काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किएसँगै एमाले मात्रै होइन, सिङ्गो राजनीतिक वृत्त नै तरङ्गित छ । राष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फेरि फर्किएको विषयलाई लिएर पक्ष विपक्षमा तर्कवितर्क भइरहेका छन् ।
दुई कार्यकाल राष्ट्रपतिको भूमिकामा रहेकी भण्डारीले हालै एक अन्तरवार्तामा एमालेको अध्यक्ष बन्नेकै लागि राजनीतिमा आएको बताइन् । पार्टी अध्यक्षमा ओली अझै दोहोरिने विश्वास आफूलाई नभएको उनको भनाइ छ ।
भण्डारीले भनिन्, ‘उहाँ दुई कार्यकाल अध्यक्ष भइसक्नुभयो । मैले चिनेको केपी ओली अझै मै हुन्छु भन्ने खालको होइन । एउटै कक्षाको जाँच दोहो¥याएर दिन्नँ भन्ने मान्छे हो उहाँ । उहाँ अध्यक्षमा दोहोरिनु हुन्न भन्ने मेरो विश्वास छ ।’
यो अन्तरवार्ता सार्वजनिक भएपछि माहोल झन् तातेको छ । यो सँगसँगै एमालेमा अहिले बहसको विषय बनेको छ, ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान । यो दुवै व्यवस्था पार्टीमा लागू भए प्रधानमन्त्री समेत रहेका केपी ओली फेरि अध्यक्ष बन्ने दौडबाट बाहिरिने छन् । तर, अहिले एमालेको नेतृत्वमा आफैँ भएकाले दुवै व्यवस्था विधान महाधिवेशनबाट हटाउने उनको योजना छ । एमालेले विधान महाधिवेशन भदौ तेस्रो साता गर्दैछ ।
महासचिव शंकर पोखरेलसहित ओलीनिकटका नेताहरूले यो दुवै व्यवस्था हटिसकेको दाबी गरेका छन् । तर, भण्डारीसँग नजिक मानिएका नेताहरूले प्रतिवाद गर्दै सामाजिक सञ्जालमै भिडिरहेका छन् ।
च्यासल भन्छ- नेतृत्वबारे अनावश्यक बहस
भण्डारीले सार्वजनिक रूपमै एमाले अध्यक्षमा दाबी गर्दैगर्दा महासचिव शंकर पोखरेल भने अहिले नेतृत्वबारे बहस गर्ने बेला नभएको बताउँछन् । उनले पार्टी पंक्तिलाई नेतृत्वको बहस रोक्न निर्देशन दिइसकेका छन् ।
उमेर हद र दुई कार्यकालको व्यवस्थाबारे पनि उनको भनाइ छ, ‘विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्दछ । दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहरू आफैँ अनुमोदन गर्ने अनि अहिले आफैँ प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो ।’
महासचिव पोखरेलले दुवै व्यवस्था हटाइसकेको बताएपछि स्थायी कमिटी सदस्य कर्ण थापाले जालझेल नगर्न भन्दै तथ्यमा बहस गर्न चुनौती दिएका थिए ।
महासचिव पोखरेलले नेपाल प्रेससँगको अन्तर्वार्तामा राखेको भनाइः
अहिले विधान अधिवेशनको तयारीका सन्दर्भमा पार्टीपंक्तिलाई के भन्ने गरेको छु भने जतिबेला जे काम गरिन्छ, त्यसमै केन्द्रित हुनुपर्छ । अब बेला नआइकन चर्चा परिचर्चा गर्ने खालको कुरा उचित हुँदैन ।
उहाँले नेतृत्वको कुनै आकांक्षा छैन भन्नुभएको छ । उहाँले सदस्यता नवीकरण गरेको असार १४ गते होइन नि त । एक वर्ष पहिले नै हो । उहाँले घोषणा त्यो दिन गर्नुभयो । त्यस अर्थमा एक वर्ष पहिले नवीकरण गर्दा के भयो ? केही पनि भएको छैन नि ।
आन्तरिक रूपमा हामीलाई जानकारी भएको विषय थियो, त्यसलाई असार १४ गते सार्वजनिक गर्नुभयो । अहिले हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । हामी विधान महाधिवेशनमा जाँदैछौँ, उहाँकै नेतृत्वमा । उहाँकै नेतृत्वमा हामी नीति, विधि र थिति बसाल्छौँ । त्यसमा कुनै प्रकारको विमति नै छैन ।
सामाजिक सञ्जालमा वार
भण्डारीको सक्रियतासँगै इतर पक्षका नेताहरूले ‘मदनको नीति विद्याको नेतृत्व’ भन्दै बहस चलाइरहेका छन् । तर महासचिवले नेतृत्वको बहस नगर्न चेतावनी दिएपछि इतर पक्षका नेताहरू रुष्ट छन् ।
स्थायी कमिटी सदस्य भानुभक्त ढकालले कडा भाषा प्रयोग गर्दै ‘संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको’ बताए । विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसङ्गठनका इन्चार्ज र पदाधिकारीको च्यासलमा भएको भेलालाई सम्बोधन गर्दै ढकालले पार्टीको संस्थागत निर्णय नमान्ने केही जनसङ्गठनका पदाधिकारी नोटिसमा रहेको बताएका हुन् ।
उनले भनेका थिए, ‘पार्टीका नीति, विधि माथि तलबितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाइ त्याग्नुहोस् । पार्टीको संस्थागत निर्णय नमान्दा हुन्छ भन्ने मानसिकता केही जनसङ्गठनका पदाधिकारीमा देखिन्छ । यस्तो प्रवृत्ति पार्टीको नोटिसमा छ ।’
यो अभिव्यक्तिपछि भने सामाजिक सञ्जालमा इतर पक्षका नेताहरूको प्रहारमा परेका छन् उनी । उनको यो अभिव्यक्तिपछि सचिव योगेश भट्टराईले पार्टीमा एक अर्कालाई लल्कार्ने काम बन्द गर्न आग्रह गरे । उनले फेसबुकमा लेखेका छन्, ‘च्यासललाई लल्कार्ने, च्यासलबाट लल्कार्ने, कृपया यो तरिका बन्द गरौँ । बसौँ, आपसमा विमर्श गरौँ ।’
तर, सचिव भट्टराईको यो पोस्ट सेयर गर्दै एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले दुर्गा प्रसाईँलाई केन्द्रीय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने, राप्रपासँग चुनावी गठबन्धन गर्नेदेखि भीम रावलको पार्टी सदस्यता खोसेकोसम्म पार्टीमा समीक्षा गर्नुपर्ने विषय उठाइन् ।
उनले योगेशलाई जवाफ दिँदै भनेकी छन्, ‘विगत ११ वर्ष तपाईँले उल्लेख गरेको कुरा भएको छ दाइ कमरेड ! मान्छेहरू बल्ल पेलिनुको पनि हद हुन्छ भन्दै छन् । तर, राजनीति त विधि र विचारमा टेकेरै हिँड्नु पर्छ । फेरि पनि सांगोपांगो हिसाब, किताब केन्द्रीय कमिटीले गरोस् ।’ उनले खतराको घण्टी, सच्चिने वा सक्किनेलगायत यक्ष विषय र प्रश्नबाट भाग्न मिल्ने ठाउँ नभएको उल्लेख गरेकी छन् ।
तिम्सिनाले थपेकी छन्, ‘दुर्गा प्रसाईँलाई केन्द्रीय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने तहसम्म, राजेन्द्र लिङदेन, कमल थापा, धवल शमसेर, दीपक बोहरासम्मसँग गरेको चुनावी गठबन्धन र भीम रावललाई टिकट नदिने र पार्टी सदस्यता समेत खोस्ने हर्कत कमिटीका नाममा/संस्थाका नाममा भएका यी सबै ध्वस्तताको विषयमा छलफल र समीक्षा गरौँ ।’
उनले मात्रै होइन नेता गोकुल बास्कोटाले पनि ढकालेको यो अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् । उनले भनेका छन्, ‘बजारमा नोटिस हिट भएछ, तर मान्छेहरू नो निड टु टिच भन्न थालेछन् ।’
युवा संघका महासचिव सुमन पुरीले कडा प्रतिबाद गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘पेटी ठेकेदारज्यू, पार्टी तपाईँको बिर्ता हैन, तपाईँले भन्यो भन्दैमा संस्थागत हुँदैन ! अत्ति नगर, अब हामीले नोटिस गर्न थालेका छौ। त्यसपछि पार्टी कार्यालय छिर्ने हैसियत पनि रहँदैन । हेक्का राख !’
अनेरास्ववियुका नेता प्रकाश पौडेल पार्टी नोटिसमा होइन, चरम आक्रमणमा रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘धेरैका पाइला कता चल्ने भन्ने दोधारमा थिए । त्यसै बेला, मैदानमा उभिएर हामीले बल पैदा गरेका थियौँ । चियाको कपमा तुफान चलाउन बन्द गर्नुस्, हामी यही भन्दै मैदानमा झरेका हौँ । गुमाउनलाई केही छैन, जित्नलाई संसार बाँकी छ । जनताको प्रिय एमाले बनाउने अभियानमा हामी निरन्तर छौँ । कसैले, कुनै शक्तिले पनि हामीलाई रोक्न सक्दैन ।’
एमाले निकट प्रेस चौतारीमा अध्यक्षको आकांक्षी भएर पनि चुनाव लड्न नपाएका राजेश राईले पनि सामाजिक सञ्जालबाट कवितात्मक शैलीमा असन्तुष्टि पोखेका छन् ।
भानुभक्तलाई लक्षित गर्दै उनले लेखेका छन्ः
जसलाई
जनताको मन जित्नु पनि छैन
कार्यकर्ताबाट अनुमोदित हुनु पनि छैन
जसको सार्वजनिक अपिलले एक मत जनमत बदलिदैंन
तिनको अभिव्यक्तिमा न जिवन छ, न आशा, न त उज्यालो नै
तिनले न कसैको आँशुको कथा बुझ्छन्, न मुस्कानको भाका नै
बगरे जसरी नाङ्गो तरवार लिएर उभिएका छन्
रेटिरहेका छन्, तिनले एकपछि अर्को सपनाहरुको घाँटी
उभिएका छन्, आलै रगतको आहालमा
तर भनिरहेका छन्,
म बुद्ध हुँ, बुद्ध
बाढिरहेका छन्, शान्तिको उपदेश
जारी गरिहेका छन्, फरमान स्
हाम्रो ‘शान्ति’को साम्राज्यमा प्रश्न गर्नेको भबिष्य पनि रेट्दिन्छौं
एमालेपंक्तिभित्र सामाजिक सञ्जालमा वाकयुद्ध गर्नेको लिस्ट यति मात्रै होइन, लामो छ । तर, उपाध्यक्ष युवराज ज्ञवाली भने अहिले नै नेतृत्वको विषयलाई लिएर कित्ताकाट गर्नु उपयुक्त नहुने बताउँछन् ।
उनले भने, ‘नेतृत्वमा को पुग्ने भन्ने अहिले भनेर हुँदैन । पार्टीको आफ्नै विधि र प्रक्रिया छ । महाधिवेशनका सबै प्रतिनिधिले म यो पदमा उठ्न पाउँछ । त्यो वैधानिक व्यवस्था नै छ । त्यो महाधिवेशनले टुङ्ग्याउने कुरा हो, आफ्नै नियम र विधि छ । त्यसैले अहिले हामीले यो वा त्यो भनेर सडकमा उछाल्नुपर्ने कुनै आवश्यक छैन ।’ कतिपयले यो वारलाई च्यासल र भण्डारीनिवास भंगालको वारलाई मानेका छन्।
के भन्छन् भानुभक्त ढकाल ?
एमाले स्थायी कमिटी सदस्य ढकालमाथि प्रहार हुनुको पछाडि उनको जिम्मेवारीसँग जोडिन्छ । उनी जनसङ्गठन समन्वय प्रमुखको जिम्मेवारीमा छन् ।
पार्टी नेतृत्वको चाहनाअनुसारका पदाधिकारी नआउलान् भनेर एमालेले आफ्ना जनसङ्गठनहरूमा सर्वसम्मत नेतृत्व चयन गर्दै आइरहेको थियो । तर अनेरास्ववियुमा एमाले नेतृत्वको निर्देशनविपरित चुनाव भयो । अध्यक्षमा सुजन कडरिया प्रकाश पौडेलसँग ७ मतले जिते । कडरियालाई संस्थापन पक्षको साथ भएकाले उनलाई सरकारी उम्मेदवार भन्दै प्रचार समेत गरियो ।
सङ्गठनहरूमा सर्वसम्मत नेतृत्व गराउने प्रयास गरेकाले ढकालमाथि प्रहार भएको एकतर्फी नेताहरूको बुझाइ छ । तर, ढकालले आफ्नो अभिव्यक्तिलाई केही व्यक्तिहरूले स्वार्थअनुकुल प्रयोग गरेको दाबी गरे।
उनले भने, ‘साथीहरू प्रतिस्पर्धामा गएर प्रतिस्पर्धाको परिणामलाई धमिल्याउने अथवा कुण्ठा व्यक्त गर्ने रूपमा पनि कतिपयले लिनुभएको छ । कतिपयले मैले जे बोलेको छु, त्यसलाई आफूअनुकुल बनाएर त्यसलाई उचाल्न पाए हुन्थ्यो भन्ने हिसाबले प्रकट गरिराख्नुभएको छ ।’
उनले मिसन ०८४ ओलीको नेतृत्वमा जाने घोषणा भइसकेकाले अबको महाधिवेशनबारे अहिले नै बहस गर्नुपर्ने आवश्यक नरहेको बताए ।
उनले थपे, ‘अहिले हामी विधान अधिवेशनमा छौँ । विधिबारे छलफल हुन्छ । विधान महाधिवेशनपछि नेतृत्वबारे छलफल बहसको कुरा आउँछ । अहिलेसम्म अध्यक्षमा केपी ओली नै हुनुहुन्छ, मिसन ०८४ को कमान्डर हामीले उहाँलाई नै अघि सारिसकेका छौँ । त्यसमा नयाँ छलफल आवश्यक छैन ।’
भनेपछि महाधिवेशन ०८४ को चुनाव अघि नै हुँदा अध्यक्ष ओली नै हो ? भन्ने जिज्ञासामा उनले थपे, ‘अहिलेसम्मको हाम्रो अध्यक्ष उहाँ नै हो, मिसन ०८४ को कमान्डर हामीले उहाँलाई तोकेर प्रतिनिधि परिषद्को बैठकबाटै पनि अगाडि सारेका छौँ ।’
उनले नेतृत्वको महाधिवेशन नलाग्दै केही व्यक्तिहरूले बेमौसमका बाजा बजाएको टिप्पणी गरे ।
उनले थपे, ‘उहाँले (विद्या)ले भन्नुभएको कुरा सबैले सुन्नुभएकै छ । अहिले विधान अधिवेशनमा त उहाँले नेतृत्वमा उठ्न त मिल्दैन होला नि ? महाधिवेशन लागेकै छैन।’
उनले विधान अधिवेशनबाट निर्वाचन आयोगको मात्रै नेतृत्व बदलिने बताए ।

Leave a Reply