काठमाडौं । नेपाली खेलाडीको प्रशिक्षण प्रविधिमैत्री बनाउन ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याब’ सञ्चालनमा आएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण गरिएको उक्त सेन्टरको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।
७५७८ स्क्वायर फिट क्षेत्रफलमा फेलिएको सेन्टरमा १०० जनासम्म खेलाडीले एकैपटक प्रशिक्षण गर्न सक्ने छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षकसमेत रहेका प्रधानमन्त्रीले त्यहाँ जडान गरिएका प्रविधिको पनि जानकारी लिएका छन् ।
सेन्टर सञ्चालनपश्चात ठूला र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले सुधारिएको प्रदर्शन गर्ने आशा गरिएको छ । अब खेलाडीको प्रशिक्षणदेखि लिएर छनोट प्रक्रियासम्ममा सहयोग पुग्ने राखेपले जनाएको छ । सेन्टरमा जडित अध्याधुनिक प्रविधिले खेलाडीका कमजोरी पत्ता लगाउन मद्दत पुग्ने बताइएको छ ।

हाई पर्फमेन्स सेन्टरमा एक्स बडी मेसिन, फोर्स फ्रेम, फोर्स डेस्क, एसभीटी मेसिन, ईएमजी इक्विपमेन्ट, ल्याक्टिक एसिड एनालाइजर, बीएफआर इक्विपमेन्ट, डाइनामो इक्विपमेन्ट, ह्युमन ट्रयाक इक्विपमेन्ट, भीओटु म्याक्स इक्विपमेन्ट, टाइमिङ गेटलगायतका इक्विपमेन्ट राखिएको छ ।
एक्स बडी मेसिनले खेलाडीको शारीरिक अवस्था र मुभमेन्ट, फोर्स फ्रेमले खेलाडीका शक्ति, एसभीटी मेसिनले दृश्य र जनाउने प्रतिक्रियालगायतको विश्लेषण गर्छ । यस्तै, बीएफआर मेसिनले खेलाडीको शरीरमा रगत प्रवाह, डाइनामो इक्विपमेन्टले हातको शक्ति विश्लेषण गर्न मद्दत पुर्याउँछ ।
सेन्टरमा सुविधासम्पन्न जीमहल पनि राखिएको छ । महिला तथा पुरुष खेलाडीका लागि बाथरूम, चेन्जिङ, लकर, अफिस, स्टोर, थेरापी रूम, स्टिम रूमलगायतका सुविधा पनि उपलब्ध छ ।


Leave a Reply