हर्क साम्पाङका समर्थकले गरे पत्रकारमाथि दुर्व्यवहार, प्रहरीमा उजुरी

विराटनगर । धरानमा मेयर हर्क साम्पाङका सर्मथकहरूले समाचार संकलनमा पुगेका पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।

धरान-५ र १५ का स्थानीयबासीको विवादको रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि उनीहरूले दुर्व्यवहार गरेका हुन् ।

बिहीबार समाचार संकलनार्थ पुगेका नेपाल पत्रकार महासंघका सदस्य तथा कोले न्यूज डटकमका सञ्चालक रोहित कुलुङ राई, कपुरी न्युजकी रश्मि प्रधान र पत्रकार डेबिट बस्नेतमाथि दुर्व्यवहार भएको हो । दुर्व्यवहारपछि पत्रकारहरूले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

सेउती खोलामा आउने बाढीलाई च्यानलिङ गर्ने भनी मेयर प्रमुख हर्क साम्पाङले जेसीभी लगेर काम सुरू गरेका थिए । सो क्रममा दुई वडाबासी बीच विवाद बढेको थियो । दुई समूहबीच झडपको स्थिति भएपछि आफूहरू समाचार संकलनमा पुगेको रोहित कुलुङ राईले बताए ।

‘विवाद भएको विषय भिडिओ खिचिरहेको थिएँ, एक जना मेरो कानमै आएर भिडिओ किन खिचेको ? भन्दै गाली गरे । त्यसपछि महिलाहरूलाई बोलाएर दुर्व्यवहार गरे’, राईले भने ।

पत्रकारहरूले धरान-५ सुन्दर बस्तीका अन्दाजी ३५ वर्षीय कवि याक्खा र सोही ठाउँका करिब ५५ वर्षीय मणिराज राईसहित परिचय नखुलेका दुई महिलाविरुद्ध उजुरी दिएका छन् ।

इलाका प्रहरी कार्यालय धरानले उजुरी उपर कारबाही हुने जनाएको छ । पत्रकारहरूमाथि दुर्व्यवहार भएको विषयमा नेपाल पत्रकार महासंघ सुनसरीले विज्ञप्ति निकालेर घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *