काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटा बैंकमा भरेको केवाईसी अन्य बैंकहरुमा पनि उपलब्ध हुने व्यवस्था गर्ने भएको छ । शुक्रबार राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्न लागेको जानकारी दिएको हो ।
गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्था एवम् अन्य वित्तीय सेवा प्रदायकको ग्राहक पहिचान केवाईसी विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिनेछ । ग्राहकले कुनै एक बैंकमा विवरण अद्यावधिक गरेपश्चात् आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने पूर्वाधारको विकासका लागि समेत सहजीकरण गरिनेछ ।’
ग्रामीण क्षेत्रमा ऋणीहरूसँग निरन्तर संवादमा रहने उद्देश्यले “ऋणीसँग नेपाल राष्ट्र बैंक” कार्यक्रम सञ्चालन गरिने भएको छ ।
बैंक तथा वित्तीय संस्थाले विद्यमान कानुनी प्रकृयाअन्तर्गत रही आफ्नो कर्जा नियमित गर्दा तथा असुलीलगायतका कार्य गर्दा देखिएका अवाञ्छित गतिविधिबाट सिर्जित जोखिम निरूपणका लागि नेपाल सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने भएको छ ।
बैंक तथा वित्तीय संस्थामा निष्क्रिय खाताहरूको सङ्ख्या उल्लेख्य बढी रहेको सन्दर्भमा उच्च सङ्ख्यामा खाता निष्क्रिय रहने र अन्य व्यक्तिले समेत खाता सञ्चालन गर्ने प्रवृत्तिले सिर्जना गरेको जोखिमसमेतलाई दृष्टिगत गरी निष्क्रिय खातालाई न्यून गर्न कार्य योजना बनाई लागु गरिने भएको छ ।
वित्तीय ग्राहक संरक्षण गर्न “वित्तीय ग्राहक संरक्षण मार्गदर्शन” एवम् वित्तीय बजार आचरणसम्बन्धी निर्देशन जारी गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

Leave a Reply