दर्ता नै नभएको संस्थामा बालिका राख्न वडा कार्यालयको सिफारिस, सुर्खेतका बालिका चितवनबाट उद्धार

चितवन । बालबालिका संरक्षण गृहको अनुमति नै नलिएको एक संस्थालाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाले सिफारिस गरेर २१ जना बालिका चितवन ल्याइएपछि यहाँको प्रहरीले उद्धार गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका एउटै वडाले १७ जना र बाँकी तीन वटा वडाका अध्यक्षले बालगृह सञ्चालनको वैधानिक अनुमति केही पनि नभएको आमाको काख नामक संस्थाको नाममा सिफारिस दिइएको हो ।

उक्त संस्थाकी सञ्चालक पवित्रा रिजालसहित ३ जनाले वीरेन्द्रनगरका २१ जना, चितवन र हेटौँडाका १/१ जना बालिकालाई पढाउन भनी चितवन ल्याएका थिए ।

भरतपुर महानगरपालिका र चितवन प्रहरीले संस्था सञ्चालनको अनुमति पनि नलिएको र बालिकाहरूलाई राख्न न्यूनतम आवश्यकताको सामग्री पनि नरहेको जानकारी पाएपछि मङ्गलवार २३ बालिकालाई उद्धार गरेको हो ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार सबै बालिकाका अभिभावक छन् । उनीहरूलाई वडा कार्यालयले नै विपन्न भनेर पढाउन आवश्यक सहयोग गर्नु भन्ने सिफारिस दिएका थिए ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष खिमलाल देवकोटाले नेपाल प्रेससँग कुरा गर्दै विपन्नको सिफारिस बनाइदिनु भनेर स्थानीय आएपछि आफूले आमाको काख नामक संस्थालाई बालिकाहरू पढाउने आवश्यक व्यवस्था मिलाइदिन सिफारिस दिएको स्वीकार गरे । उनले आफूले राम्रो मनसायले सिफारिस दिए पनि बालिकाहरू लिएर चितवनसम्म आउनु गलत भएको बताएका छन् ।

चितवन ल्याइएका अधिकांश बालिकाहरू वादी समुदायका छन् । भने, दलित तथा जनजाति समुदायका बालिकाहरू रहेका प्रहरी प्रमुख एसपी पुरीले बताए ।

प्रहरीसहितको उद्धार टोलीले मङ्गलवार उद्धार गरिएको बालबालिकालाई चितवनको विभिन्न संरक्षण गृहमा राखेको जिल्ला बाल कल्याण अधिकारी शान्ताकुमारी पौडेलले जानकारी दिइन् । उनले बिना दर्ता संस्था सञ्चालन गरिनु गम्भीर अपराध भएको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने पनि बताइन् ।

हामीले प्रहरीलाई बालिकाहरूको आन्तरिक ओसारपसार भएको लेखेरै पठाएका छौँ, बाल कल्याण अधिकारी पौडेलले भनिन्, त्यस संस्थाले बालबालिकासम्बन्धी कानुनको खुलेआम उल्लङ्घन गरेको छ ।

उनका अनुसार संस्थाले बालगृहको अनुमति लिएको कागजात, विद्यालयसँग पढाउने भनेर गरेको आधिकारिक सहमति पत्र पनि छैन । यस्तो काम झनै कानून विपरीतको भएको उनले बताएकी छन् ।

चितवन प्रहरीले बालिकाका अभिभावक सहित वडा अध्यक्षसमेतलाई चितवन बोलाएर उद्धार गरिएका बालिकाहरूलाई परिवारसँग फिर्ता पठाउने तयारी गरेको चितवनका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।

दर्ता प्रक्रिया नै पुरा नगरीकन, स्थानीय प्रशासनसहित वैधानिक निकायको अनुमति नलिई बालिकाहरू चितवन ल्याइए पनि प्रहरीले संस्था सञ्चालकलाई कारबाही गर्ने विषयमा भने उजुरी दिने निकाय कुरेर बसेको छ ।

प्रहरी प्रमुख एसपी पुरीका अनुसार अभिभावक स्वयंले बालिका पठाएकाले उनीहरूको जाहेरी आउने अवस्था नभएको बताए । यद्यपि बालबालिकासँग सरोकार राख्ने मातहतका निकायसँग समन्वय गरेर कस्तो कारबाही प्रक्रिया अघि बढाउने भन्ने अनुसन्धानको चरणमा नै रहेको उनी बताउँछन् ।

सञ्चालन अनुमति नै नलिएको आमाको काख नामको उक्त संस्थाको बोर्ड समेत नराखी ५ वर्षदेखि १७ वर्ष उमेर समूहका ती बालिकालाई भरतपुर महानगरपालिका –११ मा घर भाडामा लिई राखेको थियो । सोही स्थानबाट सोमबार बालिकाहरूको उद्धार गरिएको हो ।

उक्त संस्थाको सञ्चालक पवित्रा रिजाललाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकी संस्था सञ्चालक रिजालले आफूले दाताबाट सहयोग पाउने आशामा बालिकाहरू चितवन ल्याएको बताएकी छन् ।

उनले भनिन्, ‘मैले चार तोला सुन राखेर ऋण लिएको छु, १० धुर जग्गा बेच्न लागेकी छु । केही दाताले पनि सहयोग गर्ने भनेका छन् । उनले आफ्नो संस्था एक महिनाअघि मात्रै खुलेको बताइन् ।

Comments

One response to “दर्ता नै नभएको संस्थामा बालिका राख्न वडा कार्यालयको सिफारिस, सुर्खेतका बालिका चितवनबाट उद्धार”

  1. हलुवाकाका Avatar
    हलुवाकाका

    केटी वेच्ने दलालको फन्दा बाट उम्किएछन !!सावधान ! दलाल भनेकै यस्तै हुन । फोटो पनि राख्नु पर्छ नि यस्ता दलालको !

Leave a Reply

Your email address will not be published. Required fields are marked *