काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले हिजो मात्रै नयाँ बायोपिक चलचित्र ‘क्याप्टेन साब’को घोषणा गरे । क्याप्टेन रामेश्वर थापाको जीवनीमा आधारित यस चलचित्रमा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा छन् । दीपेन्द्र, खगेन्द्र र सुरक्षा तीन जनाको आठ वर्षपछिको सहकार्य हो । ‘धनपति’पछि यो टिमले ‘क्याप्टेन साब’मा सहकार्य गर्दैछन् ।
रोचक त के छ भने खगेन्द्र र दीपेन्द्रले यसअघि नै अर्को बायोपिकमा सहकार्य गरेका थिए । बागमती नगरपालिका, सर्लाहीका निलम्बित मेयर भरतकुमार थापाको जीवनीमा आधारित चलचित्र ‘मेयर’मा खगेन्द्र कलाकार थिए, दीपेन्द्र निर्देशक । तर, चलचित्रको सुटिङ भइरहँदा नै मेयर थापालाई अख्तियारले विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गर्यो ।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा मेयर थापा, उपमेयर लीलाकुमारी मुक्तान र तत्कालीन प्रशासकीय अधिकृत विमलकुमार पोखरेलविरुद्ध मात्रै ५६ करोड ७१ लाख सात हजार २९२ बिगो र जरिवाना तथा कैद सजाय माग गरिएको छ ।
अख्तियारले मुद्दा दायर गरेपछि ‘मेयर’ रोकेका दीपेन्द्र अहिले ‘क्याप्टेन साब’को तयारीमा जुटेका छन् । भदौबाट छयांकनमा जाने तयारीमा रहेका दीपेन्द्रलाई हामीले ‘मेयर’माथि जिज्ञासा राख्यौँ । उनले भने, ‘मेयर चलचित्र पूरा भइसकेको छैन । सबै मिलेर सुरु गर्यौँ, तर पछि काम गर्दा गर्दा बजेट मिलाउन सकिएन ।’
मेयरलाई अख्तियारले डामेपछि चलचित्र रोकिएको त हैन रु भनने प्रश्नमा उनले भने, ‘त्यस्तै पनि त होइन । तर, मुख्य कुरा फाइनान्सले चलचित्र अड्कियो । अब उहाँलाई मुद्दा लाग्यो । त्यसले गर्दा पनि अलि अल्छी लाग्यो मलाई चलचित्र बनाउन ।’
दीपेन्द्रको अभिव्यक्तिले बुझ्न सकिन्छ, ‘मेयर’को भविष्य अन्योलमा भासिएको छ । दीपेन्द्रको ‘हरिबहादुरको जुत्ता’ दशैंमा रिलिज हुँदैछ भने ‘क्याप्टेन साब’को तयारीमा समेत लागेका छन् । चलचित्र नबन्ने निश्चित जस्तै भए पनि त्यो चलचित्रमा गरिएको मिहेनत खेर नजाला कि भन्ने लागेको दीपेन्द्रको भनाइ छ ।

Leave a Reply