भोजपुरको दिङ्लामा नगर अस्पतालको सेवा सुरू

भोजपुर । षडानन्द नगरपालिको केन्द्र दिङ्लामा नगर अस्पताल सञ्चालनमा आएको छ ।  ‘स्वास्थ्य नागरिक, जिम्मेवार पालिका’ भन्ने नारालाई आत्मसात गर्दै शुक्रवार एक कार्यक्रमका बीच अस्पतालको औपचारिक शुभारम्भ गरिएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सुरेन्द्रकुमार उदासले अस्पताल सञ्चालनमा आए स्थानीय नागरिकले घरछेउमै स्वास्थ्य सेवा प्राप्त गर्ने बताएका छन्। उनले भने, “पालिकावासीसहित छिमेकी पालिकाका नागरिकको स्वास्थ्य सेवालाई पनि प्रभावकारी बनाउन नगर अस्पताल सञ्चालनमा ल्याएका हौँ । अब अस्पताललाई व्यवस्थित र दिगो रूपमा सञ्चालन हुने वातावरणका बनाउन सबै लाग्न आवश्यक छ ।”

षडानन्द नगरपालिकाको वडा नं ७ मा स्थापना भएको अस्पतालले स–साना स्वास्थ्य सेवा लिन अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि स-साना स्वास्थ्य समस्याका लागि पनि यहाँ नागरिकले छिमेकी जिल्ला सङ्खुवासभा, धरान, विराटनगरजस्ता सहरमा जानुपर्ने बाध्यता रहेको थियो ।

नगर उपप्रमुख प्रमिला राईले आँखा उपचार सेवा सञ्चालन हुँदै आएकामा अब छिट्टै दन्त उपचार सेवा विस्तार गरिने बताएकी छिन् । स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले आवश्यक जनशक्ति र उपकरण थप गर्दै लाने योजना बनाएको पनि उनले बताइन्।

स्थानीयवासी भने सञ्चालित अस्पतालले नगरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेमा आशावादी देखिएका छन् ।

अस्पतालको बिहीबार मात्र नगर प्रमुख सुरेन्द्रकुमार उदासले औपचारिक कार्यक्रमसहित उद्घाटन गरेका हुन् ।

भारतीय राजदूतावासको सहयोगमा निर्माण गरिएको महात्मा गान्धी अस्पताल भवनबाट नगर अस्पताल सञ्चालनमा आएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *