शार्क ट्यांक नेपालमा ६ करोडको डिल, सफ्टवेयर कम्पनी ‘वेद’के आधारमा पायो यत्रो लगानी ?

काठमाडौं । लगानीकर्ता खोज्ने कार्यक्रम शार्क ट्यांक नेपालको चौथो एपिसोडमा शैक्षिक प्रविधि कम्पनी ‘वेद’ले ६ करोड रुपैयाँको लगानी पाएको छ । आईएमई ग्रुपका सह–संस्थापक तथा म्यानेजिङ डाइरेक्टर हेमराज ढकाल र वेद कम्पनीका सह–संस्थापक तथा सीईओ निर्दे दवाबीच ६ करोडको डिल भयो ।

कम्पनीमा भित्रिएको लगानीले तीन कुरालाई प्राथमिकता दिने ‘वेद’का सीईओ दवाले बताए । उनका अनुसार ६ करोड लगानी नेपालभरिका स्कुलमा कम्पनीलाई पुर्‍याउन, विदेशका दुई देशमा प्रभाव विस्तार गर्न र कम्पनीमार्फत् एआई मोडलहरु तयार गर्न खर्च हुनेछ ।

कसरी काम गर्छ ‘वेद’ले?

सन् २०१६ मा स्थापित यस एपले विद्यालय र प्यारेन्टस्हरुबीचको समस्यालाई हल गर्छ । विद्यार्थीको पढाइको गुणत्मकताबारे बताइदिने, विद्यालय बन्द वा खुल्ला रहेकोबारे सूचना दिने लगायत काम गर्छ । दवाले एपले दिने सुविधाबारे भने, ‘एपले प्यारेन्टस्हरुलाई फि तिर्दा लाग्ने ८० प्रतिशत समय बचाइदिन्छ । यति मात्रै होइन, स्कुलले तारान्तर फोन, म्यासेज लगायत कम्युनिकेसनमा लाग्ने ९८ प्रतिशत खर्च घटाइदिन्छ ।’

एप सुरु गर्नुका कारणहरु पनि खुलाउँदै दवाले भने, ‘सन् २०१६ मा मेरो एकजना कजनले बच्चाको स्कुलको फी तिर्नेबारे जानकारी पाउन साह्रै गाह्रो भने भन्नुभयो । स्कुलले राम्रोसँग प्यारेन्टस्सँग कम्युनिकेट नै नगरिदिने रैछ । सन् २०१६ मा इन्टरनेट र मोबाइल एपको प्रयोग बढिरहेको समयमा एउटा एपले नै समाधान गरिदिने समस्याको समधान अझैं नभएको रहेछ भनेर हामी स्कुल गयौं । स्कुल पुग्दा थाहा भयो, स्कुलले एसएमएस र फोनमा खर्च गरिरहेको रहेछ । प्यारेन्टस् बिजी भएर फोन नउठाइदिने समस्या रहेछ । प्यारेन्टस् र स्कुल दुवै पक्षले समस्या भोगिरहेको रहेछ ।’

वेदले दिने सुविधा

‘वेद’ले जानकारीदेखि स्कुलको फाइनान्स लगायत सबै काम गरिदिन्छ । अहिलेसम्म १३ सयवटा स्कुलमा सेवा दिइरहेको छ । नेपाल, म्यानमार, जापान र ब्रुनाइमा सेवा दिइरहेको दवाले बताए । उनका अनुसार ‘वेद’मा ३० लाख प्रयोगकर्ता छन् । नौ वर्षदेखि यो एपले नियमित काम गरिरहेको छ ।

यस एपले स्कुलमा गएर फी तिर्दा प्यारेन्टस्लाई लाग्ने ८० प्रीतशत समयको बचन गरिदिएको दवाको दाबी छ । यसका साथै कम्युनिकेसनका लागि लाग्ने ९८ प्रतिशत स्कुलको समय बचत गरिदिएको छ । बच्चा फेल हुनसक्छ भनेर एपले अगाडि नै आँकलन गरिदिने दवाले बताए । उनले भने, ‘फाइनान्सको केसमा मात्रै नभएर बच्चाहरुको ग्रोथमा पनि एपले पहिल्यै जानकारी दिन्छ ।’

१० प्रतिशत इक्युटी सेयरमा ६ करोड लगानी माग

पोखराका दवाले काठमाडौंबाट इन्जिनियरिङ सकाएका थिए । इन्जिनियरिङ सकिन लागेपछि दुईजना सह–संस्थापकसँग मिलेर आउटसोर्सिङको काम सुरु गरेको र नेपालमा पनि स्कुलको कम्युनिकेसनलाई सजिलो बनाउँदा बजार छ भन्ने लागेर एप मार्फत् काम सुरु गरेका थिए । नेपाल बन्ददेखि सारा जानकारी एपले नै दिने भएकाले अहिलेसम्म ९७ प्रतिशत स्कुलहरुले वार्षिक रुपमा सम्झौता नवीकरण गरिरहेको दवाले बताए ।

‘वेद’को अबको लक्ष्य

‘वेद’मा अहिले ६२ जनाको टिमले काम गरिरहेको छ । १३ सय स्कुुललाई सेवा दिइरहेको यो एप अब १० हजार स्कुलमा पुर्याउने उद्देश्य रहेको दवाले बताए । अर्को वर्ष मात्रै पाँच हजार स्कुलमा सेवा दिने उनीहरुको उद्देश्य छ ।

गत वर्ष मात्रै ६ करोड ५० लाखको करोबार गर्दा ८० लाख मुनाफा भएको दवाको दाबी छ । कम्पनीले चार सयभन्दा कम विद्यार्थी भएको स्कुलमा वार्षिक ९० हजार र योभन्दा माथिको संख्यामा विद्यार्थी छन् भने प्रतिव्याक्ति वार्षिक २२० रुपैयाँमा सम्झौता गर्ने बताए ।

पाँच वर्षमा नेपालभरि फैलने उद्देश्य राखेको ‘वेद’ले १० प्रतिशत इक्युटी शेयरमा ६ करोड लगानी माग गर्न शार्क ट्यांक नेपालमा दवा पुगेका थिए । तर, डिल फाइनल हुँदा २० प्रतिशत सेयरमा ६ करोड लगानी गर्न हेमराज ढकाल तयार भए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *