एमालेका ‘केही नेता’ लाई शंकरको प्रश्न- विधानबाट त्यो दफा आफैँ हटाउने, अहिले थाहा छैन भन्ने ? (भिडियो)

काठमाडौं । पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण गरेर फेरि पार्टी काममा फर्किने भनेपछि राष्ट्रिय राजनीतिमै एक किसिमको हलचल मच्चिएको छ । तर, एमाले महासचिव शंकर पोखरेलले पार्टीभित्र त्यो विषय कुनै एजेण्डा नबनेको बताएका छन् ।

नेपाल प्रेसको नेपाल टकमा महासचिव पोखरेलले आसन्न विधान महाधिवेशनमा १० औँ महाधिवेशनका प्रतिनिधीमात्रै सहभागी हुने परिभाषित व्यवस्था भएकाले मनोनीत गर्ने अवस्था नरहेको बताए । यो व्यवस्थाले पार्टी सदस्यता नवीकरण गरे पूर्वराष्ट्रपतिलाई उक्त महाधिवेशनमा प्रतिनिधीका हैसियतले सहभागी हुने बाटो बन्द रहेको प्रष्ट भएको छ ।

महासचिव पोखरेलका म’ख्यम’ख्य भनाइ यस्ता थिए ।

विधानबाट छेक्ने कुरा

मैले के भन्या’थिएँ भन्दाखेरि, गणतन्त्रमाथि प्रहार भैरा’ख्या छ, पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिहरु गणतन्त्रका सिम्बोल (प्रतीक) हुन् । उनीहरुले गणतन्त्रको रक्षामा भूमिका खेल्नुपर्दछ भन्ने विषयमा पार्टीले भन्न सक्नुपर्दछ । त्यो पार्टीको कर्तव्य हो भन्ने कुरा गरेको थिएँ । अब राजनीतिमा आउने नआउने विषय सम्बन्धित व्यक्तिको हो, हामीले किन भनिरहने ? भन्ने विचार प्रकट भयो । त्यो विचार प्रकट भएको कुरा पनि आफ्नो ठाउँमा छ । तर, हामी त्यो विषयमा अहिले छलफल नगरौँ भन्ने कुरा पार्टी अध्यक्षले नै आफैँ राख्नुभयो । उहाँले के भन्नुभयो भने, ‘अहिले पूर्वराष्ट्रपति आफैँले म राजनीतिमा आउँछु भनेर भनिसक्नु भा’छैन भने अब हामीले त्यो विषयमा किन छलफल गर्ने ? जतिबेला भन्नुहोला त्यतिबेला छलफल गरौँला ।’

त्यस अर्थमा छलफल नै भएन । छलफल नभएको विषयलाई अब एक प्रकारले अतिरञ्जनापूर्ण ढंगले समाचार बनाउने काम भयो, ‘विधान बनाएर छेक्न खोज्यो’ भन्ने अर्थमा । त्योचाहिँ गलत कुरा हो ।

विधानको विवाद र यथार्थ

उमेरहदको विषयमा पार्टीको पोजिसन के हो भन्ने कुरा अन्योलताको विषय बन्यो । त्यस्तो अवपस्थामा पार्टीको ओपेनियन जे हो, त्यो कुरा मैले बताइदिनुपथ्र्यो ।

विधान महाधिवेशनबाट पारित भएको विधानलाई राष्ट्रिय महाधिवेशनले परिवर्तन गरेको कुरा मैले बताएँ । सप्रसंग बताएँ,अर्थात्, राष्ट्रिय महाधिवेशन हुनुपूर्व केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधानमा संशोधन गर्नु आवश्यक छ भन्नुभयो । विषय के थियो भने, पार्टीसम्बन्धी कानुनले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ । अर्काेतिर हामीले आठौँ महाधिवेशनदेखि नै समावेशीतालाई आत्मसात गर्दै आयौँ । त्यो परिपे्रक्ष्यमा हामीले निर्धारण गरेको संख्या र अहिले भइरहेको कमिटीका नेताको व्यवस्थापनमा अपर्याप्त हुने भयो । कमिटीको आकार बढाउनुपर्ने भयो भनेर प्रस्ताव ल्याउनुभयो ।

विधान अधिवेशनमा हामीले २२५ सदस्य केन्द्रीय कमिटी भनेर पास गरेका थियौँ । पछि त्यसलाई बढाएर ३०१ बनायौँ । दोस्रो विषय, हामीले १५ सदस्यीय पदाधिकारी बनाउने भनेका थियौँ, विधान महाधिवेशनमा । अन्तरसंघर्षबाट टाढिनुभएका साथीहरु जोडिने क्रम जारी थियो । कतिपय साथीहरु जोडिनु भएको थियो । उहाँहरुलाई पुनः व्यवस्थापन गर्नुपर्ने भएको हुनाले १५ जना पदाधिकारीले व्यवस्थापनमा समस्या उत्पन्न हुने भयो । त्यसलाई १९ बनाऔँ भन्ने कुरा भयो ।

तेस्रो कुरा, हामीले आयोगको संख्या १५ मात्रै बनाऔँ भन्ने थिया । आयोगको संख्या बढाउनुपर्ने भयो भनेर २५ बनायौँ ।

दुई कार्यकालको विषयचाहिँ कसरी त्यहाँ लेखिन गएछ भने, लगातार दुईपटक उम्मेद्वार हुन नपाउने भन्ने टाइपको भाषा रहेछ । हामीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पुनः सर्वसम्मत रुपमा स्वीकार गरिसकेका थियौँ । उहाँ आठौँ महाधिवेशनमा पनि उम्मेद्वार भएको, नवौँमा अध्यक्ष नै भएको भन्दाखेरि दुई कार्यकाल लगातार उम्मेद्वार बन्न नपाउने कुराले समस्या हुने थियो ।

विधान महाधिवेशनबाट पारित भएअनुसार ‘दुई कार्यकाल’ को भाषाले जसलाई हामी अध्यक्ष बनाउन खोजेको छौ, त्यसैलाई बनाउन छेक्ने खालको भाषा रहेछ । संशोधन गर्नुपर्ने भयो भन्ने कुरा भयो । हामीले संशोधन ग¥यौंँ ।

त्यो संशोधन प्रस्ताव (दुई कार्यकालको) केन्द्रीय कमिटीका तर्फबाट राष्ट्रिय महाधिवेशनको बैठकको पहिलो एजेन्डा बनाएर सर्वसम्मत रुपमा पारित गरेर हटाइयो ।यो सबै विषय त केन्द्रीय कमिटीका सदस्य र महाधिवेशनका प्रतिनिधिले होइन भन्न मिल्दैनन् ।

जो–जो केन्द्रीय कमिटीका सदस्य हुनुहुन्थ्यो, बैठक बसेर प्रस्ताव तयार गर्नुभयो, जो–जो महाधिवेशनका प्रतिनिधि हुनुहुन्थ्यो, जसले सर्वसम्मत रुपमा पारित गर्नुभयो, उहाँहरुले यो कुराचाहिँ यस्तो भा’थियो, यस्तो गरियो भन्न मिल्छ र ?

कतिपय साथीहरुको तर्क छ, छाप्ने बेलामा चाहिँ हेराफेरी गरियो, छेडखानी भयो भन्ने । त्यसको उदाहरण म के दिन्छु भने, त्यही महाधिवेशनबाट डा. पुष्प कँडेल तेस्रो कार्यकालको लेखा आयोगको अध्यक्ष हुनुभयो । छेडखानी भएको भए पुष्प कँडेल तेस्रो कार्यकालको अध्यक्ष बन्न पाउनुहुन्थ्यो ? विधानले रोक्दैन थियो ? यस्तो प्रकारको नचाहिँदो कुरा पार्टीको हितका विरुद्धमा नेताहरुले बोल्नुहँुदैन भन्ने कुरा गर्नु मेरो कर्तव्य होइन र ?

कांग्रेसमार्फत सन्देश दिएको हो ?

(कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारबाट पूर्वराष्ट्रपति राजनीतिमा आउनुहुँदैन भनेको सन्दर्भमा) नेपाली कांग्रेसको बैठकमा के भयो भन्ने सन्दर्भमा उहाँहरुले कांग्रेसभित्रको कुराको प्रसंग राख्नुभयो र त्यही प्रसंगहरु बाहिर चर्चामा आयो । उहाँहरुका कुरा बाहिर आएकै छन् । त्यही कुरा उहाँहरुले त्यहाँ राख्नुभयो । कांग्रेसका नेताहरुको सार के थियो भने, ‘अब नेपाली सेनाको परामाधीपति भइकेको व्यक्ति राजनीतिमा आउने कुरा उचित हँुदैन भन्ने राय हाम्रा धेरै सदस्यको रह्यो ।’ नेकपा (एमाले) ले यस विषयमा ध्यान दिनुपर्छ भन्नेखालको कुरा थियो ।

उहाँहरुले आफ्नो राय दिएजस्तो लाग्दैन । नेपाली कांग्रेसभित्र यस्तो विचार आयो, यो कुरामा अब नेकपा (एमाले) ले ध्यान दिन्छ होला, हाम्रा साथीहरुको कुरा यस्तो छ भन्नुभयो । आफ्नो कुरा गर्नु भएन ।

के एमालेका लागि अरुले बोलिदिनुपर्ने आवश्यकता छ ? एमाले आफ्ना लागि आफैँ बोल्नसक्छ नि । एमाले त्यस्तो भइस’क्या हो ? अरुले बोल्दिनुपर्ने ? त्यस्तो लाग्दैन मलाई । समाजमा विभिन्न विषयमा बहस चल्छन् । समाजमा चल्ने बहसका बारेमा पार्टी जवाफदेही हुनुपर्छ भन्ने छैन । पार्टीभित्र फलानाले यस्तो विचार राख्यो भनेर अर्काले बोल्ने कुरा उचित हुँदैन । विचार जसले राख्छ, त्यही विचार सम्प्रेषण भैहाल्छ नि ।

नेतृत्वको बहस जुन बेला गर्ने हो त्यही बेलामा गर्नुपर्छ

अहिले विधान अधिवेशनको तयारीका सन्दर्भमा पार्टीपंक्तिलाई के भन्ने गरेको छु भने, ‘जतिबेला जे काम गरिन्छ, त्यसमै केन्द्रित हुनुपर्छ ।’ अब बेला नआइकन चर्चा परिचर्चा गर्नेखालको कुरा उचित हँुदैन ।

किनकि, हामीले त पार्टीभित्र नीति र नेतृत्वको प्रश्नलाई एकैचोटि राख्दा गञ्जागोल हुँदोरहेछ । जे कुरामा केन्द्रित हुनुपर्ने हो, त्यो कुरामा केन्द्रित हुन सकिँदो रहेछ भन्ने कुराको संश्लेषण गरेर दशौँ महाधिवेशनपछाडी हामीले दुई फरक महाधिवेशन गर्ने अवधारणालाई स्वीकार ग¥यौँ । यद्यपि, त्यो अवधारणा नवौँ महाधिवेशनमै अगाडि आइसकेका थियो । तर, दशौँ महाधिवेशन प्रयोग गर्यौँ ।

विधि र नीतिका लागि विधान महाधिवेशन, नेतृत्वका लागि राष्ट्रिय महाधिवेशन बन्ने अवधारणा प्रयोग गरिसक्यौँ । अहिले हामी विधान महाधिवेशनमा जाँदैछौँ, जुन महाधिवेशनमा नेतृत्वको विषयमा चर्चा नै हुदैन । त्यहाँ विधानको कुरा हुन्छ । त्यहाँ संगठनात्मक कामको समीक्षाको कुरा हुन्छ । त्यहाँ राजनीतिक कार्यदिशाको कुरा हुन्छ । राजनीतिक प्रतिवेदनको कुरा हुन्छ । त्यस अर्थमा जतिबेला जे काम गर्नुपर्ने हो, पार्टीपंक्ति त्यसैमा केन्द्रित रह्यो भने स्वाभाविक रुपमा पार्टीले उपलब्धि हासिल गर्दछ । होइन, बरालिन थाल्यो भने त्यो पार्टीले प्रगति गर्न सक्दैन । त्यसअर्थमा मलाई लाग्दछ, पछिल्लो समय पार्टी कार्यालयका तर्फबाट मैले कार्यकर्ताका बीचमा भर्चुअल र प्रत्यक्ष मिटिङका माध्यमबाट पार्टीपंक्तिलाई जसरी अनुरोध गरेको छु, पार्टीपंक्ति त्यसका लागि तयार भएको बुुझेको छु ।

विद्या भण्डारीले आउनेबाहेक केही भन्नुभएन

उहाँ (पूर्वराष्ट्रपति) ले मेरो केही, कुनै आकांक्षा (विशिष्ट आकांक्षा) छैन भन्नु भा’छ ।

उहाँले जे भन्नु भा’छ, त्यही कुरा राख्नुभयो भने सत्य कुरा हुन्छ । विद्या भण्डारीले म एमाले आन्दोलनबाट हुर्केको हुँ, एमाले आन्दोलनमा जोडिएँ भनेर भन्नुभयो । तर, मेरो कुनै आकांक्षा छैन भन्नुभएको छ । उहाँले सदस्यता नवीकरण गरेको असार १४ गते होइन नि त । एक वर्ष पहिले नै हो नि । उहाँले घोषणा त्यो दिन गर्नुभयो । त्यसअर्थमा एक वर्ष पहिले नवीकरण गर्दा के भयो ? केही पनि भएको छैन नि । आन्तरिक रुपमा हामीलाई जानकारी भएको विषय थियो, त्यसलाई असार १४ गते सार्वजनिक गर्नुभयो ।

ओली–भण्डारी भेटबारे

न पूर्वराष्ट्रपतिले त्यो कुरा बाहिर ल्याउनुभएको छ । न अध्यक्षले बाहिर ल्याउनुभएको छ । यो खेतिपाती किन गर्नु र हामीले ? न हामीसँगको भेटमा भन्न भएको छ ।

भन्नु नै भएको छ भने पनि तपाईं–हामी बढी जान्ने भएर अरु व्यक्तिका बारेमा के छलफल भयो भनेर हामीले बनाइएर चर्चा गर्नु कुनै उचित कुरा हो ?

ईश्वर पोखरेलको भनाइ र ओलीसँग प्रतिस्पर्धा

मलाई त्यस्तो लाग्दैन, न उहाँ (वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल) ले त्यो भन्नु भा’छ, न मलाई त्यस्तो लादछ । भन्दै नभनेको कुरामा हामी किन बहस गर्ने ? वरिष्ठले पनि भन्नुभएको छैन । वरिष्ठलाई जोडेर फेरि किन चर्चा गर्नु ? वरिष्ठले भनेको भाषा पनि त बाहिर आएकै छ त । बरिष्ठ उपाध्यक्षले पनि ठ्याक्कै ‘विद्या’ भनेर अध्यक्षको उम्मेद्वार उठाउँछौ भन्नुभएको छैन । पार्टीमा उहाँलाई के जिम्मेवारी दिने भन्नुभएको हो । पार्टीको विषय हो भन्नु भा’छ । त्यो त पार्टीको विषय त होला नि त । वरिष्ठ उपाध्यक्षले भनेपछि हुँदैन र ? उहाँले जे भन्नुभएको छ, त्यतिमात्र बुझौँ न । बढी किन बुझ्ने ?

महाधिवेशन र विद्याको दाबी

अहिले हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । हामी विधान महाधिवेशनमा जाँदैछौँ, उहाँकै नेतृत्वमा । उहाँकै नेतृत्वमा हामी नीति, विधि र थिति बसाल्छौँ । त्यसमा कुनै प्रकारको विमति नै छैन । नीति, थिति र विधि बनाइसकेपछि स्वाभाविक रुपमा हामी राष्ट्रिय महाधिवेशनमा प्रवेश गर्छौं । राष्ट्रिय महाधिवेशनले नेतृत्वको प्रश्नमा छलफल गर्ला । के गर्ने भन्ने विषय त महाधिवेशनमा उठाउन पाइयो नि त । इच्छा प्रकट गर्न पनि पाइया,े विषय उठाउन पनि पाइयो । त्यस अर्थमा भोलि उठ्ने विषयका बारेमा आज छलफल किन गर्ने ?

त्यतिबेला नेतृत्वका सन्दर्भमा के गर्ने कसो गर्ने त महाधिवेशनका प्रतिनिधिको अधिकारको कुरा हो । त्यो अधिकार अहिले हामी दुई जना बसेर किन खोस्ने ?

०००

सरकारको नेतृत्व र मन्त्रिपरिषद् पुनर्गठन एकैचोटि

हामीले के सहमति गरेका छौँ भने, अहिले जुन मन्त्रालय एमालेसँग छन्, अबको पुनर्गठनमा ती कांग्रेससँग रहनेछन् । कांग्रेससँग रहेका मन्त्रालय एमालेतिर आउनेछन् । यसका लागि एक वर्ष पर्खिनुपर्छ । होइन, सरकारले आन्तरिक समीक्षा गरेर कुनै मन्त्रीको कार्यसम्पादनमा समस्या देखियो भने प्रधानमन्त्रीले चाहेका बखत हेरफेर गर्न सक्नुहुन्छ । यो हाम्रो संवैधानिक व्यवस्था हो । तर, संयुक्त सरकार भएका नाताले सम्बन्धित पार्टीले पनि चाह्यो भने हुनसक्ने कुरा भयो । अहिले न कुनै पार्टीका तर्फबाट न, प्रधानमन्त्रीका तर्फबाट हेरफेरका सन्दर्भमा कुनै चर्चा परिचर्चा भइरहेको छैन । भइरहेका मन्त्री अर्को वर्ष यहीबेलासम्म हुन्छन् भन्ने बुझ्नुपर्यो ।

फेरि यो हेरफेरको विषय बहस गरेर गर्ने नै होइन । प्रधानमन्त्रीले जुन दिन हेरफेर गर्नुपर्ने हुन्छ, त्यही दिन गर्नुपर्छ । त्योभन्दा पहिले हेरफेरको चर्चा नै गर्नुहँुदैन । किनकि, हेरफेरको चर्चा गर्नेबित्तिकै त्यो मन्त्रीले गर्नुपर्ने कार्य सम्पादन प्रभावित भैहाल्छ । व्युरोक्रेसीले काम गर्नै छोडिहाल्छ । त्यस्तो अवस्थामा हेरेफेरसम्बन्धी छलफल, त्यो पनि मिडियामा

गर्ने त मूर्खतापूर्ण काम होजस्तो लाग्छ ।

 

 

Comments

2 responses to “एमालेका ‘केही नेता’ लाई शंकरको प्रश्न- विधानबाट त्यो दफा आफैँ हटाउने, अहिले थाहा छैन भन्ने ? (भिडियो)”

  1. ksp pyl Avatar
    ksp pyl

    ओलि हुँदा पत्रकारका दलाली पनि बन्द हुन्छन् ।दलाली बन्द भएकाले ओलि घाँडो हुने नै भए । त्यसैले सरकार परिवर्तनको हल्ला, विद्यालाई ओलिको प्रतिस्पर्धी भन्ने हल्ला पत्रकारले स्वार्थको लागि चलाउँछन् । यो अन्तरसम्वादमा पनि पत्रकारको प्रश्न र वौद्विकस्तर अनि जवाफकर्ताको जवाफमा आकाश पातालको भिन्नता छ । पत्रकारको प्रश्नले ओलिलाई घाँडोको रूपमा बुझेको स्पष्ट हुन्छ ।

  2. ksp payl Avatar
    ksp payl

    हिजो विद्या भण्डारीले ईमेज च्यानललाई दिएको अन्तर्वार्ता हेर्दा आफूलाई एमाले भन्नेहरूलाई पनि लाज लाग्यो होला । कतिसम्म लाज नभएका मान्छे पनि हुने रहेछन् । ओलि चाहिँ दोहोरिनुहुन्न रे अनि आफू दुई पटक राष्ट्रपति भएको मान्छे वडा सदस्य भए पनि खान आउनु पर्छ रे । पार्टीमा भुक्म्पै आए पनि पुर्व राष्ट्रपति, उपराष्ट्रपति र न्यायाधिश भएकोलाई पार्टी सदस्यता नै रोक्ने गरि विधान संशोधन होस् । अनि कहाँको ओलि कहाँको विद्या । तुलनै हुँदैन । ओलिले सक्नेबेलासम्म ओलि नै अध्यक्ष हुनुपर्छ । ओलि त देशका महान नेता हुन् नि । किन नचिनेको ? बहुप्रतिभशाली, सम्वृध्दि र स्वाभिमानका नायक हुन् नि । अर्को कुरा महाअधिवेशन नै नआई नेतृत्वको बहस मिडियामा चलाउने विद्यालाई कारवाही होस् । कारवाही पनि सदस्यता दिईसकेको भए सदस्यता खारेज गरेर र नदिएको भए कहिल्यै सदस्यता नदिने गरेर। र को एजेण्ट पो हो कि रावल जस्तै । अर्की एउटीले ६ महिने कारवाही फुकुवा भएपछि फेरि अण्टसण्ट बोल्न थालिछे । अध्यक्षका बायाँ बस्ने भूईमान्छे नचिनेका रे । कति न आफू भूईमान्छेसँग मात्र बसेको जस्तो । अहिले पार्टी बिगार्न पार्टी विरोधीहरू भेटने, तिनका पैसा खाने अनि भूई मान्छेका कुरा गर्ने ? रिमालजस्तो देश बनाउने योजनाकार हुन नसकेर रिस गरेर हुन्छ ? फेरि निलम्बन ठोकिदेउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *