सोविताले बोल्दै नबोलेको कुरालाई उचालेर बबन्डर मच्चाइयोः स्वर्णिम वाग्ले (भिडिओ)

काठमाडौं । रास्वपाका उपसभापति स्वणिम वाग्लेले पार्टीकी सांसद सोविता गौतमले बोल्दै नबोलेको कुरालाई उचालेर बबन्डर मच्याइएको बताएका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीसँग गएको नभई प्रधानमन्त्री सहभागी कार्यक्रममा गएकाहरू नफर्किएको कुरा उठाएको बताए।

‘रास्वपा सक्षम अनुसन्धान गर्ने निकाय होइन, हामी राजनीतिक दल हौँ, त्यो निकाय राज्यसँगै छन् छानबिन गर भनेर उहाँले आह्वान गर्नुभएको हो,’ उनले भने, ‘उहाँले बोल्नै नबोलेको कुरा प्रधानमन्त्रीसँग गएको मान्छे फर्किएनन् भन्यो भनेर यत्रो बबन्डर मच्चाइयो। उहाँले बोलेको खास भाषा हेरेको भए त्यो छर्लङ्ग छ। आज पनि उहाँले दुई चोटि दोहोर्‍याइसक्नुभयो।’

उनले प्रधानमन्त्री गएको कार्यक्रम ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा गएका अन्य सयौँ नेपालीका बारेमा गौतमले कुरा उठाएको बताए।

उनले भने, ‘प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरूको बारेमा उहाँले बोल्नु भएको छैन। यसमा स्पष्ट हुन आवश्यक छ।’

दश वर्षअघि इथियोपिया भएको तेस्रो सम्मेलनको नेतृत्व आफूले गरेर गएको पनि स्मरण गरे। उनले ठाउँ हेरेर मान्छेहरूले ओइरो लाग्ने गरेको बताए।

स्पेन युरोप छिर्ने द्वारको रूपमा मानव तस्करहरूले प्रयोग गरिरहेकाले त्यसबारे छानबिन गर्नको लागि यो विषय उठाएको बताए। भिजिट भिसा प्रकरणमा आफूहरूले गरेको आन्दोलन स्थापित हुँदै गएको जिकिर गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *