काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले एमालेका नेता गोकुल बास्कोटालाई जवाफ फर्काएका छन्। नेकपा एसले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको प्रसङ्गमा बास्कोटाले हिजो ओलीविरुद्ध बोल्दा ताली ठोक्नेहरूले आज मुखमा पट्टी टाँस्न खोजेको टिप्पणी गरेका थिए।
बास्कोटाले जे रोप्यो त्यै फल्छ, प्रकृतिको नियम भन्दै भनेका थिए, ‘हिजो केपी ओलीविरुद्ध रामकुमारी झाँक्रीले पार्टीमा व्यक्तिले विचार र प्रतिस्पर्धा गर्न पाउने भन्दा बढी बोल्दा नेपथ्य र कन्दराको गीतमा झुमेका दर्शकले झैँ ताली ठोक्ने समाजवादी हातहरू यति छिट्टै झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएको देख्दा उदेक छु।’
बास्कोटाको यो टिप्पणीपछि नेकपा एसका नेता पराजुलीले त्यस्तो सहानुभूति भए आफ्नो भन्दा ठुलो पद दिएर पार्टीमा स्वागत गर्न भनेका छन्।
उनले बास्कोटालाई जवाफ दिँदै भनेका छन्, ‘माया, दया, सद्भाव, सहानुभूति भए आफ्नो पद भन्दा ठुलो पद दिएर बाजागाजासहित स्वागत गरे भयो नि बेलाको बोलीमा हिम्मत र समर्थन हुन्छ । कुबेलाको बोली, दृष्टिकोण, व्यवहारमा घृणा, तिरस्कार र विरोध हुन्छ।’

Leave a Reply