विकृति फैलाउने तीज गीतमा प्रतिबन्ध लगाउन राष्ट्रिय लोक संचारकर्मीको आग्रह

काठमाडौं । तीज पर्वमा विकृति र अश्लीलता फैलाउने गीतहरूको प्रसारण तथा प्रकाशनमा प्रतिबन्ध लगाउन राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै सामाजिक मर्यादा विपरीत सृजना गरिएका तीज गीतहरूलाई प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।

सँगै ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको ‘गाई कालो’ र राजकुमारवली, अस्मिता थापा र लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’ बोलको गीतका समाचार प्रसारण तथा प्रकाशनमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।

संस्थाका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तीज पर्वको नाममा उत्पादन हुने कुनै पनि विकृति, अश्लीलता, अपशब्द र सामाजिक मर्यादा विपरीत सामग्री समावेश गरेका गीतहरूलाई पत्रपत्रिका, रेडियो, टेलिभिजन, युट्युब, तथा सामाजिक सञ्जाल लगायत कुनै पनि माध्यमबाट प्रकाशन तथा प्रसारण नगर्न र नगराउन सबै सरोकारवाला निकायहरूलाई अनुरोध गर्दछ । यस्ता आपत्तिजनक गीत तथा भिडियो निर्माण तथा प्रकाशन गर्नेहरूलाई आवश्यक कारबाही गर्न सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रहरी साइबर ब्युरो, कलाकार संगठन लगायत सम्बन्धित निकायहरूमा औपचारिक अनुरोध गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’

साथै सांस्कृतिक विरासत जोगाउनका लागि मौलिक, सन्देशमूलक, लोक परम्परा झल्काउने गीतहरूको संरक्षण, प्रचार प्रसार र प्रोत्साहन गर्न सबैलाई अनुरोध समेत गरिएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पछिल्ला वर्षहरूमा केही स्वार्थलोलुप कलाकार, युट्युबर तथा व्यावसायिक उत्पादन घरानाहरूले तीजलाई केवल व्यापारिक लाभको माध्यम बनाउँदै सामाजिक मर्यादा विपरीत अश्लील र विकृत गीत-संगीत उत्पादन तथा प्रसारण गरिरहेका छन्, जुन अत्यन्त निन्दनीय छ ।’

पछिल्लो समय तीज गीतहरूले मौलिक परम्परा र संस्कृति बिर्सेको भनेर सर्जकहरूको चर्को आलोचना हुने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *