रुपन्देहीको सियारीमा ४७६ जनालाई जग्गाधनी पुर्जा वितरण

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाका ४७६ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

लामो समयदेखि बसोबास गर्दै आए पनि आफ्नो स्वामित्व नभएका सियारी गाउँपालिकाका वडा नं। १, २, ३, ४ र ५ का स्थानीयलाई भूमि आयोग र गाउँ ब्लकको गरी ४७६ जनालाई लालपुर्जा वितरण गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख चपाईँ तथा भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा मगरले स्थानीय प्रेमबहादुर दर्जीलाई पुर्जा हस्तान्तरण गरेर लालपूर्जा वितरण कार्य प्रारम्भ गरेका थिए ।

पुर्जा प्राप्त गरेकोमा हर्ष व्यक्त गर्दै दर्जीले वर्षौको आफ्नो सपना पूरा भएको भन्दै लालपुर्जा वितरण अभियानलाई दिगो रुपमा अघि बढाउन आग्रह गरे ।

नापी कार्यालय रुपन्देही तथा भूमि समस्या समाधान आयोग जिल्ला कार्य समिति रुपन्देही तथा सियारी गाउँपालिकाको संयुक्त आयोजनामा लालपुर्जा वितरण गरिएको घिमिरेले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देही प्रमुख उमाकान्त चपाईंले सुकुम्बासी समस्या दीगो रुपमा समाधान गर्ने सरकारको लक्ष्य अनुरुप लालपुर्जा वितरण गरिएकोमा सहरना गर्दै निरन्तरता दिन आग्रह गरे ।

भूमि आयोग रुपन्देहीका अध्यक्ष थापा मगरले कन्चनबाट सुरु भएको अभियान सियारी हुँदै रुपन्देहीका अन्य क्षेत्रमा पनि विस्तार गर्ने लक्ष्य राखिएको बताए । उनले आगामी दिनमा रुपन्देहीका अन्य क्षेत्रमा पनि क्रमशः पुर्जा वितरण गर्ने योजना रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *