काठमाडौँं । असार २४ गते (मंगलबार) रसुवामा आएको हिमबाढीका कारण ठूलो जनधन र पूर्वाधारको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार गम्भीर मानवीय संकट निम्त्याएको उक्त विपत्तिमा अहिलेसम्म १३ जनाको शव फेला परेको छ भने अझै १९ जना बेपत्ता छन् । बाढीबाट चीनसँगको व्यापारिक नाका पूर्णरूपमा अवरुद्ध भएको छ भने अर्बौं रुपैयाँ बराबरको क्षतिको प्रारम्भिक अनुमान गरिएको छ ।
प्राधिकरणको प्रतिवेदन अनुसार रसुवागढी भन्दा करिब ३५ किलोमिटर उत्तरतर्फ तिब्बती क्षेत्रको प्येरुप हिमनदीमा अवस्थित सुप्राग्लेशियल तालबाट अचानक पानी छुट्दा ल्होन्दे खोलामा अत्यधिक बहाव उत्पन्न भएको थियो । उक्त बहाव भोटेकोशी नदी हुँदै नेपालमा प्रवेश गरेको थियो । स्याटेलाइट विश्लेषण अनुसार, असार २४ मा तालको क्षेत्रफल अचानक घटेको पाइएको छ, जसले हिमताल विस्फोट भएको पाइएको छ ।
तथ्यांकमा हेर्दा अहिलेसम्म १३ जनाको शव फेला परेको छ भने १९ जना बेपत्ता छन् । यस्तै १ जना घाइते भएका छन् भने २८८ जनाको उद्दार गरिएको छ । जसमा २७ जनाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ ।
उद्दार कार्यमा करिब २ हजार सुरक्षाकर्मी परिचालन गरिएका थिए । प्राधिकरणको प्रतिवेदन अनुसार २४ कन्टेनर ट्रक, ३५ विद्युतीय गाडी, ६ साना गाडीमा क्षति पुगेको छ । यस्तै २ वटा पुलमा क्षति पुगेको छ । जसमध्ये मितेरी पुल पूर्ण रूपमा बगाएको छ ।
स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । १ ड्राइ पोर्ट, ३ जलविद्युत् आयोजना, भन्सार कार्यालय, नेपाल–चीन व्यापार नाका तहसनहस भएको छ । बाढीले रसुवाबाट पर्सासम्म त्रिशूली र नारायणी नदीसम्मका क्षेत्र प्रभावित भएको छ ।
घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दिपक खड्का, मुख्य सचिव एकनारायण अर्यालय लगायत उच्च अधिकारीले स्थलगत अवलोकन गरका छन् । उक्त बाढीलाई केन्द्रित गरेर राष्ट्रिय विपद् परिषद्को आकस्मिक बैठक बसेर विभिन्न निर्णय पनि गरेको छ । जसमा मितेरी पुल पुनर्निर्माण र चीनसँग समन्वयमार्फत नाका पुनः सञ्चालन गर्ने, सडक र अन्य पूर्वाधार मर्मत तथा पुनः स्थापना गर्ने, भन्सार, जलविद्युत् आयोजना लगायत संरचनाको द्रुत मूल्यांकन गर्ने, मृतकका परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार गर्ने निर्णय भएका छन् ।
यस्तै अध्ययन तथा चीनसँग पूर्वसूचना व्यवस्थाका लागि पहल गर्ने, विद्यालयदेखि स्थानीय तहसम्म संचार–बिजुली सेवा पुनःस्थापना गर्ने, आर्थिक क्षतिको विस्तृत मूल्यांकन समिति गठन गर्ने लगायतका निर्णय पनि भएका छन् ।
रसुवागढी–केरुङ व्यापारिक मार्ग बन्द हुँदा अर्बौंको आर्थिक कारोबार प्रभावित भएको छ । बाढीले जलविद्युत् आयोजना, सडक, सवारीसाधन र निजी सम्पत्तिमा अकल्पनीय क्षति पुर्याएको प्रारम्भिक निष्कर्ष प्राधिकरणले निकालेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तापक्रम वृद्धि र हिमतालको विस्तारका कारण हिमबाढीको जोखिम उच्च बन्दै गएको छ । रसुवामा घटेको घटना भविष्यका थप जोखिमको संकेत समेत भएको विभागको अनुमान छ ।

Leave a Reply