बाढीपछि २३५ मेगावाट बिजुली उत्पादन बन्द, कुन आयोजनामा कस्तो क्षति ?

काठमाडौं । भोटेकोशीको बाढीले जलविद्युत आयोजनामा अर्बौंको क्षति भएको छ । बाढीको क्षतिका कारण ती आयोजनाको उत्पादन बन्द भएको छ । साथै केही स्थानमा प्रसारण लाइन नै बगाएको छ ।

रसुवा बाढीले २०० मेगावाट हाराहारीका जलविद्युत आयोजनामा क्षति पुगेको र थप ३५ मेगावाटका दुई आयोजनाको उत्पादन बन्द भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनका अनुसार बाढीपछि करिब २३५ मेगावाट विद्युत् प्रणालीभन्दा बाहिर रहन गएको छ ।

हिजोको क्षतिबाट पाठ सिक्दै आइन्दा यस्ता खालका क्षति रोक्न प्राधिकरणले काम गर्ने शाक्यले बताए ।

उनले भने, ‘कुनै एउटा आयोजनामा क्षति भएपछि तलतिर भएका आयोजनालाई सूचना नदिँदा क्षति बढेको छ । समयमा नै त्यसरी थाहा भएको भए क्षति कम गर्न केही सहयोग पुग्ने थियो । अब त्यसरी सूचना दिने काम हुन्छ ।’

सबैभन्दा धेरै १११ मेगावाट क्षमताको रसुवागढी आयोजनामा क्षति पुगेको छ । यो आयोजनाको हेडबक्स क्षतिग्रस्त छ । ६० मेगावाटको त्रिशूली ३ ए र २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ ।

क्षति पुगेका अन्य आयोजनामा २१ मेगावाटको तल्लो त्रिशूली, १४ मेगावाटको देवीघाट जलविद्युत छन् । रसुवागढी र चिलिमे निजी क्षेत्र समेतको सहभागितामा निर्माण भएका आयोजना हुन् ।

त्यस्तै निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली र १०० मेगावाटको सुपर त्रिशूली आयोजनामा पनि क्षति पुगेको छ । त्रिशूली नदी करिडोरको विद्युत् प्रसारण गर्ने त्रिशूली ३ बी हब सवस्टेशन र प्रसारण लाइनमा समेत क्षति पुगेकाले केही दिन उत्पादन-प्रसारण अवरुद्ध हुने र करोडौँको घाटा व्यहोर्नुपर्ने शाक्यले बताए ।

सबैभन्दा धेरै क्षति भएको रसुवागढी आयोजना पुनर्निर्माण गर्न लाग्ने समय यकिन नभएको प्राधिकरणले जनाएको छ । चिलिमे जलविद्युत आयोजनाको टेलरेसबाट पानी छिरेको छ । त्रिशूली ३ ए जलविद्युत आयोजनाको ड्यामको दुई वटा गेटमा क्षति पुग्नुको साथै हेडबक्समा पनि समस्या देखिएको छ । त्रिशूली ३ बी हब सबस्टेशनमा खोलाले धार परिवर्तन गरी सबस्टेशनमा नै पानी छिरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले क्षतिको पूर्ण विवरण आउने क्रममा रहेको भन्दै अर्बौँको क्षतिको अनुमान गरिएको बताए ।

‘हामीले भारत निर्यात गरिरहेको विद्युत् पनि रसुवामा बाढी आएको कारण नै घटेको छ । यसअघि ७ सय मेगावाट विद्युत् निर्यात भइरहेको थियो । बाढीपछि त्यो घट्यो । अहिले ५ सय मेगावाटमात्रै विद्युत् निर्यात गरिरहेको छ’, ढकालले भने ।

नेपालमा अहिले २२ देखि २३ सय मेगावाट बिजुली रहेको उनको भनाइ छ । यो माग पूरा दैनिक ५ सय मेगावाट भारत निर्यात भइरहेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रको लगानीमा सञ्चालित र निर्माणाधीन आयोजनामा भने खासै क्षति नभएको बताएका छन् । उनका अनुसार ५ मेगावाट मैलुङ र बुध्द्धभूमिबाट उत्पादित विद्युत् बाढीले पोल लढाएका कारण प्रसारण लाइनबाट विच्छेद छ । ती आयोजनाबाट प्रसारण लाइनमा जोड्ने पोल बाढीले लडाएपछि प्रसारण लाइनबाट विच्छेद भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *