काठमाडौं । स्कटल्यान्ड सन् २०२६ मा हुने आइसिसी टी–२० विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । टी–२० विश्वकपको युरोप छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा जर्सीसँग एक विकेटले पराजित हुँदै स्कटल्याण्ड छनोट चरणबाट बाहिरिएको हो ।
छनोटमा स्कटल्याण्डले एक खेलमा मात्रै जित निकाल्यो । आइसीसीको टी–२० वरियतामा स्कटल्याण्ड १३औं स्थानमा छ । स्कटल्याण्डलाई हराएको जर्सी २७औं स्थानमा छ ।
युरोप छनोटको शीर्ष दुई रहने टोली विश्वकपमा छनोट हुनेछन् । एक खेल खेल्न बाँकी रहेको इटाली ५ अंकसहित शीर्ष स्थानमा छ । सबै खेल खेलिसकेको जर्सी ५ अंकसहित दोस्रो स्थानमा छ ।
एक खेल खेल्न बाँकी नेदरल्याण्ड्स ४ अंकसहित तेस्रो स्थानमा छ । यी तीन टोलीमध्ये दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । एक टोली छनोट चरणबाट बाहिरिनेछ । इटाली र नेदरल्याण्ड्सबीचको अन्तिम खेलले टुंगो लाग्नेछ ।

Leave a Reply