रुपन्देही। आजबाट बौद्ध भिक्षुहरुको वार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । असाढ पूर्णिमादेखि तीन महिनासम्म चल्ने वर्षबासको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरे ।
राजकीय बिहारमा लुम्बिनी बौद्ध महिला समितिको आयोजनामा तथा लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी होटल संघको सहकार्यमा वर्षबास कार्यक्रम सञ्चालन हुनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री चौधरीले लुम्बिनीलाई विश्वशान्तिको मुहानका रूपमा स्थापित गर्न यस्ता धार्मिक गतिविधिहरू प्रभावकारी भएको बताउँदै बौद्ध परम्पराको संरक्षण, प्रवर्द्धन र लुम्बिनी क्षेत्रको समग्र विकासका लागि सधैं प्रतिबद्ध रहेको बताए ।
राजकीय बुद्ध बिहारका प्रमुख भिक्षु सागर धम्मले वर्षावास परम्पराको ऐतिहासिक महत्त्व, ध्यान र साधनाको अवसरका रूपमा यसको भूमिका र लुम्बिनीजस्तो पवित्र स्थलमा यसलाई निरन्तरता दिनु गौरवको विषय भएको उल्लेख गरे ।
कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान, उपप्रमुख कल्पना हरिजन, राजकीय बुद्ध बिहारका प्रमुख भिक्षु सागर धम्म, स्थानीय जनप्रतिनिधिहरू, बौद्ध संघ९संस्थाका प्रतिनिधिहरू, भिक्षुभिक्षुणी तथा देशविदेशका श्रद्धालु भक्तजनहरूको सक्रिय सहभागिता रहेको थियो ।
वर्षबास भनेको बौद्ध भिक्षु भिक्षु हरूले वर्षायामका तीन महिनासम्म एउटै विहार (गुम्बा) मा बसेर ध्यान, अध्ययन र चिन्तन मनन गर्ने परम्परा हो । भगवान बुद्धले प्रतिपादन गरेको २२७ विनयमध्ये वर्षबास पनि एक हो ।


Leave a Reply