नवलपरासी कांग्रेसमा काउन्टर कारबाही, जिल्लाबाट देवेन्द्र कँडेल ५ वर्षलाई विधानविपरीत निष्कासित

रुपन्देही । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन आयोगले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि कांग्रेस नवलपरासीले यसको अगुवाइ गरेका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ ।

इतर समूहका खनाललाई कारबाही भएको विषय सार्वजनिक भएको अर्को दिन संस्थापन समूहका कँडेललाई जिल्ला समितिले कारबाही गरेको हो । बिहीबार बर्दघाटमा पत्रकार सम्मेलन गरेर जिल्ला कार्यसमितिका कार्यवाहक सभापति विक्रम यादवले केन्द्रीय सदस्य कँडेललाई ५ वर्षको लागि निष्कासन गरिएको जानकारी दिए । यसरी केन्द्रीय सदस्यलाई निष्कासन गर्ने अधिकार जिल्ला समितिलाई छैन ।

जिल्ला अनुशासन समितिले कँडेललाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको प्रवक्ता राधेश्याम पाठकले बताए । जिल्ला अनुशासन समितिले बैशाख २९ गते कँडेललाई कारबाही गरेको भए पनि बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त कारबहीलाई अनुमोदन गरेको उनको भनाइ छ ।

विधानमा भएको व्यवस्थामा टेकेर कँडेललाई कारबाही गरिएको र उक्त कारबाहीको जानकारीसहितको पत्र कँडेललाई पठाइने पाठकले जानकारी दिए ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रदेश महामन्त्री खनाललाई कारबाही गरेको पत्र पठाएपछि नवलपरासीसहित देशैभर काग्रेस तरंगित छ । पत्रकार सम्मेलनमा बर्दघाट नगर समिति, प्रदेश क्षेत्रीय समिति र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय समिति र जिल्ला कार्यसमिति नेतृत्वले खनालमाथिको कारबाही तत्कालै फुकुवा नभए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार केन्द्रीय समिति हुने निर्णय गरेको जानकारी गराइएको छ ।

निष्कासित विक्रम भन्छन्- १३ वर्षको उमेरदेखि पार्टीमा गरेको लगानीको प्रतिफल पाएँ

पार्टी केन्द्रको कारबाहीमा परेका प्रदेश महामन्त्री खनालले कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई सम्बोधनका बेला पटक पटक आँसु पुछेका थिए ।

‘कांग्रेसलाई १३ वर्षको उमेरदेखि गरेको योगदानको कदर नेतृत्वले कारबाही गरेर देखाएको छ, तर तपाईंहरुको साथले मलाई खुसी बनाएको छ’, उनले भने ।

पटक पटक भक्कानिएका खनालले धन र डनको बलमा आफूलाई निकालेर तर्साउन खोजिएको भन्दै विकृतिको विरुद्ध लागिरहने बताए ।

संस्थापन पक्षका नेताहरुविरुद्ध पनि खनालले चर्को आक्रोश व्यक्त गरे । पत्रकार सम्मेलनमा कांग्रेस नेता तथा प्रदेशसभा सदस्य विश्वप्रेम पाठकले पार्टीमा योगदान दिएका खनाललाई कारबाही गरेर पार्टी कता जान खोजको भन्दै प्रश्न गरे ।

उनले सबै निर्वाचित जनप्रतिनिधिहरु खनालको साथमा रहेको पनि बताए ।

खनालमाथि कारबाहीका लागि गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विनोद चौधरीलाई असहयोग गरेको कारण देखाइएको छ । कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीले खनालले गत निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी दिएका थिए ।

खनाल नेता डा. शेखर कोइराला निकट छन् । खनालकै विषयलाई लिएर केन्द्रीय समिति बैठकमा नेता कोइराला र संस्थापन पक्षबीच जुहारी चलेको थियो ।

यसैबीच आज जिल्लामा कांग्रेस सम्बद्ध विभिन्न संघसंगठनले कारबाहीको विरोधमा प्रदर्शनको तयारी गरेका छन्, तर त्यसको विपक्षमा संस्थापन पक्षले विज्ञप्ति जारी गरेर विरोधको कु्नै कार्यक्रम नरहेको भन्दै खण्डन गरेको छ ।

केन्द्रको निर्णय कार्यान्वयनको विकल्प नभएको भन्दै पार्टीको निर्णयविरुद्ध विरोधका कुनै कार्यक्रम नराखिएकाले सहभागी नहुन आह्वान गरिएको छ । जिल्लामा इतर समूहको वर्चश्व रहेको छ ।

खनाललाई पार्टीबाट निष्कासन गरिएपछि उनी पक्षका धेरै नेता कार्यकर्ताले कांग्रेसलाई सकाउने कामको थालनी भएको बताएका छन् । २०७९ सालको निर्वाचनमा पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका विनोद चौधरी, देवेन्द्रराज कँडेलसहितका नेताहरुलाई हराउन भूमिका खेलेको आरोपमा बुधबार उनलाई कारबाहीस्वरुप एक वर्षको लागि निष्कासन गरिएको हो ।

जिल्लामा पार्टीमा इतर समूहको नेतृत्व गरेका खनाल र संस्थापन समूहबाट नेता देवेन्द्रराज कँडेलको दुई गुट छ । दुवै समूहले एकले अर्कोलाई असहयोग गरेको निवेदन केन्द्रमा दिए पनि खनाललाई मात्रै कारबाही गरिएको भन्दै इतर समूहका नेता कार्यकर्ताले आक्रोश पोखेका छन् ।

कारबाहीपछि नवलपरासीमा मात्रै नभएर प्रदेशभरका नेता कार्यकर्ताहरु एक पक्षले अर्को पक्षलाई छेडछाड गरिरहेका छन् । खनालमाथि कारबाही भएपछि संस्थापन निकटका नेता कार्यकर्ताहरुले खुसी व्यक्त गरेका छन् भने नवलपरासी जिल्लाका धेरै नेता कार्यकर्ताले यसको प्रतिवाद गरेका छन् ।

समग्र पार्टीको सुदृढीकरणभन्दा पनि संस्थापनको ईगो हर्टमा खनाललाई कारबाही गरिएको आक्रोश कार्यकर्ताले पाेखिरहेका छन् । संस्थापन पक्षका नेता देवेन्द्रराज कँडेल र विनोद चौधरीको दबाबमा नेता खनालमाथि कारबाहीको डण्डा चलाइएको उनीहरु बताउँछन् ।

खनालमाथिको कारबाहीले जिल्लाका संस्थापन पक्षका नेताहरुले आफ्नो जित भएको महसुस गरे पनि पार्टीका तल्लो तहका कार्यकर्ता भने अबको कांग्रेसको संगठनको मोर्चा र भविष्य कस्तो हुने भन्ने प्रश्न गरेका छ्न् ।

खनालले नेतृत्व गरेको निर्वाचन क्षेत्र नम्बर १ मा तीनैवटा पालिकामा कांग्रेसले जितेको छ । पूर्वगृहराज्यमन्त्री एवं केन्द्रीय कँडेलको निर्वाचन क्षेत्रका सबै पालिकामा कांग्रेस निल भएको छ । कँडेल आफैं राप्रपाका उपाध्यक्ष ध्रुव प्रधानसँग १६ हजार मतान्तरले पराजित भएका थिए ।

खनालमाथि कारबाही भएपछि जिल्ला कार्य समिति र भ्रातृ संस्थाहरुले आकस्मिक बैठक डाकेका छन् ।

अनुशासन समितिमा शेखर कोइराला समूहका सञ्जय गौतमले उजुरी गर्नुलाई इतर समूहका नेताले आश्चर्य व्यक्त गरेका छन् । शेखर कोइराला समूहका विश्वास पात्र मानिएका नेता खनाललाई कोइरालाले आउँदो महाधिवेशनमा लुम्बिनी प्रदेशको सभापतिको रुपमा अघि सार्ने तयारी गरेकाले कोइराला निकटकै गौतम आन्तरिक रुपमा रुष्ट भएकाले गौतम आफैंले कारबाहीको सिफारिस गरेको हुनसक्नेसमेत इतर समूहका केही नेताको दाबी छ ।

कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु पोखरेल खनालमाथिको कारबाहीप्रति आपत्ति जनाएका छन् ।

‘केन्द्रीय समितिको बैठक सकिएको दुई दिनमै लोकतन्त्रको लाज पचाइयो, बैठकमा न विक्रम खनालको कारबाहीबारे छलफल भयो, न त निर्णय गरियो, तर बुधबार अनुशासन समितिको हुकुमी पत्र बाहिरियो- एक इमानदार जीवन्त, आन्दोलनकारी, सिद्धान्तवादी नेता खनाललाई निष्कासन ?’, उनले भने ।

उनले विक्रम खनालकै जोडबलमा विनोद चौधरी संघीय सांसद भएकाेमा अहिले उनैमाथि कारबाही गरिएकाे आश्चर्य व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *