रामकुमारीलाई लखेटेर ‘दर्शक दीर्घा’ रित्याउन तम्सिएका माधव नेपाल

राजनीतिले मान्छेलाई गतिशील बनाउँछ । त्यो गतिशीलताले मानिस विचारक र संगठक बन्छ । एउटा राम्रो विचारक र संगठकबाट पार्टी र मुलुक नै लाभान्वित हुन्छ । त्यसैले हामी दलीय प्रणालीमा आधारित गणतन्त्रको अभ्यासमा छौँ । यसर्थ कि, देश र जनता बुझेका गतिशील विचारक र संगठकको नेतृत्व त्यहाँ हुन्छ ।

यति लेखेपछि पंक्तिकारलाई गीतकार कालीप्रसाद रिजालको याद आयो, रामकृष्ण ढकालको स्वरमा, ‘यो त सब भन्ने कुरा न हो ।’

रामकुमारी झाँक्रीलाई हेर्दा, सुन्दा र बुझ्दा कालीप्रसादका शब्द प्रतिबिम्बित भए । किनभने, आजको राजनीतिले मानिसलाई क्रियाशील त बनाइरहेको छ । तर, त्यो क्रियाशीलता विचार र संगठन निर्माणमा हैन, दास बनाउनेतर्फ प्रवृत्त छ वा त्यस्तो बनाइएको छ । हो, नेपालको आजको राजनीति, मुख्य दल र नेताहरू राजनीतिलाई दास उत्पादन गर्ने कारखानामा परिणत गर्दैछन् । फलानो नेता वा कार्यकर्ता मेरो दास हुनुपर्छ भन्ने अपेक्षा बोकेको नेतृत्व मुलुकका हरेक दलमा छ । त्यसैले कि दास बन्नुपर्‍यो, हैन भने राजनीतिभन्दा अर्थोकै केही गर्नुपर्‍यो ।

एकचोटि होइन, दुईचोटि होइन, पटक पटक रामकुमारी ‘पड्किरहिन्’, बोलीका छर्राले । मानवीय स्वभाव कस्तो हुन्छ भने, ‘दुःख पाऊँ’ भन्ने कसैलाई पनि लागेको हुँदैन । सुखैसुखमा बाँचौँ भन्ने चाहनु आममानवीय प्रवृत्ति हो । रामकुमारीलाई पनि त्यस्तो लाग्दो हो । तर, एकथोक बोल्छिन् र दुःखै पाउँछिन् ।

बोलेकै कारण भीम रावललाई किनारा पारियो भनिन्छ । तर, एउटा भीम रावल देखाएर सिंगो एमाले र राजनीतिको मूल्यांकन हुँदैन । बोल्नेहरू, विमति जनाउने थुप्रै मानिस एमालेमा आज पनि छन् । बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाहरूले बोलेर स्पष्टीकरण र निलम्बनमात्र खाँदैनन्, कुरा बुझाएपछि फुकुवामा पनि पर्छन् ।

उनी अहिले पंक्तिकारकी हितैषी मित्र हुन् । कुनै बेला ‘लभ एण्ड हेट’ (प्रेम र घृणा बराबरी) को सम्बन्ध थियो । अझ त्योभन्दा अगाडि उनी पत्रकारितामा इन्टर्न गर्न आइन् र एउटै न्युज रूममा टहलिने साथी भइन् । उनी पनि पंक्तिकारजस्तै ०४६ सालको जनआन्दोलनताका यो चेतनामा प्रवाहित भएकी हुन् । थाहा छैन, भोलि कस्तो हुन्छ । तर, आजसम्म देखेको रामकुमारीलाई अलिकति लेख्न खोजेको छु ।

पत्रकारितको एउटा सूत्र हुन्छ, ‘फाइभ डब्ल्यु वन एच ।’ यो नर्सरी कक्षामा ‘ए, बी, सी, डी’ भनेजस्तै हो । अरुको जस्तै पत्रकारिताको नशा पनि कस्तो हुन्छ भने कुनै दिन एउटा पत्रकारले ‘फाइभ डब्ल्यु वन एच’ भित्र बसेर समाचार लेख्दा आफ्नैविरुद्ध लेखेछ भने पनि अनौठो हुँदैन । किनभने, पत्रकारितामा व्यक्ति हैन, ब्रम्ह बोल्छ भन्ने मान्यता राखिन्छ । ‘ब्रम्ह’ भनेको आत्मा, अर्थात् सत्य हो ।

रामकुमारी झाँक्रीले जे बुझेर राजनीति गरिन्, अर्थात् जे कुरालाई उनले ‘सूत्र’ वा ‘गुरु मन्त्र’ मानेर यो जीवनमा अभ्यस्त भइन्, त्यसले उनलाई ‘दास बनेर हिँड’ भनेन । त्यस्तो मान्छेले कुनै दिन आफैँसँग चित्त बुझेन भने खुला-खुलस्त ‘मभन्दा खराब अरु कोही छैन’ सम्म भन्छ । अरुका त कुरै छाडौँ ।

०४६ सालको जनआन्दोलनको एजेण्ड पञ्चायत र राजा ढाल्नेमात्रै थिएन । विचार अभिव्यक्तिको स्वतन्त्रता त्यसको अर्को महत्वपूर्ण एजेण्डा थियो । त्यसैले हामी वर्षेनी चैत ३ गते प्रज्ञा भवनअघिल्तिर श्रष्टाहरू मुखमा कालोपट्टी बाँधेर पञ्चायतको विरोधमा टुक्रुक्क बसेको दिनलाई सम्झिन्छौँ । हो, प्रजातन्त्र या लोकतन्त्र, जे भनौँ, त्यहाँ बोल्न पाइन्छ । बोल्नुपर्छ । सत्यको पक्षधर हुनुपर्छ । सत्यभन्दा माथि अरु केही हुँदैन ।

यति कुरा बुझेपछि मान्छे बोल्न डराउँदैन । दुःखमात्रै हैन, दुःखभन्दा माथि अर्को केही छ भने त्यसको पनि पर्वाह गर्दैन । पद त के हो र ? जिन्दगी नै खोसिन्छ भने पनि बोल्न छाडिन्नँ भन्ने मनस्थितिबाट प्रवृत्त मानिसभित्र रामकुमारी पर्छिन् ।

हात समातेदेखि सिनो भनेकोसम्म

माधवकुमार नेपाल अलिक पहिल्यै पार्टी फुटाउन तयार थिए । २०७७ भदौ ९ गते पनि अहिल्यै दर्ता नगरौँ, केही दिन पर्खिनुपर्छ भन्दै थिए । पार्टी फुटाउन ढिलाई हुँदा मान्छेहरू एमालेतिर फर्किने क्रम बढेको बेला अझ ढिलो गर्दा पार्टी नै नबन्ला भन्ने खतरा थियो ।

माधवका सम्धी नाताका नेता सोमप्रसाद पाण्डेहरूले ‘अहिल्यै नजानुस्’ भन्दाभन्दै नयाँ बानेश्वरस्थित होटल अर्यालमा केही नेताले एक किसिमको जबरजस्त नै गरेर उनलाई गाडीभित्र हालिदिए । त्यो गाडी निर्वाचन आयोग पुग्यो । रामकुमारी पहिल्यै पुगेकी थिइन् । कार्यालय समय सकिनै लागेको थियो । माधव नेपालको घुँडाको हड्डी खिइएको कारण उनी सजिलोसँग छिटो हिँड्न, भर्‍याङ उक्लिन् वा ओर्लिन सक्दैनन् । त्यसैले छिटोका निम्ति रामकुमारीले हात समाइन् । भित्र लगेर माधवको साथमा रहेको दल दर्ताको निवेदन दर्ता गराइन् । केही दिनपछि सनाखत भएर प्रमाणपत्र जारी भयो ।

तर, माधवले रामकुमारीका गुनहरू सम्झिरहेनन् । लगत्तै उनलाई मन्त्री त बनाए । सँगसँगै उनीविरुद्ध सुराकी पनि खटाए । रामकुमारीचाहिँ स्वभावजन्य शैलीमा बोलिरहिन् । बोल्दा को खुशी होला, को दुःखी होला भनेर हैन, जे बुझेर, जुन चेतना बोकेर उनी राजनीति गर्दै थिइन्, त्यही सम्झिएर बोलिरहिन् ।

गत वर्ष सम्पन्न नेकपा एसको महाधिवेशनको हलबाट निर्वाचित ९३ सदस्यीय केन्द्रीय कमिटीमा त उनी परिन् । तर, पदाधिकारी छान्नका लागि मनोनित गरिएका केन्द्रीय सदस्यलाई मतदाता बनाएर भएको निर्वाचनमा उनी माधवकै निर्देशनबमोजिम हराउनुपर्ने सूचीमा परिन् । हारिन् पनि ।

त्यसपछि पनि पार्टीमै रहिन् । जबकी उनैले ६ महिनापहिले पार्टीमा रहने कि नरहने भन्ने प्रश्न गरिँदा ‘महाधिवशेन हेर्छु’ भनेकी थिइन् । महाधिवेशन भयो । उनले मात्रै हेरिनन्, उनीमाथि जेजस्ता बर-व्यवहार भए, त्यो दुनियाँले हेर्‍यो ।

माधवले कोटरीका मान्छेलाई केन्द्रीय सदस्य बनाउने र तिनलाई मतदाता बनाएर पदाधिकारी छान्दा रामकुमारी हार्ने । यो कुरा आफैँमा एउटा ठट्टाजस्तो थियो । पंक्तिकारलाई लागेको थिएन कि, रामकुमारी यत्रो अपमान सहेर पार्टीमै रहलिन् । बरु, पंक्तिकारले त्यो छाडेर, एमालेमा ‘पुरानो’ भइसक्दा पनि उनी त्यहीँ रहिन् ।

पछिल्ला दिनमा रामकुमारी किन माधवका पछि चाहिनेभन्दा बढी नै लागिन् भनेर समाजवादीहरू छक्क परिरहेका थिए । छक्क पर्नेहरूलाई फेरि उनले असार १४ गते छक्क पारिन्, अर्ली महाधिवेशन र सिनो बोकेर हिँड्न नसकिने कुराबाट ।

माधवचाहिँ कतिसम्मका ईखालु भने, एउटा घटनालाई उदाहरण मान्न सकिन्छ ।

२०८० भदौमा मेची-महाकाली जागरण अभियान थियो । उनी झापादेखि कपिलवस्तुसम्म पुगेर काठमडौं फर्किइन् । फेरि टीकापुरबाट कैलाली कञ्चनपुर भ्याएर सुर्खेतको समापनबाट काठमाडौं फर्किइन् ।

कपिलवस्तुको चन्द्रौटा बजारमा कोणसभा थियो । सबै नेता सडकमै थिए । पश्चिमबाट काठमाडौं हिँडेको एउटा नाइट बस कोणसभा भइरहेको ठाउँअगाडि रोकियो । भएभरका प्यासेन्जर ओर्लिएर रामकुमारीसँग फोटो खिचाए । त्यत्रा मान्छेले रामकुमारीसँग फोटो र सेल्फी खिच्दा त्यहीँ रहेका माधव नेपाललाई कसैले वास्तै गरिदिएन । किनभने, ती मान्छे गाडीबाट रामकुमारीलाई देखेर ओर्लिएका थिए, माधवलाई हैन ।

यो घटना भएको चार दिनपछि धनगढी बजारमा अभियानअन्तर्गतकै कोणसभा थियो । रामकुमारी अघिल्लो दिन नै धनगढी ओर्लिएको प्रचार होस् भन्नका लागि पंक्तिकार अध्यक्ष रहेको प्रेस संगठनले विमानस्थलमै पत्रकार सम्मेलन गरेको थियो । रामकुमारीकै नाममा कोणसभा भरिभराऊ भयो । बोल्ने पालो आएपछि उद्घोषकले रामकुमारीको नाम उच्चरण गरिसकेका थिए, तर माधव जुरुक्क उठेर सच्याउन लगाए । अनि, जयन्ती राईलाई बोल्न भने । जयन्ती बोल्न थालिन्, तर दर्शकदीर्घा खालि भयो ।

आज पनि माधव नेपाल रामकुमारीलाई पार्टीबाट लखेटेर ‘दर्शकदीर्घा’ रित्याउन तम्सिएका छन् ।

असार १४ गते बुटवलमा ‘अब सिनो बोकेर हिँड्न सकिँदैन’ भन्नुअघिसम्म रामकुमारी पार्टी प्रणालीलाई मानेर माधवकै स्वार्थ पूरा गराउन तल्लिन थिइन् । झलनाथका मान्छे अगाडि बढेको माधवलाई मन परेन । युवा संघका अध्यक्ष कृष्णकुमार विश्वकर्मा र अनेरास्ववियूकी अध्यक्ष आरती लामा त्यताका मानिन्थे । ती दुईलाई हटाउन ‘पार्टीको केन्द्रीय सदस्यसमेत भएको कारण दोहोरो जिम्मेवारी…’ भन्ने सर्कुलर जारी भयो ।

जबकी उपाध्यक्ष जयन्ती राई अनेमसंघको अध्यक्ष, पोलिट्व्युरो सदस्य ताज मियाँ मुस्लिम इत्तेहादको अध्यक्ष हुन हुने, झलनाथको मान्छे भएकै नाममा कृष्ण र आरतीलाई हटाउनुपर्ने माधवको चाहना । विद्यार्थी इञ्चार्ज रामकुमारी हुन् । कम्तिमा रामकुमारीको हातबाट आरती नहटाइए हुन्थ्यो भन्ने सबैले चाहेका थिए । तर, माधवका खातिर रामकुमारीले आरतीलाई निकालिन् ।

पछिल्ला दिनमा रामकुमारी किन माधवका पछि चाहिनेभन्दा बढी नै लागिन् भनेर समाजवादीहरू छक्क परिरहेका थिए । छक्क पर्नेहरूलाई फेरि उनले असार १४ गते छक्क पारिन्, अर्ली महाधिवेशन र सिनो बोकेर हिँड्न नसकिने कुराबाट ।

तर, पंक्तिकार छक्क परेन । किनभने, उनी ‘पोलिटिकल इथिक्स’ ले भरिपूर्ण व्यक्ति हुन् । माधवले जिम्मेवारी छोड्नुपर्ने कुरा उनीभन्दा पहिल्यै झलनाथ खनालसहितका अरु नेताले भनेका थिए । तर, बजारमा रामकुमारीको कुरा बिक्यो, हल्लामात्रै हैन ‘भुइँचालो’ नै गयो । तर, उनले गलत बोलेकी थिइनन् ।

अबको बाटो

एमाले नेता गोकुल बास्कोटाले रामकुमारीको पक्षमा स्ट्याटस लेखेर ‘मुख टालिएको’ भने । जवाफमा एसका नेता सुदेश पराजुलीले तामझामसहित आफ्नो पार्टीमा भित्र्याउन भने । खासमा एमाले रामकुमारीहरूकै पार्टी हो, सुदेशको पनि हो । त्यहाँ कुनै पनि बेला जान सकिन्छ, यदि छुटेको, फुटेको बेला मुख देखाउन लाजलाग्ने काम गरेको छैन भने । त्यसैले यो ठूलो कुरा भएन ।

रामकुमारी सत्य बोल्ने मान्छे हुन्, ‘दास’ का रूपमा लामबद्ध नहुने । खासमा हिजो ओलीको रिसले माधवले पार्टी फुटाउँदा रामकुमारीले माधवलाई साथ दिएकी हुन् । ओलीले रामकुमारीकै केही बिगारिदिएका थिएनन् । उनले संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रममा ओलीको विरोध गरेकी हुन् । त्यसो गर्ने थुप्रै मान्छे हिजैदेखि एमालेमै बसे, माधवको पछि लागेर पार्टी फुटाउन हिँडेनन् ।

रामकुमारीले अबको बाटो के रोज्लिन् ? यो उनको स्वतन्त्रताको कुरा हो । आजको राजनीति नै कस्तो छ भने, न कांग्रेस, न त एमाले वा माओवादी, कतै पनि सबैथोक राम्रो छैन । एमाले निर्माणमा एउटा लामो कालखण्ड बिताएको, थुप्रै साथीसंगी त्यहाँ भएको कारण त्यहाँका कतिपय नराम्रा कुराले तुरुन्तै पोलिहाल्दैन । त्यसैले त्यो बाटो पक्डिँदा उनका निम्ति हितकर होला । तर, मूल प्रश्न भनेको राजनीतिक दलले नेता र कार्यकर्ताभन्दा बढी दास जन्माउने खेती बन्द गर्नु, गराउनु हो ।

रामकुमारी झाँक्रीले जे बुझेर राजनीति गरिन्, अर्थात् जे कुरालाई उनले ‘सूत्र’ वा ‘गुरु मन्त्र’ मानेर यो जीवनमा अभ्यस्त भइन्, त्यसले उनलाई ‘दास बनेर हिँड’ भनेन । त्यस्तो मान्छेले कुनै दिन आफैँसँग चित्त बुझेन भने खुला-खुलस्त ‘मभन्दा खराब अरु कोही छैन’ सम्म भन्छ । अरुका त कुरै छाडौँ ।

रामकुमारीहरू राजनीतिक व्यवस्था बदल्ने लडाइँले जन्माएको नेता, तर आफ्नै अवस्था दुःखमा छ । अब दलहरूभित्र विद्यमान दास चेतना बदल्नुपर्ने छ । यो रामकुमारीको मात्र हैन, सबैको साझा दायित्व हो । जहाँ बोल्न, लेख्न पाइँदैन, त्यहाँ बस्नुहुँदैन । पंक्तिकारले लेखेका कारण पाएको दुःख उनले बोलेका कारण पाएकी छन् ।

एमालेबारे जे-जे भनेर भ्रम फिँजाइएको छ, भित्रबाट हेर्दा त्यस्तो देखिएन । बोलेकै कारण भीम रावललाई किनारा पारियो भनिन्छ । तर, एउटा भीम रावल देखाएर सिंगो एमाले र राजनीतिको मूल्यांकन हुँदैन । बोल्नेहरू, विमति जनाउने थुप्रै मानिस एमालेमा आज पनि छन् । बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाहरूले बोलेर स्पष्टीकरण र निलम्बनमात्र खाँदैनन्, कुरा बुझाएपछि फुकुवामा पनि पर्छन् । माधवको पार्टीमा एमालेमा भन्दा चर्को व्यक्तिवादी छ भन्नलाई अहिले रामकुमारीबारे गरिएका टिप्पणी नै काफी छ ।

त्यसैले, रामकुमारीहरूले बोलिरहनुपर्छ । एमाले, माओवादी, कांग्रेस- जहाँ गए पनि बोल्नुपर्ने र भन्नुपर्ने कुरा बाँकी राख्नुहुँदैन । पार्टी प्रणालीभित्र कतिपय कुरा भित्रमात्रै बोलिन्छ त कतिपय बाहिर पनि । भित्र र बाहिर ख्याल गरेर बोल्नुपर्छ । तसर्थ, रामकुमारी व्यक्तिको कुरा होइन, बोल्ने स्वतन्त्रताको पक्षमा श्रद्धेय दाइ रामेशलाई सम्झिन्छु, ‘आऊ, मिलाऔं हाम्रा हातहरू…।’

Comments

One response to “रामकुमारीलाई लखेटेर ‘दर्शक दीर्घा’ रित्याउन तम्सिएका माधव नेपाल”

  1. शेर सिँह Avatar
    शेर सिँह

    वाह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *