रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नेपालगन्जमा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई विशिष्टकृत अस्पतालको रुपमा स्तराेन्नति गरिने जनाएका छन् ।
अस्पताल परिसरमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । लुम्बिनी प्रदेश सरकारको सात करोड ७७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवनको बिहीबार मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरवृद्धिमा विशेष ध्यान दिने बताउँदै यसलाई १५ शैयामा सीमित नराखी ५० शैयाको अस्पतालका रूपमा विकास गरिने स्पष्ट पारे। मुख्यमन्त्री आचार्यले भने, ‘यसलाई १५ शैयामा सीमित गर्नु हुँदैन । अबिलम्ब आवश्यक पर्ने कागजातहरू प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन दिन चाहन्छु । प्रदेश सरकारको तर्फबाट यसलाई विधिवत रूपमा ५० शैयाको अस्पतालका रूपमा स्तरवृद्धि गरेर अगाडि बढाउने छौं ।
उनले आगामी दिनमा यो अस्पताललाई बाँकेको विशिष्टिकृत अस्पतालका रूपमा विकास गरिने उल्लेख गरे । सेवा सुविधा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।
‘उपकरणहरू र विशेषज्ञ जनशक्तिको व्यवस्थापन गर्न पनि प्रदेश सरकारले आवश्यक पहल गर्नेछ’, मुख्यमन्त्री आचार्यले भने- ‘यसका लागि अस्पताल व्यवस्थापन समितिले गम्भीर ध्यान दिन जरुरी छ ।’
लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवाल, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज काठमाडौंका प्राविधिक प्रहरी नायव महानिरीक्षक डाक्टर गोपेश कुमार ठाकुर, प्राविधिक प्रहरी नायव उपरीक्षक डाक्टर श्यामकृष्ण लौडारीलगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply