पहिलो महिला उपसभामुख लीला दिदीलाई सम्झिँदा

२०६७ साल असार २७ गते बिहान ५ बजे नेपालकै पहिलो महिला उपसभामुख लीला श्रेष्ठ सुब्बा दिदी बित्नुभएको खबर आधा घण्टाभित्र धरानभरि सनसनी फैलिसकेको थियो । त्यतिञ्जेल मलगायत एमाले नेता कार्यकर्ता र धरानका अन्य दलहरू र सर्वसाधारण तथा आफन्तहरू दिदीको धरान ७ स्थित निवासमा भेला भइसकेका थियौं ।

दिदीको शव भानुचोक लोकतान्त्रिक चौतारीमा राख्ने अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख सुवासचन्द्र नेम्वाङ, उपसभामुख पूर्णकुमारी सुवेदी आउने तय भएअनुसार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले भानु चोकमा रहेका सवारीसाधन व्यवस्थापनको काम गर्ने नेतृत्वबीच छलफल भएपछि लक्ष्मी बानियाँ, कमल भट्टराईसहितका मजदुर नेताहरू काममा लाग्नुभयो । त्यसै दिन दिदीको अन्त्येष्टि गर्ने तय भएअनुसार पार्टी नेतृत्व ध्रुवलाल श्रेष्ठ (लीला दिदीका श्रीमान) सँग कुराकानीपछि सोहीअनुसार परिचालन भयो ।

सो बिहानैदेखि अत्यधिक वर्षा भएकाले प्रम, सभामुख र उपसभामुख काठमाडौंबाट कोही पनि आउन सक्नुभएन । अन्तिममा सुनसरीमै रहनुभएको शान्ति तथा पुनःस्थापनामन्त्री रकम चेम्जोङले दिदीको पार्थिव शरीरमा नेकपा एमालेको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । सुनसरी र कोशीमा रहनुभएका नेता र सर्वसाधारण जनताले श्रद्धाञ्जली दिएपछि खत्रीधारामा दिदीलाई सदाका लागि बिदाई गरिएको थियो ।

दिदीलाई सदाका लागि बिदाई गरिएको पनि आज १५ वर्ष भएछ । दिदीको राजनीतिक समर्पण, त्याग, संघर्ष, जेल जीवन, राजकीय निकायमा प्राप्त गर्नुभएको उच्च ओहदा, जीवनको अन्तिम समयमा बिताउनुभएको पीडादायी अवस्था र साहित्यिक जीवनका आयामहरू सबैलाई सरसरर सम्झिने हो भने प्रेरणाको पुञ्ज बन्छ । उमेरका हिसाबले मभन्दा २७ वर्ष पहिले जन्मनुभएकी दिदीसँग राजनीतिक योगदान र चेतनास्तरको तुलना हुने कुरै आउँदैन । मेरो पुस्ताले धरानको राजनीतिमा लीला दिदीहरूलाई हेर्दै, सुन्दै र पढ्दै दिदीहरूकै पदचापको पछि लागेको हो ।

दिदीको निधन हुँदा उहाँ ६२ वर्षको हुनुहुन्थ्यो, मेरो उमेर ३५ वर्षको थियो । उहाँ नेकपा एमालेको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो, म सुनसरी जिल्ला कमिटी सदस्य थिएँ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रीय सचिव र औजार दैनिकको प्रधान सम्पादकका रूपमा काम गरिरहेको थिएँ । त्यति ठूलो राजनीतिक उचाइ भएको दिदी र बढी काठमाडौंमा रहनुभएकाले पनि सरोबर भेटघाट र सम्पर्क हुने कुरै भएन, तर उपसभामुखको जिम्मेवारीबाट बिदाई हुनुभएपछि उहाँसँग भेटघाट बाक्लिएको हो ।

२०५१ सालदेखि नै दम रोगको लक्षण देखापरेको दिदीलाई २०५५ सालदेखि रोगले थला पार्नेगरी गाँज्यो । बैशाखको गर्मीमा पनि शरीर ढाक्ने ज्याकेट, घाँटी छोप्ने पछ्यौरी, तातो पानीको थर्मस दिदीको पहिचान जस्तै थियो । पार्टी कार्यालय, साहित्यिक कार्यक्रम, अन्य कार्यक्रमहरूमा दिदी त्यही गेटअपमा आक्कलझुक्कल देखिनुहुन्थ्यो, गफिनुहुन्थ्यो । २०६२/०६३ सालको १९ दिने जनक्रान्तिमा समेत दिदी त्यसरी नै उपस्थित हुनुहुन्थ्यो । आन्दोलनमा समेत उहाँ बिरामी अवस्थामा पनि पार्टी कार्यालयमा अक्सर आइरहनुहुन्थ्यो । फुर्सदको समयमा २०४६ अघिका आन्दोलनका किस्साहरू हामीलाई झिजो नमानी सुनाउनुहुन्थ्यो ।

यसै क्रममा उहाँले पञ्चायतीकालमा धरानमा भएको विद्यार्थी आन्दोलनका क्रममा छाता चोकमा विद्यार्थी नेता मनोज मेयाङ्बोलाई प्रहरीले चारैतिर बाटा घेरेर पक्राउ गर्न खोज्दा ज्याकेटमात्रै प्रहरीको हातमा रहेरको र मनोज मेयाङ्बो उम्किएको राति बीबीसी समाचारमा घटना विवरण प्रशारण गरेको सुनाउनुभएको थियो ।

जनआन्दोलनपछि दिदीको अवस्था बिग्रँदै गएको थियो । कतिपटक म दिदीको घरमै पुगेर पुराना कुराहरू गरेको छु । दिदीका रचनाहरू दिदीकै मुखबाट सुनेको छु । दिदीको स्वास्थ्य निकै बिग्रिएपछि उहाँले ‘म नरहे पनि’ भन्ने शीर्षकमा कविता लेख्नुभएको रहेछ । मलाई घरमा बोलाउनुभयो, कविता सुनाउनुभयो र यो कविता औजारमा प्रकाशन गर्दा कसो हुन्छ भन्नुभयो । त्यो कविता छापियो कि छापिएन मलाई एकिन भएन । मैले दिदीलाई हतोत्साहित नहुन यस्ता रचनाहरूभन्दा थोरैथोरै भए पनि अनुभवहरू लेख्न सुझाएको थिएँ । दिदीले हुन्छ म लेख्छु भन्नुभएको थियो । लेख्नुभयो कि छैन ध्रुवलाल दाइलाई बुझन बाँकी छ ।

पछिल्लो समय उहाँलाई रोगले सारै नै च्याप्न थाल्यो । दैनिकजसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिरहनुपर्ने अवस्था आयो । कहिलेकाहीँ त रातिराति आकस्मिक उपचार कक्षमा लानुपर्ने अवस्था आयो । ध्रुवलाल दाइलाई तेहोरो पीडा थियो । पहिलो- अस्पताल ओहोरदोहोरको पीडा, दोस्रो- अस्पताल र चिकित्सकहरूले तत्काल रेस्पोन्स नगर्ने र तेस्रो- आर्थिक संकटको । अप्ठेरो पर्नासाथ दिदीले मलाई कल गर्नुहुन्थ्यो । पछिपछि ध्रुवलाल दाइले सम्पर्क गर्नुहुन्थ्यो । हामी सहयोगका लागि तत्काल तयार हुन्थ्यौं र अस्पताल पुग्थ्यौं ।

म सम्झिन्छु- राजेश विद्रोही, जनऋषि राई, उपेन्द्र चाम्लिङ, विकास चाम्लिङ, रत्न आचार्यलगायतका टोली हामी निरन्तर दिदीको उपचारका लागि बीपी प्रशासन र चिकित्सकहरूसँग अनुरोध गरिहाल्थ्यौँ । बीपी र चिकित्सकहरूले सकेको सहयोगसमेत गरिरहेका थिए । उपचारमा आर्थिक समस्या आएपछि समाचारहरू प्रकाशन भयो, पार्टीको तर्फबाट सहयोग जुट्यो, माधव नेपाल नेतृत्वको सरकारले समेत सहयोग गर्‍यो, तर कसैको केही लागेन दिदीले १६ वर्षअघि आजकै दिन अर्थात् २०६७ साल असार २७ गते बिहान ५ बजे प्राणत्याग गर्नुभयो । रोगको लक्षण २०५१ सालमै देखिएको हो । २०५५ सालमा उहाँलाई रोगले च्याप्यो, जतिवेला उहाँ देशकै पहिलो उपसभामुख हुनुहन्थ्यो । उहाँले चाहनुभएको भए राज्यको खर्चमा देश विदेशमा उपचार गराउन सक्नुहुन्थ्यो, तर उहाँले त्यसो गर्नुभएन, इमानको बाटो रोज्नुभयो ।

संक्षिप्तमा लीला श्रेष्ठ

  • जन्म २००५ साल कार्तिक ५ गते ताप्लेजुङ जिल्ला सिकैचा गाविस साङमाङ पाँचपात्ले ।
  • आमाबुवाः सुकमती मेयाङवो, अम्बरवहादुर मेयाङवो ।
  • डिपो हाइस्कूल, शिक्षा सदन मावि, बनारस र काठमाडौंमा एमए अध्ययन ।
  • शिक्षकहरू: पदम न्यौपाने, नरेश शाक्यका राजनीतिक प्रेरणा र साहित्यकार वेणु आचार्य र मनमोहन पलिखेको प्रेरणाबाट राजनीतिमा संलग्न ।
  • २०२२ र २०२३ सालमा पञ्चायतविरोधी विद्यार्थी आन्दोलनको प्रभाव । नेपाली भूमि अतिक्रमण र उत्तरी सीमामा भारतले चेकपोस्ट राखेको विरोधमा धरानमा भएको आन्दोलनको प्रभावमा राजनीतिमा संलग्न हुनुभयो ।
  • धरानमा भएको डीआईजी काण्डलगायत विद्यार्थी आन्दोलनमा सहभागी ।
  • शिक्षा सदनमा १७ वर्षकै उमेरमा २०२२ सालमा विद्यार्थी युनियनको सचिव हुनुभयो । त्यतिबेला गठन भएको लोकनृत्य संघमा रहेर नाचगान र नाटकमा अभिनय गर्नुभयो । त्यहाँ रहेर भित्र-भित्र पञ्चायतविरोधी पर्चा पम्प्लेट तयार पार्ने र बाहिर चाहिँ सांस्कृतिक कार्यक्रममार्फत आन्दोलनमा योगदान गर्नुभयो ।
  • ‘गंगालालको चिता’ नामक नाटकमा प्रमुख नायिकाको अभिनय गर्नुभयो, तर त्यो नाटक प्रशासनले देखाउन दिएन । त्यसपछि गोपालराज जोशीले लेखेको नाटक ‘प्रतिशोध’ प्रदर्शन गरियो । यस नाटकमा पनि मुख्य नायिकाको भूमिका निर्वाह गर्नुभयो ।
  • २०२४ सालमा उहाँले काठमाडौंको अस्कल कलेजमा आईएस्सी अध्ययन गर्नुभयो । त्यस समयमा उहाँले अनेरास्वियुमा रहेर काम गर्नुभयो ।
  • नेकपा मालेमा २०३६ सालमा सम्पर्कमा आउनुभयो, बनारसमा पढ्दा बस्दा धादिङका नारायण आचार्यले पार्टी सम्पर्क दिएका थिए । झलनाथ खनाल, सीपी मैनाली र मोदनाथ प्रश्रित आदि नेतासँग उहाँले बनारसमै भेटघाट गर्नुभएको हो ।
  • धरानमा भने डीपी आचार्य, सीता पाठक र राजेश वान्तवामार्फत पार्टी सम्पर्कमा रहनुभएको हो ।
  • २०३७ सालमा धरान अनेमसंघको नगर अध्यक्ष हुनुभयो । त्यसबेला पार्टीले अगुवा महिला कार्यकर्तालाई समेटेर बनाएको क्रान्तिकारी महिला संघको नगर सदस्यसमेत हुनुभयो । यसै समयमा अनेमसंघ जिल्ला तयारी समितिको सदस्य हुनुभयो । २०३८ सालमा जिल्ला आयोजक समितिको संयोजक भएर २०४५ सालमा अनेमसंघको दोस्रो अधिवेशनमा सचिव भएर काम गरेको देखिन्छ । २०४७ सालमा भएको सम्मेलनमा निर्वाचित सचिवले काम गर्न नसकेपछि कुन्ता शर्मा अध्यक्ष रहेको कमिटीमा फेरि पनि सचिव भएर काम गर्नुभयो । अनेमसंघ केन्द्रीय सदस्यमा रहेर बिरामी अवस्थामा पनि काम गर्नुभयो ।
  • पार्टी सदस्यता २०४७ सालमा पाउनुभयो र २०४७ सालमा बनेको नेकपा एमालेको पहिलो धरान नगर कमिटीमा रहेर काम गर्नुभयो ।
  • नेकपा एमाले सुनसरी जिल्ला कमिटीमा २०४८ सालमा सदस्य मनोनीत हुनुभयो । पार्टी सुनसरीको प्रथम र दोस्रो अधिवेशनमा सदस्य निर्वाचित हुनुभयो । त्यसपछि राष्ट्रिय परिषद् सदस्य भई दुई कार्यकाल काम गर्नुभयो ।
  • २०५१ सालमा सुनसरी जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सांसद निर्वाचित हुनुभयो । २०५५ बैशाखमा प्रतिनिधिसभाको उपसभामुख हुनुभयो । नेपालको पहिलो महिला उपसभामुखका रूपमा सफलतापूर्वक जिम्मेवारी पूरा गर्नुभयो ।
  • नेकपा एमालेको सातौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय सल्लाहकारका रूपमा रहनुभयो ।
  • उहाँले २०२२-२०२३ सालदेखि नै कविता लेख्न थाल्नुभएको हो । ‘मेरो झ्यालका पर्दाहरू’ भन्ने कविता बनारसबाट छापिएको उहाँको पहिलो रचना हो । उहाँको ‘फोकल्यान्डको टापु’ कथा सङ्ग्रह प्रकाशित भएको छ । उहाँका अप्रकाशित रचनाहरूसमेत रहेका छन् ।
  • रेडक्रस धरानको आजीवन सदस्य, सरस्वती बाल अनाथालय धरानको आजीवन सदस्य, मानव अधिकार संरक्षण मञ्चको केन्द्रीय सदस्य रहेर समाज सेवा गर्नुभयो ।
  • धरान- ७ निवासी ध्रुव श्रेष्ठसँग उहाँको प्रेमलाई परिवारले स्वीकृति दिएपछि २०२८ सालमा उहाँहरूको विवाह भयो ।
  • लीला श्रेष्ठ सुब्बा जोग्रान्ड्रिम भन्ने (दम) रोगका कारण लामो समयदेखि थलिनुभएको थियो । दम, निमोनियाँका कारण छाँतीमा इन्फेक्सन थियो । वर्षौं एन्टिबायोटिक खाएर बस्नुपरेकोे थियो । घरमा तलमाथि गर्न नसक्ने अवस्था आएपछि घरान छाताचोकको घर बेचेर धरान- ७ मा सर्नुभएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *