नेकपा एसका उम्मेदवार हार्दा कांग्रेस सभापतिमाथि कारबाही, ३ वर्ष पहिले नै दिइएको थियो जिताउन नसकिने फिराद

विराटनगर । ३ वर्षअघिको चुनावमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको कसुरमा कांग्रेसको अनुशासन समितिले कारबाहीको डण्डा चलाएको नेताहरूको सूचीमा खोटाङका सभापति विष्णु राई पनि परेका छन् । विष्णुमाथि एक वर्षसम्मको निष्कासनले अहिले खोटाङ कांग्रेसमा भाँडभैलो थपिएको छ ।

कोशी प्रदेश समितिका महामन्त्री तथा भौतिक पूर्वाधार तथा योजनामन्त्री भूपेन्द्र राईको दबाबमा सभापतिमाथि कारबाही गरिएको भन्दै विवाद चर्किएको हो ।

७९ को प्रदेशसभा चुनावमा खोटाङमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धन थियो । संघतर्फ माओवादीका रामकुमार राई उम्मेदवार थिए । यस्तै खोटाङ १ (१) मा नेकपा एसका वीरबलकाजी राईलाई अघि सारियो ।

एमालेबाट पाँचकर्ण राई (पीके) राई उम्मेदवार भएका थिए । कांग्रेसकै धर्मराज पोखरेल बागी उठेका थिए । धर्मराज स्थानीय तहको चुनावताका राप्रपाबाट कांग्रेसमा भित्रिएका थिए । बागी उम्मेदवारलाई सहयोग गरेको कसुर सभापति राईमाथि छ ।

यहाँ गठबन्धनलाई हराएर एमालेका पाँचकर्ण राई १३ हजार १५७ मतसहित विजयी भए । नेकपा एसका वीरबल काजी ११ हजार ९५६ मत ल्याए । बागी उठेका धर्मराज पोखरेलले ३१४५ मत पाएका थिए ।

७९ को चुनावमा खोटाङ १ (२) बाट भूपेन्द्र राईले जितेका छन् । उनले नेकपा एमालेका रामप्रसाद दंगाललाई हराए । राईले १६ हजार ४९६ मत पाउँदा दंगाल १४ हजार ३४५ भोटमा रोकिएका थिए ।

जिताउन नसक्ने भन्दै पार्टी सभापतिलाई फिराद

गठबन्धन भएपछि चुनावताकै विष्णु राईसहितका खोटाङका कांग्रेसका नेताले नेतृत्वलाई ध्यानाकर्षण गराएका थिए । प्रदेशसभा नेकपा एसलाई सुम्पिएको विरोधमा पूर्वराज्यमन्त्री सर्वधन राई, सभापति विष्णु राई, उपसभापति इवान राई, पूर्व जिल्ला सभापति नरेशकुमार श्रेष्ठ, सुवासकुमार पोखरेलसहित २२ जना नेताले सभापति शेरबहादुर देउवासमक्ष लिखित असहमति पत्र बुझाएका थिए ।

२०७९ साल भदौ ६ मा बुझाइएको लिखित पत्रमा नेकपा एसलाई सो क्षेत्र छाड्दा गठबन्धन पनि कायम नरहने र प्रतिगमन पनि रोक्न नसकिने उल्लेख छ । उनीहरूले २१४४ मत भएको पार्टीका उम्मेदवारलाई जिताउन नसकिने प्रष्टिकरण दिएका थिए ।

‘फिराद पत्र’ मा गठबन्धनका नेतृत्वलाई अनिवार्य निर्णय सच्याउन ध्यानाकर्षण गराइएको थियो । नेपाल प्रेसलाई प्राप्त पत्रमा लेखिएको छ,‘निर्णय नसच्चिए यसबाट पुग्ने सम्पूर्ण क्षतिको जिम्मेवार नेतृत्वगण स्वयं हुनेछ । यसरी कार्यकर्ता र जनभावनाविपरीत भएको निर्णयले पार्टीमा गम्भीर क्षति पुग्नेछ ।’

भूपेन्द्रलाई काखा अरूलाई पाखा !

प्रदेश महामन्त्री तथा मन्त्री भूपेन्द्र राईमाथि आफ्नै पालिका दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पार्टीका उम्मेदवारलाई हराएको आरोपमा त्यतिबेलै प्रमाणसहित अनुशासन समितिमा उजुरी परेको थियो । तर, शक्ति र पहुँचको आडमा उनीमाथि केही कारबाही नभएको जिल्लाका एक नेता बताउँछन् ।

२०७४ मा पालिका अध्यक्ष जितेका राईको स्थानीय पार्टीसँग त्यतिबेलैदेखि अन्तरविरोध सुरू भएको थियो । चुनाव जितेपछि पार्टीसँग समन्वय नगरेको उनीमाथि आरोप लाग्दै आएको छ । ७९ मा पनि उनी दोहोरिन चाहन्थे । तर, पार्टीले नइन्द्र राईलाई अघि सार्‍यो ।

यहाँ २८०३ भोट ल्याएर एमालेका लोकेन्द्र राई विजयी भएका थिए भने कांग्रेसका नइन्द्र २१६२ मतमा रोकिए । माओवादी केन्द्रका गोपालचन्द्र राईले २०९३ मत पाएका थिए ।

नइन्द्रमाथि अन्तर्घात गरेको आरोपमा भूपेन्द्रविरुद्ध कारबाहीको मागसहित उजुरी पर्‍यो । नेपाली कांग्रेस खोटाङका सचिव तथा अनुशासन समितिका संयोजक ज्ञानेन्द्र जोशीमार्फत उजुरी हालिएको नइन्द्र बताउँछन् । केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानालाई पनि भेटेर उजुरी दिएको उनले सुनाए ।

नइन्द्र राई ।

असन्तुष्ट खोटाङका कांग्रेस नेताहरूले राईसँगै दिप्रुङ चचुइचुम्मा गाउँ कमिटि सभापति अमृत गिरी, भूपेन्द्रकी श्रीमती सरिता आङ्दम्बे, तत्कालीन वडाअध्यक्ष पूर्णबहादुर खड्कालगायतलाई कारबाही गर्न माग गरेका थिए ।

नइन्द्रले नेपाल प्रेससँग भने, ‘हामीले स-प्रमाण उजुरी दिएका थियौ । तर, संघ र प्रदेशको चुनाव आएका बेला कारबाही गर्नु हुँदैन भनियो । पछि कारबाही होला भनेको तर, उहाँलाई पार्टीले काखी चेप्यो ।’

‘कांग्रेसको सबैभन्दा बढी मत भएको वडाबाटै अध्यक्ष हराउन महामन्त्री भएकै बेला उहाँ लाग्नुभयो । मत परिणामपछि कार्यकर्ताले विरोध गरे । दुई पक्षबीच झडपसमेत भएको थियो’, उनले थपे ।

३ महिनाअघि माग गृहजिल्ला पुगेको बेला उनीविरुद्ध साकेला गाउँपालिकामा कार्यकर्ताले नाराबाजी गरेका थिए । कार्यकर्ता भेटघाटका लागि पुगेका उनलाई एकलौटी काम गरेको समन्वय नभएको र दादागिरी देखाएको आरोप लगाइयो ।

विरोधको नेतृत्व साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले गरेका थिए । आफ्नै कार्यकर्ताको घेराबन्दीमा परेका राईलाई डीएसपी नेतृत्वको प्रहरी टोलीले सुरक्षा दिनुपरेको थियो ।

रुपाकोटमा यसरी खोसियो धर्मराजको टिकट

स्थानीय चुनावमा खोटाङ कांग्रेसमा थप रोचक घटना भएको थियो । राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका धर्मराजले खोटाङको सदरमुकाम भएको पालिका दिक्तेल रुपाकोट मझुवागढीको मेयरको टिकट पाए । मनोनयन दर्ता गराउन हेलिकप्टरमा दिक्तेल पुग्दानपुग्दै उनको टिकट खोसियो । स्थानीय कांग्रेस नेताहरूको विरोध र दबाबपछि केन्द्रले तिर्थराज भट्टराईलाई मेयरको टिकट दियो । उनले मेयर पनि जिते । टिकट खोसिएका धर्मराज पछि प्रदेशमा बागी उठे ।

के भन्छन् भूपेन्द्र ?

नेता भूपेन्द्र राईले भने जिल्ला सभापति विष्णु राईमाथिको कारबाहीबारे प्रतिक्रिया दिन जरुरी नभएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘कारबाही गर्ने अधिकार केन्द्रको हो । कसलाई कारबाही भयो, कसलाई भएन भन्ने कुरा मैले भन्ने होइन । स्थानीय चुनावबारे पनि मेरो भन्नु केही छैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *