विद्यासँग मदन भण्डारीको पहिलो भेट

चारपाँच जना पाहुनाको लागि केही दिनदेखि त्यो झुपडीमा साँझ-बिहानको खाना पाकिरहेको थियो । सदा झैँ झमक्क साँझ परेपछि ती पाहुनाहरू हाम्रो मूलघरसँग आँगन जोडिएको त्यो झुपडीमा खानाका लागि पसे ।

हाम्रो टोलमा २०३० सालदेखि बिजुली बल्न थालेको हो, तर त्यो झुपडीमा भने कहिल्यै बिजुली बलेन । बिजुली राख्नसक्ने आर्थिक हैसियत पुग्न नसकेपछि त्यो झुपडी टुकी युगबाट मुक्त हुनसकेन । त्यही टुकीको उज्यालोमा खाना खान ती पाँच जना पाहुना त्यो साँझ पनि झुपडीभित्र पसे । उनीहरू त्यो घरमा खाना खानमात्रै पस्थे । दिनभर वा रातभर हाम्रो अर्को घरमा उनीहरू ढोका लगाएर बस्थे । प्रायः ‘उठ…जाग…’ भावका गानाबजाना चल्ने हाम्रो त्यो घरमा त्यस्ता पाहुनाहरू आएका बेला गानाबजाना बन्द हुन्थे । उनीहरू बाटो लागेपछि फेरि सुरु हुन्थ्यो, ‘उठ…जाग…’ ।

म पनि दिदीहरूसँग त्यस साँझ पाहुनाले खाएको हेर्न पुगेँ । उनीहरूले खाना सुरु गर्नुअघि र खानापछि गर्ने गतिविधि दिदीहरूका लागि एक रमिताको विषय बनेको रहेछ । त्यहीँ रमिता हेर्न म दिदीहरूको समूहमा मिसिएको थिएँ । खाना खानुअघि ती पाँचै जनाले एकापसमा दह्रोसँग हात मिलाए । अनि कस्सिएको मुठ्ठी जुरुक्क उचालेर आआफ्नो काननेर तेर्स्याइसकेपछि मुठ्ठी खोलेर मकैको खोस्टाले बुनेको पिरामा पलेटी कसेर चुपचाप खान थाले ।

खाना खाइसकेपछि आफूले खाएको जुठा थाल बोकी आँगनमा गएर माझी सफा बनाए । साबुन होइन, त्यसबेला खरानी र मकैको खोस्टा प्रयोग हुन्थ्यो, जुठा भाँडा माझ्न । थाल माझिसकेर थन्को लगाएपछि फेरि उसैगरी करप्प पारेर हात मिलाए, अनि पहिले जस्तै मुठ्ठी उज्याएर आआफ्नो काननेर पुर्‍याए । त्यति रीत पूरा गरिसकेपछि उनीहरू झुपडीबाट निस्के ।

२०३८ सालको कुरा हो यो । म कक्षा ३ मा पढ्थेँ । उनीहरू किन बेलाबेलामा हाम्रो घरमा आउँछन् ? त्यो बेलाको फुच्चे मलाई यसबारे गहिरो जानकारी हुने कुरा भएन, तर दाइहरू गरिब दुःखीहरूको अनुहारमा खुसी ल्याउने दिन आउँछ भन्थे । त्यहीअनुसारको गीत गाउँथे, कविता लेख्थे, नाटक देखाउँथे । हामी उनीहरूले गाउने गीतलाई जनवादी गीत भन्थ्यौँ । हाम्रो टोलमा यस्ता गीत निर्वाध घन्कन्थे । त्यो समय हाम्रो घरमा हुने यस्तै गतिविधिमा संलग्न दाइ र दिदीहरूको प्रेरणाले मलाई पनि एउटा मामुली लेखक बनायो ।

एक पटक तीनचार दिनसम्म चारपाँच जनाको टोली आएर बसेको र हाम्रो छिमेकीको घरमा गाँसको र हाम्रो घरमा चाहिँ बासको व्यवस्था गरिएकोबारे जिज्ञासा राख्दा राजेश दाइबाट थाहा भयो, त्यसबेला तत्कालीन भूमिगत माले कोशी अञ्चल क्षेत्रीय कमिटीको बैठक रहेछ । बैठकमा मदन भण्डारी, अशोक राई, चित्र निरौला, राजेश बान्तवा र गोपाल गुरागाईं सहभागी भएका रहेछन् ।

टोलका पढालेखा छिमेकी दाइ रेख ब्लोन र मेरा सहोदर दाजु डम्बर यस्ता गानाबजानाका अगुवा थिए । थुप्रै युवालाई उनीहरूले परिचालन गरेका थिए । कुनै बेला उनीहरू रातिराति पोस्टर टाँस्न टोली-टोली भएर निस्कन्थे । म फुच्चेलाई उनीहरूको यस्तो गतिविधि नियाल्ने छुट थियो । कहिलेकाहीँ मलाई पनि उनीहरूबाट जिम्मेवारी आइपर्थ्यो । गोप्य रूपमा आएका पाहुनालाई जङ्गलको बाटो हुँदै नुहाइधुवाइ गर्न कुवा-पधेँरातिर लैजानुपर्ने, कहिलेकाहीँ उनीहरूलाई चिया पकाएर खुवाउनुपर्ने, उनीहरू कोठामा ढोका लगाएर बस्दा बाहिर फेरो कोही नयाँ मान्छे आए सुटुक्क खबर गर्नुपर्ने जस्ता केही जिम्मेवारी दाइहरूबाट पाउँथेँ ।

२०५१ सालमा धरानमा पुराना वामपन्थी नेता राजेश बान्तवासँग परिचय भयो । जब मैले आफ्नो घर बताएर दाइहरू रेख ब्लोन र डम्बर सुब्बाको नाम लिएँ, तब राजेश दाइ नोस्टाल्जिक बनिहाले, ‘म तपाईंहरूको घरमा त धेरै पटक आएको छु नि ! त्यो बेला तपाईं सानै हुनुहुन्थ्यो, अलि लज्जालु हुनुहुन्थ्यो ।’

एक पटक तीनचार दिनसम्म चारपाँच जनाको टोली आएर बसेको र हाम्रो छिमेकीको घरमा गाँसको र हाम्रो घरमा चाहिँ बासको व्यवस्था गरिएकोबारे जिज्ञासा राख्दा राजेश दाइबाट थाहा भयो, त्यसबेला तत्कालीन भूमिगत माले कोशी अञ्चल क्षेत्रीय कमिटीको बैठक रहेछ । बैठकमा मदन भण्डारी, अशोक राई, चित्र निरौला, राजेश बान्तवा र गोपाल गुरागाईं सहभागी भएका रहेछन् ।

मैले पहिलो पटक त्यही बेला मदन भण्डारीलाई देखेको रहेछु । त्यो बेला कोशी अञ्चल क्षेत्रीय कमिटीको सचिव रहेछन् उनी ।

माननीयको भेषमा मदन

टुक्राटुक्रामा विभाजित कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने प्रयासस्वरूप उनी रातो झन्डा समूहसँग वार्ता गर्न धनकुटा, खाल्सा क्षेत्रको अखुवाटार आएका रहेछन्, मुक्तिमोर्चाको प्रतिनिधि भएर । त्यसबेला उनीसँग एकता वार्ता गर्न रातो झन्डाका नेता आनन्दसन्तोषी राईका साथ गोपाल गुरागाईं, जीवप्रसाद पोखरेलहरू अखुवाटार पुगेका रहेछन् ।

त्यो बेला धनकुटा नगर क्षेत्रमा हाम्रो घरबाहेक वारीपात्लेका कुलकेशर वाग्ले, गोपाल वाग्ले, सिप्तिङका गणेश राई, निगालेका भक्त थापा, माथिल्लो कोप्चेका चिरञ्जीवीमान श्रेष्ठ आदिको घरमा भूमिगत नेताका लागि सेल्टरको व्यवस्था थियो । हात्तीखर्कको सल्लेमा धनीमाया सिँजालीको घरमा व्यवस्था गरिएको सेल्टरमा पनि धेरै पटक मदनले आश्रय लिएका थिए ।

पार्टी कामको क्रममा भएका ओहोरदोहोरमा सुरक्षाकर्मीको आँखा छल्न मदनले अनेक उपाय निकाल्ने गरेका थिए । कवि अनिल पौडेलले एक पटक बताएअनुसार धनकुटामा राजाको भ्रमणताका उनी पञ्चायती व्यवस्थाका माननीयको रूपमा धनकुटा छिरेका थिए ।

पार्टी कामको क्रममा भएका ओहोरदोहोरमा सुरक्षाकर्मीको आँखा छल्न मदनले अनेक उपाय निकाल्ने गरेका थिए । कवि अनिल पौडेलले एक पटक बताएअनुसार धनकुटामा राजाको भ्रमणताका उनी पञ्चायती व्यवस्थाका माननीयको रूपमा धनकुटा छिरेका थिए । २०३९ सालमा पूर्वाञ्चल क्षेत्रमा राजा वीरेन्द्रको भ्रमण हुँदा मुकाम धनकुटामा थियो । सुरक्षा जाँच असाध्यै कडा थियो । धनकुटा छिर्ने मुख्य नाका भेडेटारमा कडाइका साथ सुरक्षा जाँच हुन्थ्यो ।

उनलाई धनकुटा हुँदै पहाडी इलाकामा जानुपर्ने थियो । साथमा ‘वर्ग सङ्घर्ष’ का केही प्रतिहरू पनि थिए । बसबाट ओर्लेर सुरक्षा जाँचमा जानुअघि उनी पिसाबको बहानामा झाडीतिर गएछन्, अनि झोलामा रहेका ‘वर्ग सङ्घर्ष’का प्रतिहरू आफ्नो भुँडीतिर राखेछन् । दौरा सुरुवालमा ठाँटिएका उनले गोप्य प्रकाशन जति भुँडीमा राखेर मज्जाले इजार कसेछन् । अनि सुरक्षाजाँचको लाइनमा बस्दा सुरक्षाकर्मीहरूलाई ‘भाइहरू, महाराजाधिराजको सवारी चलिरहेछ, सुरक्षा व्यवस्थामा त कुनै कमजोरीहरू छैनन् नि ?’ भन्ने जिज्ञासा राखेछन् । सुरक्षाकर्मीहरूलाई लागेछ, उनी कुनै माननीय हुन् । सुरक्षाकर्मीहरूले जाहेर गरेछन्, ‘कुनै समस्या छैन हजुर ।’

सुरक्षाकर्मीले उनलाई माननीय नै ठानेपछि उनको शरीरमा खानतलासी गर्ने कुरै भएन । यस्तो चलाखी नहुँदो हो त, उनी कसरी पो नेता बन्थे ?

विद्यासँग पहिलो भेट

विराटनगरलाई पार्टी कामको आधार क्षेत्र बनाएर मदन भण्डारी भूमिगत रूपमा सक्रिय थिए । उनी कोशी अञ्चल क्षेत्रीय कमिटीका सचिव थिए भने उपसचिव थिए राजेश बान्तवा । पार्टी कामको सिलसिलामा उनी २०३७ सालको सुरुमा भोजपुर पुगेका थिए । त्यहाँ कमरेडहरूसँगको अनौपचारिक कुराकानीमा जीवन र जगतलाई क्रान्तिसँग जोड्ने कुरा भयो । यसको आसय हो, क्रान्तिसम्म पुग्न साथ दिने महिला कमरेडसँग सहजीवन सुरु गर्ने अर्थात् विवाह बन्धनमा बाँधिने ।

भूमिगतकालमा बायाँबाट क्रमशः डिल्ली मैनाली, मदन भण्डारी, विद्या भण्डारी, अशोक राई र चित्र निरौला । तस्बिर: राजेश बान्तवा

मदनको सहजीवनका लागि उपयुक्त कमरेडको खोजी भयो । यसका लागि एक जना कमरेडले लमीको भूमिका खेले । त्यतिबेला बासु नेपाल (प्रदीप नेपालका जेठा दाजु) भोजपुर क्याम्पसमा लाइब्रेरिन पदमा कार्यरत थिए । उनकी एक छोरी भोजपुर क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन् । बासुका भाइ मञ्जुलले त्यतिखेरदेखि नै कवि तथा जनकलाकारका रूपमा नाम कमाइसकेका थिए । प्रदीप राम्रै जिम्मेवारीमा भूमिगत भइसकेका थिए । जीवन र जगत क्रान्तिसँग जोड्न यो परिवार उपयुक्त छ भनेरै कमरेडहरूले मदनका लागि त्यतातिर सम्बन्ध गाँस्न सुझाए ।

तर एउटा ब्रिफिङमा लमी कमरेडले मदनका लागि हेरिएको पात्रले घरायसी परिस्थितिका कारण तत्काल आफूले विवाह गर्न नसक्ने जवाफ दिएको मदनलाई जानकारी गराए । बासुसँग पहिले यो विषयमा कुराकानी भएछ । उनले लमीलाई भनेछन्, ‘यस विषयमा निर्णय गर्न छोरी स्वतन्त्र छिन् । उनको जो विचार ।’

त्यतिखेर एक जना महिला कमरेडलाई अनेरास्ववियू र महिला फाँट दुवैमा सक्रिय गराउन भोजपुरबाट विराटनगर ल्याउने निर्णय पार्टीभित्र भयो । त्यसका लागि मानेभञ्ज्याङकी विद्या पाण्डेलाई तयार पारियो । उनले भर्खरै प्रमाणपत्र तहको अध्ययन सकेकी थिइन् ।

छोरीले आमा बिरामी भएका कारण आमाको स्याहारसुसारमा समय दिनुपर्ने भएकोले तत्काल आफू विवाहको लागि तयार नभएको बताइन् । त्यो विवाह टरेर गयो । लमीको भूमिकामा चाहिँ पार्टीका तत्कालीन भोजपुर जिल्ला सचिव अशोक राई थिए । यो विवाह तत्काललाई टर्‍यो ।

त्यतिखेर एक जना महिला कमरेडलाई अनेरास्ववियू र महिला फाँट दुवैमा सक्रिय गराउन भोजपुरबाट विराटनगर ल्याउने निर्णय पार्टीभित्र भयो । त्यसका लागि मानेभञ्ज्याङकी विद्या पाण्डेलाई तयार पारियो । उनले भर्खरै प्रमाणपत्र तहको अध्ययन सकेकी थिइन् । पार्टी कामका लागि घरमा खासै अनुकूल पनि थिएन उनलाई । त्यसैले उनी घरबाट एकप्रकारले भागेरै भए पनि विराटनगर जान उत्सुक भइन् । अब उनलाई धरान हुँदै विराटनगर सुरक्षित रूपमा पुर्‍याउनुपर्ने भयो । पार्टीका कोशी अञ्चल क्षेत्रीय कमिटीका सदस्य चित्र निरौला र सुशीला श्रेष्ठले एस्कर्टिङ गर्दै विद्यालाई भोजपुरबाट विराटनगर पुर्‍याए । त्यसबेला विद्या अनेरास्ववियूको कार्यकर्ता थिइन् ।

विद्यालाई भोजपुरबाट विराटनगर पु¥याउन जाँदै चित्र निरौला र सुशीला श्रेष्ठ । तस्बिर : चित्र निरौला

इलाममा रत्नकुमार बान्तवा मारिँदा बडो मुस्किलले ज्यान जोगाएर उम्किएकी सुशीला श्रेष्ठलाई पार्टीले भोजपुर खटायो । भोजपुर जाँदा धनकुटामा गोपाल गुरागाईंले रिसिभ गरी कागतेको आफ्नो घरमा एक रात बास दिएर भोजपुर पठाएका थिए । उनले अशोक राईसँग जनवादी विवाहमार्फत भोजपुरबाटै सहजीवन सुरु गरिन् । पार्टीले सुम्पिएको अभिभारा वहन गर्न खटिएको संस्मरण व्यक्त गर्ने क्रममा चित्र निरौलाले आफ्नो फेसबुक वालमा भनेका छन्, ‘वी ह्याड टु एस्कर्ट हर फ्रम भोजपुर टु विराटनगर, विकज् मदनजी ह्याड फलन इन् लभ एट् फर्स्ट साइट, ह्वेन हि भिजिटेड भोजपुर इन् द पार्टी वर्क ।’

त्यसबेलाका साक्षी राजेश बान्तवाले व्यक्त गरेको सम्झनाअनुसार पार्टी कामको सिलसिलामा मदन भोजपुर पुग्दा उनले विद्यालाई पहिलोपल्ट देखेका रहेछन् । विद्या पार्टीको काम गर्ने गरी विराटनगर आएपछि मदन आफैंले उनीसँग जीवन र जगतलाई क्रान्तिसँग जोड्ने गरी सहजीवनका लागि प्रस्ताव राखे । एक वर्षपछि मात्र विद्याले स्वीकृति जनाइन् र उनीहरूबीच विराटनगरको तिनटोलियाको एउटा सेल्टरमा जनवादी विवाह भयो । विवाहमा राजेश बान्तवा, चित्र निरौला, डिल्ली मैनाली, सुनिता उपनामकी एक कमरेडलगायत १५ जना जति जम्मा भएका थिए । भोजमा खसीको मासु र भात चलाइएको थियो । २०३९ सालमा यो जनवादी विवाह भएको थियो । केही क्षण नाचगान पनि चल्यो ।

सौन्दर्यको हिसाबले पनि महेन्द्र मोरङ आदर्श क्याम्पसका युवा विद्यार्थी कार्यकर्ताहरू विद्यासँग आकर्षित थिए, तर जिम्मेवार विद्यार्थी नेताहरू विद्याको विवाहबारे जानकार थिए । त्यसैले मदन र विद्याबीचको सहजीवनपछि कतिपय विद्यार्थी नेताहरू भित्रभित्रै दिल्लगी (कतिपय ईर्ष्या) गर्दै मदनलाई त्यतिखेरका एक चर्चित भारतीय पात्र मलखान सिंहसँग तुलना गरेर हाँस्थे ।

कुनै बेला मलखान सिंह डरलाग्दो डाकाका सरदार थिए । उनी समातिएर जेल परेपछि जेलमा भारतीय मार्क्सवादीहरूसँगको सम्पर्कपछि रिहा हुँदा उनी कम्युनिष्ट भएर निस्केका थिए । त्यसैले मदनको बारेमा दिल्लगी गर्ने जिम्मेवार विद्यार्थी नेताहरू उनलाई कुनै बेलाका डरलाग्दो डाकाका सरदार मलखान सिंहकै अनुभूति हुने गरी पार्टी नेतृत्व र सुन्दरी कार्यकर्ता सबै सोहोरपटार पारेको भन्दै हाँस्ने गरेको राजेश बान्तवा अहिले पनि सम्झिरहेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *