपाली हृदय झस्केको, छाती चस्केको, मुटु–कलेजो खाएको छ । आम नेपालीको दुर्दशा र विडम्बनाको खातैखात छ । कविको चेतन–प्रवाहमा इतिहास र वर्तमानका पात्रहरू, घटनाहरू र परिवेशहरू आइरहन्छन् । यसको अर्थ कवि खबरखाबर र इतिहास ’रिसाइकल’ गरेर कविता लेख्छन् भन्ने होइन । कवि खालि भावनामा मात्र बगेका छैनन्, सँगसँगै तिनले असली काव्यिक उद्बोधन पनि पाएका छन् । नेपाली दुःखका गीति–दृष्टान्त लालगोपालले यसरी खोतलखातल गरेका छन् ।

आमाले सोध्लिन् नि खै छोरो भन्लिन्,

साउदीबाट काठको बाकस आएको छ भन्दिनू

हे बरै ! हे बरै !!

 

मलाई मात्रै उसैको लत बस्यो

घाउ ओभानो हुँदा नि खत बस्यो

ढल्यो लाँकुरी

 

घरैमुनि सल्लेरीको वन

काट्नु दुःख काटेँ नि पियारा

अब तिम्ले नदुखाइदेऊ मन

 

हर रात सपनीमा ऐँठन हुन्छ

गाउँमा सायद पहिरो गयो कि !

 

चरी लैजा समाचार

हामी भयौँ बेघरबार

 

खुवालुङ हो, खुवालुङ हो, खुवालुङ

याङ्वा, रुइवा, थावा नदी मिसिएको ठाउँ

खुवालुङ हो हाम्रो पुर्खा छुट्टिएको ठाउँ

 

म त हेरेको हेर्‍यै, म त हेरेको हेर्‍यै

मेरा दुस्मन छन् धेरै

जम्मा १६० पृष्ठमा फैलिएको लामो कवितामा लालगोपालले नेपाली इतिहास, भूगोल, कला, साहित्य, संस्कृति र जीवनशैलीका हिसाबले लामो र फराकिलो फेरो फेला पारेका छन् । यसमा कतै आधुनिक नेपाल निर्माण क्रममा मगर, गुरुङ, किराँत, नेवार, शेर्पा आदि जातजातिको बलिदानी र पुस्तान्तरण हुन नसकेको आत्मसम्मान भावको पीडा अभिव्यक्त गरिएको छ भने कतै प्रतिभा पलायन, गुम्दै गएको आत्मसम्मान, ह्रासोन्मुख सद्भाव र मानवता, व्यक्तिवादिता, पारिवारिक विखण्डन, वातावरणीय विनाश लगायतका बहुविषयलाई चेतन–प्रवाह शैलीमा मात्र नभएर क्रमभङ्ग स्वप्नलेखन पद्धतिद्वारा काव्यिक बाटो दिइएको छ । ‘चेतन–प्रवाहमा सा रे ग म प…’ मा लालगोपालको काव्यशैलीबारे पुस्तकमै नेपाली साहित्यमा ‘सम्धि’ साइनोका अग्रज अभि सुवेदी र गोविन्दराज भट्टराईले आफ्नो प्राज्ञिक र बौद्धिक अभिमत राखेका छन् । त्यो पनि प्रस्तुत लामो कविताको सुन्दर खजाना हो ।

लालगोपालकृत लामो कवितामा भावना र संवेदना अकण्टक मडारिएको छ । त्यसमा सांस्कृतिक प्रतिध्वनि र देशीय स्मृतिको शक्तिशाली सम्मिश्रण छ । उनी कविताका नाममा चलनचल्तीका गालीगलौज, विरोध, छेडखानी, झटारो, खिसीट्युरी, घृणाका म्यादी जिनिस लेख्दैनन्, नेपाली जातिको दुःख, वेदना, कष्ट, आत्मगौरव अनि आम मानिसको अस्तित्व सङ्घर्षलाई गहन अर्थबोध गरेर काव्यविन्यास गर्छन् । यसको अर्थ उनले अँध्यारो बाँड्न खोजेका होइनन्, बरु पूर्ण उज्यालोको कामना गरेका हुन् । यसमा शब्द सौन्दर्य, सामथ्र्य, अर्थव्याप्ति र काव्यरूपको विविधता छ ।

संसद् भवनअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रेमप्रसाद आचार्य, पति र पुत्रको न्यायका निम्ति आमरण अनशन बस्ने गङ्गामाया अधिकारी होस् वा म्याग्दीको रुवा गाउँमा पहिरोमा परेर ज्यान गुमाएको विश्वकर्मा परिवार होस् वा भुइँचालोले तहसनहस बारपाक गाउँको सम्झनामा कवि लालगोपाल मस्र्याङ्दी नदी जसरी सुसाएका छन् । नेपालको सिमानाभित्रका घटना–दुर्घटनाले मात्र होइन, कविको चित्त क्यालिफोर्नियाको जङ्गलमा डढेलो सल्किँदा पनि उस्तै दुखेको छ । सनकै–सनकमा रसिया र युक्रेनमा अनायास झोसिएको आगोले विक्षिप्त भएको छ ।

हरेक कवितामा खोट हुन्छ तर कविले चातुर्यपूर्वक लुकाएको हुन्छ । लालगोपालको लामो कवितामा कुनै खण्डकाव्यमा जस्तो एउटै ‘स्टोरीलाइन’ छैन । बरु कथानकको प्रयोग नगरी जीवन, जगत् र समयको चेतनालाई विचार र भावको सुन्दर संयोजन गरिएको छ । यसमा सिंगो कथा नभए पनि टुक्राटुक्रा कथाहरू भने अवश्य छन् । तिनको सुइरोले कविको मर्मभेदन गरेको छ । दुःखीजनको मर्म कविले नै चिन्न सक्छ । त्यसैले त रोल्पा रुकुमबाट सुरु भएको माओवादी लडाइँका घाइते, अपाङ्गहरू अनि खाडी मुलुकमा पचास डिग्री तापक्रममा भकभकी आफैँलाई उमालेर घरदेशमा रेमिट्यान्स पठाउने पात्रहरूको कथाव्यथा र आला घाउचोटलाई कविताको खुलामञ्च दिन सकेका छन् ।

सरल शब्दमा जीवन्त बोली जोड्न कवि लालगोपाल पारङ्गत छन् । वर्णनात्मक शैली असल कविताको ऋणात्मक पक्ष पनि हुन सक्ला । तर नेपालीत्वको विशाल काव्यिक आकाश देखाउनका निम्ति उनले प्रयोग गरेका हरेक शब्दको सौन्दर्य, अर्थ र प्रभाव छ । हरेक विम्ब मधुर, आकर्षक र सार्थक छन् ।

दुःखद पाटो के छ भने, लालगोपालको काव्यिक ओजले अपेक्षित चर्चा–परिचर्चा पाउन सकेको छैन । यो समस्या देशबाहिर बस्ने अधिकांश लेखकको हो । डिजिटल जमानामा समेत यसो हुनु खेदलाग्दो छ । आजको नेपाली साहित्यको आधाभन्दा बढी हिस्सा नेपालबाहिर बसोबास गरिरहेका लेखकहरूले ओगट्छन् । तर नेपाली साहित्य अझै पनि काठमाडौंमुखी छ । मिडियाको नजर पनि नजिकै यतै कतै मात्र छ ।

अहिले नेपाली मात्र बाहिर गएका होइनन्, साहित्यका पाठक र लेखक पनि बाहिरिएको तथ्य आत्मसात् गरेर नेपालबाहिरबाट लेखिएका साहित्यबारे घोत्लिनु जरुरी भइसक्यो । हाम्रासामु केही अब्बल साहित्यिक प्रतिभा दृष्टान्तका रूपमा छन् । अझ भन्ने हो भने, लालगोपाल सुवेदी देश छाडेपछि मात्र कवि भएका होइनन् । उनले नेपालमा रहँदा नै उम्दा कवित्वको जादूले लठ्याइसकेका थिए । थुप्रै काव्यकृति ल्याएर छन्दकविका रूपमा सुपरिचित र प्रतिष्ठित थिए । राष्ट्रिय पुरस्कारहरू पाएका थिए । बीसौँ कृतिसम्म आइपुग्दा लालगोपालले नेपाली साहित्यमा सप्रेम पढिनुपर्ने सम्मोहक उचाइ बनाएका छन् । त्यो टाढाबाटै टड्कारो दखिएको छ ।

Comments

One response to “नेपाली दुःखको काव्यसागर”

  1. krishna bause Avatar
    krishna bause

    पठनीय समीक्षा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *