काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षधर बैठकले केन्द्रीय अनुशासन समितिले नेताहरूमाथि गरेको कारबाही प्रतिशोधपूर्ण रहेको निष्कर्षसहित प्रतिवाद गर्ने निर्णय गरेको छ ।
बिहीबार काठमाडौंमा बसेको शेखर कोइराला पक्ष नेताहरूको बैठकले अनुशासन समितिले गरेको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण रहेकाले प्रतिवाद गर्ने निष्कर्ष निकालेको नेता गुरुराज घिमिरेले बताए ।
पार्टीको सदस्यउपर उजुरी परेको ६ महिनाभित्र अनुशासनको कारबाही टुंग्याइसक्नुपर्नेमा अढाइ वर्षपछि कारबाहीको निर्णय बाहिर आउनु आफैँमा विधान र नियमावलीविपरीत रहेको उनको भनाइ छ ।
घिमिरेले पार्टीभित्रको अर्को पक्षलाई किनारा लगाउने गरी पक्षपातपूर्ण र गुट प्रेरित ढंगले कारबाही भएको आरोप लगाए । यस विषयमा शेखर कोइराला लगायतका नेताहरूले सभापतिसँग कुरा गर्ने घिमिरेले सुनाए ।
छानीछानी निशाना बनाइएको साथै सचेत गराउँदा हुनेमा राजनीति सिध्याउन खोजिएको कोइराला समूहको निचोड छ ।

पार्टीभित्र प्रतिस्पर्धी समूहलाई पाखा लगाउने प्रयत्नको शालीन र सभ्यरूपबाट प्रतिवाद हुने इतर पक्षको निर्णय छ ।
केन्द्रीय समितिको बैठकपश्चात् पार्टी सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वय पाँचजना बसेर अहिले अनुशासन समितिको कुनै पनि निर्णय बाहिर नल्याउने भन्ने सहमतिविपरीत कारबाहीको निर्णय आएको कोइराला पक्षको भनाइ छ ।
यसअघि बुधबार कांग्रेस केन्द्रीय अनुशासन समितिले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका वा पार्टीले समर्थन गरेको उम्मेदवारबिरुद्ध असहयोग गरेको कसुरमा दर्जन नेतालाई निलम्बन र निष्कासन गरेको छ ।

Leave a Reply