गृहमन्त्री रमेश लेखकले हिजो (बुधबार) प्रतिनिधिसभाको बैठकमा रास्वपा सभापति रवि लामिछानेलाई जोडेर भिजिट भिसाका विदेश जानु नै अपराध हो भने जसरी (कु) तर्क गरे ।
उनले भने- ‘माननीय रवि लामिछानेजी, जो यही सम्मानित सदनको सदस्य पनि रहनुभएको थियो, अहिले परिस्थिति एउटा छ। उहाँ कुनै समयमा संयुक्त राज्य अमेरिकाको भिजिटरकै रूपमा भ्रमण गर्न जानु भएको थियो रे’ भन्ने कुरा सुन्या छु । भिजिटरको रूपमा जाने भनेको भिजिट भिसा हो । मैले जान्न खोजेको के भने, उहाँ भिजिटरका रूपमा अमेरिका जानु भएको हो कि होइन ? यदि भिजिट भिसा अथवा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आउने भिसामा जानुभएको होइन भने के भिसामा जानुभएको हो, त्यो जानकारी गराइदिनुहुन म आग्रह गर्न चाहान्छु । यदि भिजिट भिसामै जानु भएको हो भने, भिजिट भिसामा गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ? त्यो भिजिट भिसाको दुरूपयोग हो कि होइन ? अनि, भिजिट भिसाको दुरूपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउनु हुन्छ कि हुँदैन ? नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने ?’
गृहमन्त्री लेखकको भनाइको सार दुई बुँदामा खिच्दा हुन्छ ।
पहिलो- रवि लामिछाने पनि भिजिट भिसामै अमेरिका गएका थिए । भिजिट भिसामा गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइँदैन । त्यो ‘अपराध’ हो ।
दोस्रो- भिजिट भिसाको दुरूपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउनु हुँदैन । अर्थात्, तिमीहरू अनैतिक म नैतिकवान !
गृहमन्त्रीको ज्ञानको स्तर, तथ्यको बुझाइ र व्याख्या अनि कुतर्कको हदसँग मात्र होइन सार्वजनिक रूपमै प्रदर्शित उनको ‘विवेकहीन’ व्यक्तित्वप्रति लज्जाबोध छ हामी नागरिकलाई । कस्ता बेकुफबाट शासित हुन अभिशप्त रहेछौं हामी !
गृहमन्त्रीको यो भनाइ सामान्यजस्तो लागे पनि लुकेको आशय, समय र परिस्थितिले यसलाई केवल एक राजनीतिक टिप्पणीभन्दा माथि उठाएर गृहमन्त्रीको जिम्मेवारी, नियत र पाखण्डमाथि गम्भीर प्रश्न खडा गरेको छ । उनको यो भनाइ भिजिट भिसाको वास्तविकतालाई बंग्याउने, असली अपराधलाई ढाकछोप गर्ने र राजनीतिकरूपमा विपक्षीलाई लान्छित गर्ने असफल प्रयासको निरन्तरता हो ।
आफ्नो असफलता र सम्भावित संलग्नताबाट जनताको ध्यान मोड्न एक राजनीतिक प्रतिस्पर्धीमाथि व्यक्तिगत टिप्पणी गर्नुले गृहमन्त्रीको गैरजिम्मेवारपन र राजनीतिक दरिद्रतालाई उदाङ्गो पारेको छ । नागरिकले गृहमन्त्रीबाट यस्ता खुद्रा र प्रतिशोधपूर्ण टिप्पणी होइन, बरु देशको सुरक्षा, सुशासन र भ्रष्टाचार नियन्त्रणमा ठोस कदमको अपेक्षा राखेका छन् ।
विश्वको कुनै पनि देशमा भ्रमण, उपचार, आफन्त भेटघाट वा अन्य अल्पकालीन उद्देश्यका लागि जाने सबैभन्दा प्रचलित र वैधानिक माध्यम ‘भिजिट भिसा’ हो । यो कुनै लुकिछिपी वा गैरकानूनी रूपमा गरिने काम होइन, बरु सम्बन्धित देशको दूतावासबाट आफ्नो उद्देश्य स्पष्ट पारेर, आवश्यक कागजात बुझाएर र अन्तर्वार्ता पास गरेर लिइने अनुमति हो । गृहमन्त्रीले भनेजस्तै रवि लामिछाने भिजिट भिसामा अमेरिका जानु कुनै अनौठो वा गैरकानूनी घटना थिएन । उनीजस्तै लाखौं नेपाली यही प्रक्रियामार्फत विश्वका विभिन्न मुलुक पुगेका छन् र यो उनीहरूको अधिकारको कुरा हो ।
अमेरिका पुगिसकेपछि त्यहाँको कानून र प्रक्रियाअनुसार आफ्नो भिसाको हैसियत परिवर्तन गर्नु, स्थायी बसोबास अनुमति (पीआर) वा नागरिकताका लागि आवेदन दिनु सम्बन्धित व्यक्तिको निजी छनोट र त्यो देशको आन्तरिक मामिला हो । अमेरिकाको कानूनले दिएको सुविधा उपयोग गर्नुलाई नेपालको गृहमन्त्रीले अपराध जसरी चित्रण गर्नु उनको अज्ञानता वा बद्नियतपूर्ण ‘बचपना’ मात्र हो ।
यदि कसैले विदेशको नागरिकता लिएर नेपाली नागरिकता त्यागेन वा स्थायीरूपमा स्वदेश फर्किएपछि पनि नागरिकता पुनःप्राप्तिको प्रक्रिया सुरू गरेन भने नेपालको कानूनअनुसार छानबिनको विषय बन्न सक्छ । रवि लामिछानेकै हकमा बन्यो । र, उनले सांसद पद नै गुमाउनु पर्यो । तर, भिजिट भिसामा विदेश जानु आफैँमा अपराध होइन । गृहमन्त्रीले एउटा वैधानिक प्रक्रियालाई अपराधिकरण गर्न खोजेर आम जनतामा भ्रम छर्ने काम गरेका छन् ।
भिजिट भिसाको बहस त्यतिबेला पेचिलो बन्यो, जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीहरूको सेटिङमा अवैध असुली र मानव तस्करीजस्ता गम्भीर अपराधका घटना सार्वजनिक भए । विशेषगरी खाडी मुलुक र मलेसिया जाने सोझासाझा नेपाली युवालाई भिजिट भिसाको दुरूपयोग गरी पठाउने र उनीहरूबाट मोटो रकम असुल्ने संगठित गिरोहबारे समाचार बाहिरिए ।
अध्यागमनका कर्मचारी, वैदेशिक रोजगार व्यवसायी, ट्राभल एजेन्सी, एयरलाइन्स कम्पनीबीचको सेटिङको यो धन्दामा माथिल्लो तहका राजनीतिक र प्रशासनिक पात्रहरूको समेत संलग्नताको आशंका र आधार देखियो । गृहमन्त्री लेखक नै मुछिए । र, छानबिनको माग भयो ।
यो प्रकरणमा सरकारको जिम्मेवारी के हो ? भिजिट भिसामा विदेश जानेलाई अपराधी देखाउने कि विमानस्थलमा बसेर देशको बदनाम गराउने र नागरिकलाई लुट्ने कर्मचारी र गिरोहलाई कारबाही गर्ने ? तर, गृहमन्त्री लेखक आफैंमाथि आक्षेप लागेको गम्भीर अपराधको जरोसम्म पुगेर छानबिन गर्न हिचकिचाए । चौतर्फी दबाबपछि उनकै प्रस्तावमा मन्त्रिपरिषद्ले पूर्वमुख्यसचिव शंकरदाश वैरागीको नेतृत्वमा कर्मचारी मात्रै सम्मिलित ‘झारा टार्ने समिति’ बनायो । यसले के देखाउँछ भने गृहमन्त्री आफ्नो मातहतको निकायमा भएको संगठित अपराध अन्त्य गर्न होइन, बरु त्यसलाई ढाकछोप र संरक्षण दिन उद्यत छन् । उनको निष्क्रियताले अध्यागमनका भ्रष्ट कर्मचारीमाथि उनको परोक्ष संलग्नता वा प्रत्यक्ष संरक्षण रहेको आशंकालाई बलियो बनाएको छ ।
जब कसैमाथि प्रश्न उठ्छ, आलोचना हुन्छ, आक्षेप लाग्छ तब आफूमाथिका प्रश्न छल्न उसले विषयान्तरको प्रयास गर्छ । यो साझा मानवीय चरित्र हो । रमेश लेखकमा चाहिँ हुन्न र ? लेखकले आफूमाथिका प्रश्न छल्न ‘रवि लामिछानेले पनि भिजिट भिसामा अमेरिका गएका रे’ भन्ने बेतुकको र आफैं बेकुफ हुने सन्दर्भको सहारा लिए ।
लेखककै बुझाइ यो स्तरको छ भने, सत्तारुढ दलका कार्यकर्ताले रवि लामिछानेको पुरानो अन्तरवार्ताको ‘क्लिप’ सामाजिक सञ्जालमा दौडाए भनेर के गुनासो गर्नु ? ‘क्लिप’ दौडाउने कार्यको अगुवाइ एमाले समर्थित ‘पत्रकार’ ले गरेका रहेछन् । तिनलाई पनि लागेको रहेछ, भिजिट भिसामा विदेश जानु अपराध हो ।
अध्यागमनको सेटिङ भत्काउनु त कता हो कता उल्टै संरक्षण गरेको आरोप छ गृहमन्त्रीलाई । संसदमा रास्वपा र राप्रपाले गृहमन्त्रीकै संलग्नताको आशंकालाई लिएर ‘झारा टार्ने समिति’ को बदलामा शक्तिशाली आयोग वा संसदीय समितिको अडान कायम राखेका छन् ।
आफ्नै संलग्नताको आरोप लागेर अध्यागमन प्रकरण छताछुल्ल हुँदासम्म जवाफदेही नभएका गृहमन्त्री रवि लामिछानेको पुरानो र असान्दर्भिक विषयलाई हतियार बनाउने हदमा आइपुगेका छन्, कठै ! यो टिप्पणीले गृहमन्त्रीको पदीय गरिमा मात्र घटाएको छैन, लोकतन्त्रमा हुने स्वस्थ प्रतिस्पर्धाको भावनालाई समेत चोट पुर्याएको छ ।
अमेरिकाको कानूनले दिएको सुविधा उपयोग गर्नुलाई नेपालको गृहमन्त्रीले अपराध जसरी चित्रण गर्नु उनको अज्ञानता वा बद्नियतपूर्ण ‘बचपना’ मात्र हो ।
गृहमन्त्रीको कु (तर्क) को पनि हद भो! भिजिट भिसामा विदेश जानु अपराध होइन । यो प्रचलित अभ्यास हो । तर, उनले त अपराधै हो जसरी चित्रित गर्न थाले । भिजिट भिसामा विदेश जानेलाई अपमान गर्न थाले । भिजिट भिसामा विदेश जाने हजारौं नेपाली, अपराधी हुन् त ? गृहमन्त्रीका अनुसार त हुन् ।
भिजिट भिसामा विदेश जानेसँग अध्यागमनका कर्मचारीले सेटिङमा अवैध असुली गर्नु चाहिँ अपराध हो, त्यसमा गृहमन्त्री पनि मुछिएका छन्, छानबिन गरौं भनेको सन्दर्भलाई विषयान्तर गर्न ’ रवि लामिछाने पनि त भिजिट भिसामा अमेरिका गएको रहेछ नि’ भनेर उम्किन पाइन्छ ? आज त उम्किएलान, भविष्यमा ?
गृहमन्त्री लेखकको रवि लक्षित टिप्पणी तथ्यगत रूपमा गलत, कानूनीरूपमा आधारहीन र नैतिक रूपमा पाखण्डपूर्ण छ । भिजिट भिसा एक वैधानिक प्रक्रिया हो । र, यसलाई अपराधको रूपमा चित्रण गर्नु उनको विवेकहीनता हो । असली अपराध त विमानस्थलमा हुने सेटिङ, भ्रष्टाचार र मानव तस्करी हो, जसमाथि छानबिन गर्न गृहमन्त्री पूर्णतः असफल छन् ।
आफ्नो असफलता र सम्भावित संलग्नताबाट जनताको ध्यान मोड्न एक राजनीतिक प्रतिस्पर्धीमाथि व्यक्तिगत टिप्पणी गर्नुले गृहमन्त्रीको गैरजिम्मेवारपन र राजनीतिक दरिद्रतालाई उदाङ्गो पारेको छ । नागरिकले गृहमन्त्रीबाट यस्ता खुद्रा र प्रतिशोधपूर्ण टिप्पणी होइन, बरु देशको सुरक्षा, सुशासन र भ्रष्टाचार नियन्त्रणमा ठोस कदमको अपेक्षा राखेका छन् ।
असली अपराधीलाई कानूनी कठघरामा उभ्याउने साहस नगर्ने तर एक वैधानिक प्रक्रियालाई लिएर अरूलाई दोषारोपण गर्ने र भिजिट भिसामा विदेश जानु नै अपराध हो जसरी सार्वजनिक अभिव्यक्ति दिएर त्रास फैलाउने छुट कसैलाई पनि हुँदैन । गृहमन्त्रीलाई त झन् हुँदै हुँदैन ।
प्रधानमन्त्रीले ख्याल गरुन् । भिजिट भिसाको त्यत्रो संभावित अपराधमा रक्षाकबच बनेका प्रधानमन्त्रीले गृहमन्त्रीको व्यक्ति लक्षित टिप्पणीमा के ध्यान दिन्थे, सत्ता निरन्तरताको सवाल जो छ ।

Leave a Reply