एमालेमा विद्याको पुनरागमनबाट आत्तिएका शक्तिहरू को-को हुन् ?

‘म सक्रिय राजनीतिमा फर्किन्छु र यस प्रयोजनका लागि मैले एमालेको पार्टी सदस्यता नवीकरण गरेँ’, मदन जयन्तीका अवसरमा असार १४ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति एवं मदनपत्नी विद्यादेवी भण्डारीद्वारा गरिएको उद्घोष त्यस्तो थियो ।

यो घोषणा धेरैका लागि अप्रत्यासित थियो । यसबाट समग्र गणतान्त्रिक सिण्डीकेटधारी तरंगित भए । स्वयं एमालेवृत्त त पूरै हल्लियो । अहिले त्यस पार्टीभित्रका सत्तारुढ कित्ताको ‘निँदहराम’ भएकोमात्र होइन, सामाजिक सञ्जाल बेस्सरी तात्तिएको छ, तताइएको छ । पक्ष-विपक्षमा प्रकट भएका प्रतिक्रियाको त साउने भेल नै बगिरहेको देखिन्छ ।

अचम्म त के छ भने, विद्या घोषणालाई नेपाली कांग्रेसले आफ्नो केन्द्रिय कमिटीको मुख्य विषय नै बनाएर छलफल गर्यो । बैठकमा कांग्रेसीहरूको रोदनलाई प्रत्यक्ष प्रशारणमा हेर्न नपाइए पनि विभिन्न सञ्चारमाध्यममा छरपष्ट भएकै छन् । उनीहरूले विद्याको पार्टी प्रवेशलाई रोक्न देउवाकै नेतृत्वमा ओलीसमक्ष डेलिगेसन नै गएको कुरा समाचारमा पढ्न पाइयो । यतिखेर सातपटक प्रधानमन्त्री बन्न कम्मर कसेका देउवा र चौथो पटक प्रधानमन्त्री भइरहेका ओलीका बीचमा यो विषयमा समान धारणा विकास भएको छ, त्यो हो, ‘पूर्वराष्ट्रपतिले पुनः राजनीतिमा आउनु हुँदैन ।’

यस मामिलामा अन्य वाम पार्टी पनि प्रतिक्रिया दिन किन पछि पर्थे र ! यस वृत्तभित्र पनि ठुलो चर्चा भयो । कतिले यसलाई वामपन्थी एकताको सुरूवातका रुपमा बुझे भने कतिपयले त यो घोषणालाई महत्वहीन ठान्दै क. विद्यालाई केपी ओलीकै महिला भर्सनको रूपमा पनि व्याख्या गरे ।

नेपाली वाम आन्दोलनको सानो आशाको किरण चाहिँ विद्या हुन् । त्यसैले क्रान्तिकारीहरुले सबैखाले सम्भावनालाई प्रयोग गर्नु नै बुद्धिमानी हो । यसका सन्दर्भमा विद्या आउनेबित्तिकै सारा वाम एक ठाउँमा आउछन् भन्नु र उनलाई ‘केपीको फिमेल भर्सन’ भन्नु दुवै अतिवाद हो । यतिखेर ‘पर्ख र हेर’ जायज हुनसक्छ ।

जे होस्, असार १४ को विद्या घोषणाले नेपालको राजनीतिमा एक प्रकारले तरंग आएको भने साँच्चै हो । त्यो भन्दा धेरै एमालेको आन्तरिक राजनितिमा त १० रेक्टरकै भुइँचालो गयो । तथापि, यसका पक्ष वा विपक्षमा आएका धारणाले नेपालको राजनितिक शक्ति सन्तुलनमा प्रशस्त फेरबदलको संकेत गरेका छन् । त्यो फेरबदल रोक्न वा त्यसलाई सक्दो प्रतिगमनतर्फ धकेल्न देशी विदेशी शक्ति पटक्कै लागेका छैनन् होला भनेर ग्यारेण्टी गर्न सकिँदैन । यिनै कुरालाई ध्यानमा राख्दै यो सन्दर्भमा व्यक्त भएका चिन्तन, प्रवृत्ति वा स्वार्थको केही चर्चा गरौँ ।

सबभन्दा पहिला त नेपालका कम्युनिष्टहरूको विभाजन निरन्तर कायम रहिरहोस् भन्ने इण्डो-पश्चिमेली चाहनाका नेपाली प्रतिनिधि यो घोषणावाट धेरै मर्माहत भएको पाइन्छ । हुन त विद्या एमालेको नेतृत्वमा आउनेबित्तिकै बृहत् वाम एकता हुन्छ भन्ने कुरा सत्य होइन । तर, ती विदेशी प्रतिक्रियावादीहरु यस्तो जोखिम मोल्न चाहँदैनन् । यसका सन्दर्भमा उनीहरूको रोजाइ केपी र प्रचण्ड नै हो । उनीहरूलाई थाहा छ, ओली र प्रचण्ड वाम आन्दोलनको नेतृत्वमा रहेसम्म वाम एकता सम्भव छैन । त्यसैले उनीहरू वाम आन्दोलनमा यही नेतृत्वको निरन्तरता चाहन्छन् ।

यस सन्दर्भमा इण्डो-पश्चिमेलीहरु सक्रिय भएको पर्याप्त प्रमाण दिन प्रतिदिन फेला पर्दैछ । वाम आन्दोलनभित्रका ओली र प्रचण्डलाई उचालेर, नेपालस्थित आफ्नो परम्परागत राजनीतिक प्रतिनिधी नेपाली कांग्रेसलाई प्रयोग गरेर र त्यसवाहेक आफ्ना केही तलबी बुद्धिजीवीलाई लेख्न लगाएर भए पनि विद्याको पार्टी प्रवेश रोक्न उनीहरू चाहन्छन् ।

त्यसकारण त नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठकमा विद्या एउटा एजेण्डा बनिन् । त्यसकारण त यस सन्दर्भमा केपी प्रचण्डहरूको नाक खुम्च्याई सतहमा आएको छ । त्यसकारण त गणतन्त्रको दुहाई दिँदै स्वतन्त्र नागरिकका नाममा लेखहरू लेखिँदैछ ।

विद्यालाई राजनीतिमा आउन रोक्ने केही शक्ति र उनीहरूका स्वार्थहरूलाई यसरी सूत्रवद्ध गर्न सकिन्छ ।

(१) इण्डो-पश्चिमेली स्वार्थ

नेपालको भूमि प्रयोग गरेर यिनीहरू चीनलाई घेर्न चाहन्छन् । नेपालको भूमि प्रयोग गर्न त्यतिखेर सम्भव हुन्छ, जतिबेला नेपालमा कम्युनिष्ट समाप्त हुन्छन् । कम्युनिष्ट समाप्त गर्नका लागि यसको बुर्जुवाकरण र विभाजन जरुरी छ । अहिलेसम्म वाम आन्दोलनको बुर्जुवाकरण र विभाजनमा प्रचण्ड र ओलीको सहयोग उनीहरूलाई प्राप्त भएपनि विद्याको सहयोग नहुनसक्छ । उनीहरू विद्यालाई शंकाको नजरले हेर्दैछन् । यसर्थ, पश्चिमाहरू तत्काल विद्याप्रति भरोसा गर्नसक्ने मनस्थितिमा देखिएनन् ।

(२) नेपाली कांग्रेसको स्वार्थ

निरन्तर वाम आन्दोलनको विभाजन नेपाली कांग्रेसको अत्यन्त महत्वपूर्ण रणनीति हो । यो पार्टीको अस्तित्व वाम विभाजनमा नै टिकेको छ । इतिहासदेखि आजसम्मका जति पनि वाम विभाजन भए, त्यसमा कहीँ न कहीँ नेपाली कांग्रेसको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग वा भूमिका भएको देखियो । त्यसकारण विद्याका माध्यमबाट कतै वाम एकता पो हुन्छ कि भन्ने संशयमा उनीहरु छन् । त्यसबाहेक एमालेको पुनः वामपन्थीकरण पनि कांग्रेसका दुःखभित्र पर्छन् । त्यसैले ऊ पनि विद्यालाई रोक्न चाहन्छ ।

३) साना पार्टीको स्वार्थ

नेपालमा क्रियाशील सबै पार्टी विचारधारात्मक हिसाबले मात्र निर्माण भएका छैनन् । कैयौँ पार्टी त उद्योगका रुपमा पनि सञ्चालित छन् । पैसा र शक्ति प्राप्त गर्ने उद्देश्यका साथ निर्माण भएका पार्टी शक्तिशाली वाम पार्टीको निर्माणमा सदाकाल विपक्षमा हुनु अस्वाभाविक होइन । उनीहरू पनि विद्याको आगमनले नेपालको राजिनीति कतै एउटा शक्तिशाली वाम पार्टी बन्ने दिशातर्फ त जाँदैछैन ? शंसयमा छन्, जुन उनीहरुको स्वार्थविपरीत हुनसक्छ ।

४) एमाले संस्थापन पक्षको स्वार्थ

कम्युनिष्टलाई सिध्याउने पुँजीवादीहरूको पुरानो फर्मुला हो, ‘घुसपैठ’। यो नीतिबाट एमाले पार्टी सम्पूर्ण रूपले पीडित छ । फलस्वरूप यसलाई प्रमुख रूपमा दुईपटक विभाजन गरियो । घुसपैठियाहरू नयाँमात्र होइनन्, पुरानै क्रान्तिकारीलाई समेत पथभ्रष्ट गराएर यो पार्टीलाई बुर्जुवाकरण गर्न पुँजीवाद कित्ता सफल भएको छ । त्यसैले आजको एमाले हँसिया-हथौडा बोकेर नै तीव्र बुर्जुवाकरणको बाटोमा हिँडेको हो ।

तर, एमालेको प्रमुख नेतृत्वमण्डली, यसका नीति र कार्यक्रममा जतिसुकै दलाल र बिचौलिया हावी भएपनि यसको सांगठानिक संरचनामा हजारौँ देशभक्त, क्रान्तिकारी, वामपन्थी, समाजवादी र कम्युनिष्ट छन् ।

संगठन एकातिर, नेतृत्व अर्कोतर्फ । परिणामस्वरूप त्यहाँ भयानक अन्तर्विरोध प्रकट भयो । त्यो अन्तर्विरोध कार्यकर्ता भर्सेस नेताका रूपमा देखिए पनि सिद्धान्ततः क्रान्तिकारी कम्युनिष्ट भर्सेस पुँजीवादी बिचौलिया कै हो । हो, त्यही बिचौलिया ताकत विद्या भण्डारीको पुनः पार्टी जीवनको निरन्तरताका लागि तगारो भएर उभिएको छ । आज एमाले दोबाटोमा छ । विद्यालाई रोकेर पूर्णबुर्जुवा पार्टी बनाउने कि पुनः वामपन्थी बाटोमा फर्किने ? यो विचारधारात्मक संघर्षको प्रसव पीडामा अहिले एमाले छट्पटिँदै छ ।

अब प्रश्न उठ्छ, के विद्या एमाले राजनीतिमा क्रियाशील हुँदा वा यसको प्रमुख हुँदा नेपालका सम्पूर्ण वाम एउटै केन्द्रमा ध्रुवीकृत हुन सक्छन् ? अथवा, एमाले पार्टी पुनः वामपन्थी बाटोमा फर्किन्छ ? यसको उत्तर अहिले नै दिन सकिँदैन । तर, यतिचाहिँ निर्धक्क भन्न सकिन्छ, विद्या आगमनले एमाले पार्टी पुनः लोकतान्त्रिक बाटोमा फर्किने सम्भावना छ । एमालेको लोकतान्त्रीककरण नै त्यहाँभित्रका बिचौलियाको समाप्ति हो । त्यो समाप्ती एमाले पार्टीको पुनः वामपन्थीकरणको प्रस्थानबिन्दु बन्नसक्छ ।

एमालेको वामपन्थीकरणले नेपालका वामलाई एउटै केन्द्र बनाउन दबाब भने पर्छ । यतिखेर यतिमात्र भनौँ, नेपाली वाम आन्दोलनको सानो आशाको किरण चाहिँ विद्या हुन् । त्यसैले क्रान्तिकारीहरुले सबैखाले सम्भावनालाई प्रयोग गर्नु नै बुद्धिमानी हो । यसका सन्दर्भमा विद्या आउनेबित्तिकै सारा वाम एक ठाउँमा आउछन् भन्नु र उनलाई ‘केपीको फिमेल भर्सन’ भन्नु दुवै अतिवाद हो । यतिखेर ‘पर्ख र हेर’ जायज हुनसक्छ ।

असार १४ को विद्या घोषणाले नेपालको राजनीतिमा एक प्रकारले तरंग आएको भने साँच्चै हो । त्यो भन्दा धेरै एमालेको आन्तरिक राजनितिमा त १० रेक्टरकै भुइँचालो गयो । तथापि, यसका पक्ष वा विपक्षमा आएका धारणाले नेपालको राजनितिक शक्ति सन्तुलनमा प्रशस्त फेरबदलको संकेत गरेका छन् । त्यो फेरबदल रोक्न वा त्यसलाई सक्दो प्रतिगमनतर्फ धकेल्न देशी विदेशी शक्ति पटक्कै लागेका छैनन् होला भनेर ग्यारेण्टी गर्न सकिँदैन ।

यति कुरा भनिसकेपछि अन्त्यमा राष्ट्रपति पदका बारेमा अलिकति कुरा राखेर बिट मार्नु राम्रो हुन्छ ।

कामका हिसाबले, अथवा राष्ट्रप्रमुखका हिसाबले राजा र राष्ट्रपतिका केही समान दायित्व होलान् । तर, यसको गठन र अवकाशका हिसाबले चाहिँ ठूलो भिन्नता छ । राजा जन्मिनेबित्तिकै र कैयौँ अवस्थामा गर्भमा नै पदधारी हुन्छ । त्यतिमात्र होइन, राजा मृत्यपश्चात् पनि पदधारी नै रहन्छ ।

तर, राष्ट्रपति जुनसुकै जात, धर्म र सम्प्रदायको सामान्य नागरिक पनि बन्नसक्छ र उसको कार्यकाल सकिएपछि ऊ पुनः सामान्य नागरिक नै हुन्छ । पूर्वराष्ट्रपति, उपराष्ट्रपति वा प्रधानमन्त्रीलाई राजा ठान्नु हुँदैन । गणतन्त्रमा हरेकका आ-आफ्ना जिम्मेवारी होलान्, तर हरेक मान्छे पदधारी होस् वा नहोस्, सबै सामान्य र बराबर हुन् ।

त्यस्तो सामान्य नागरिक, जो हिजो राष्ट्रपति थियो, जसलाई आफ्नो काममा पुनः फर्किने अधिकार रहन्छ । त्यही प्राकृतिक अधिकार विद्याले एमाले प्रवेशका क्रममा प्रयोग गरेकी हुन् । यस सन्दर्भमा धेरै हाहाकार गर्न जरुरी छैन ।

हालै ब्रिटिसका पूर्वप्रधानमन्त्री ऋषि सुनक पनि बैंकको जागिरमा फर्किएका छन् । त्यहाँ त हाहाकार भएन । गणतन्त्रको सामान्य नियम नबुझ्ने गणतन्त्रका मालिकबाट शासित हुनपर्ने यो अभिशप्तबाट उम्कन उनीहरुका स्वार्थलाई आमजनताले बुझ्नु पर्छ । यो नै सही बाटो हो ।

(लेखक नेकपा एसका प्रचार विभाग उपप्रमुख हुन् ।)

Comments

4 responses to “एमालेमा विद्याको पुनरागमनबाट आत्तिएका शक्तिहरू को-को हुन् ?”

  1. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    लोकतान्त्रिक गणतन्त्रमा प्रतिवम्ब को हो? लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन उसका भूमिकाहरू के के हुन्छन्? यसका लागि को बढी जिम्मेवार हुनुपर्छ? निष्कर्षमा पुग्नु अघि उत्तर थाहा पाउनु पर्छ कि! तर दासहरूको हिजो र आजको बोली र व्यवहार कस्तो?

  2. samir Avatar
    samir

    एउटै व्यक्ति आजिवन राजनीति ओगटनुपर्ने?😡

  3. ksp pyl Avatar
    ksp pyl

    ओलिलाई चाहिँ ७० को उमेरहद, दुईपटक कार्यकालको नियम लगाउनु पर्छ रे । अनि आफू दुई पटक देशको सर्वोच्च पदमा त्यहि पार्टीबाट पुगिसकेपछि पनि फेरि वडा सदस्य भए पनि खान आउन पाउनु पर्छ रे । यस्ता अनैतिक कुरा गर्नेको पक्षमा लेख्ने लेखक चाहिँ कुन नैतिकताका होलान ? खान पाए जे पनि लेख्छन् ।यस्ता लेख कसले हेर्ने र पत्याउने ? यिसँग धेरै वादविवाद नगरिकन यस्ता कुराको पछि लाग्ने सबैलाई भिम रावल बनाईदिनुपर्छ ।

  4. Yubaraj Karki Avatar
    Yubaraj Karki

    तपाईंको विश्लेषण राम्रो लाग्याे।धन्यवाद दामोदर जी

Leave a Reply

Your email address will not be published. Required fields are marked *