रुपन्देही । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै उनको जिल्लामा हस्ताक्षर अभियान थालिएको छ ।
नेकपा एमालेका निलम्बित सचिव भएपनि हस्ताक्षर अभियानको अगुवाई भने एमालेले नगरी स्थानीय युवाहरुले गरेका छन् । उनीहरुले एकै मुद्दामा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाडसहितका धेरै व्यक्तिहरु धरौटीमा छाडिएपनि लामो समय रायमाझीलाई प्रतिशोधकै कारण राखिएको दावी उनीहरुको छ ।
शुक्रबार अर्घाखाँचीको सदरमुकाम शुक्रबारे हाटबजारबाट हस्ताक्षर अभियान थालिएको र यसको नेतृत्व कुनै पार्टीले नगरेको स्थानीय दिपेन्द्र पौडेलले जानकारी दिएका छन् ।
‘मैले त्यो अभियान देखेको हुँ, त्यहाँ कुनै दलविशेषका व्यक्तिहरुले अगुवाई गरेका छैनन् तर स्थानीयहरु आफै पुगेर हस्ताक्षर गरेको अवस्था छ’ उनले भने । पौडेलले आफूले अभियान चलाउनेहरु कसैलाई नचिनेको बताए ।
यो मुद्दामा मुद्दा दर्ता भएलगत्तै एमालेले उनलाई सचिवबाट निलम्बन गरेको छ भने प्रतिनिधि सभाबाट पनि निलम्बनमा छन् । एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले अदालतमा विचाराधीन विषयलाई पार्टीले हस्ताक्षर अभियान चलाउने विषय नभएको र नगरेको बताए ।
‘हस्ताक्षर गरेर अदालतले छाड्ने विषय होइन त्यसमा हामी क्लियर छौं, न्यायिक प्रकरणमा त्यसको टुंगो अदालतले नै लगाउने हो’ उनले भने । जिल्लाबाट भेट्न जानेहरुलाई रायमाझीले आफ्नो रिहाईको लागि एमालेले पहल नगरेको र माओवादीले जसरी पनि भित्रै राख्ने अभियानमा रहेको गुनासो गरिरहेका विषय बाहिर आएको थियो ।
रायमाझीसहित यो प्रकरणमा जोडिएका दुई दर्जन ०८० असार १ गते कारागार चलान भएका हुन् तर कांग्रेस नेता खाडसहित धेरैजसो उच्चको आदेशमा धरौटीमा छुटेका छन् । अहिले उनको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

Leave a Reply