मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग

जनकपुरधाम । प्रतिपक्षी दलहरुले मधेशको प्रदेशसभा बैठक आज तेस्रो दिन पनि अबरुद्ध पारेका छन् । सभामुख रामचन्द्र मण्डलले बैठकको कारबाही अगाडि बढाएलगत्तै प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेकपा एसका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।

जसपा नेपालका सांसद रामआशिष यादवले माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी दिए । उनले बजेटमा बिचौलिया हावी भएको र असमान ढंगले बजेट विनियोजन गरिएकोमा आपत्ति जनाए ।

सांसद यादवले भने, ‘आज संसदमा सत्तापक्षकै अधिकांश सांसद उपस्थित छैनन् । उहाँहरुलाई पनि बजेट मन परेको छैन । आजको अनुपस्थितिले यही देखाउँछ ।’

बजेटको विषयमा सहमति जुटाउन सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच निरन्तर प्रयास भए पनि कुरा मिलेको छैन । सहमति नजुटेपछि लगातार तीन दिन संसद चल्न सकेन ।

सांसद यादवले बजेट पुनर्लेखन नगरेसम्म अन्य कुनै सहमति नहुने स्पष्ट पारे ।

बजेटमा बिचौलिया हावी भएको र आफ्नो क्षेत्रकै ठूला योजनाहरुमा ५-१० लाख बजेटमात्र विनियोजन गरिएको भन्दै सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीकै अध्यक्ष सीके राउतले विरोध जनाएका थिए ।

तर पछिल्लो समय उनले बजेटको प्रशंसा गरिरहेका छन् ।

सत्तारुढ नेपाली कांग्रेस पनि बजेटको विषयमा विभाजित छ । कांग्रेस दलका नेता कृष्णप्रसाद यादव बजेटको पक्षमा छन् भने उपनेता वीरेन्द्र सिंहले विरोध जनाइरहेका छन् ।

बजेटबारे नेकपा एमाले भने मौन छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *