दाङ । ह्रृष्टपुष्ट खाइलाग्दो ज्यान भएका सल्यानको कपुरकोट ३ फलाटेकाका १९ वर्षीय अजय विकलाई इन्डियन आर्मीमा भर्ना हुने हुटहुटी चल्यो । सल्यान पहाडी जिल्ला भएकाले इन्डियन आर्मीको तयारी गर्न भारतमा मजदुरी गर्ने उनका बाबु अनमोल विकको सुझावअनुसार अजय दाङ झरे ।
घोराहीस्थित लोटस ट्रेनिङ सेन्टरमा उनले आवासीय ट्रेनिङ लिन थाले । ट्रेनिङ राम्रै चल्दै थियो । यत्तिकैमा करिब १० दिनअघि उनका बाबु अनमोल दाङ आए । बाबुछोराको भेट पनि भयो ।
अनमोलले छोरा अजयलाई एउटा अत्याधुनिक पेस्तोल, ७ राउन्ड क्षमताको एउटा म्यागेजिन र ४ थान गोली राख्न दिए । बाबु कुरा काट्न नसकेपछि अजयले पेस्तोल र गोली आफू बस्ने होष्टेलको खाटमुनि झोलामा राखे । उनका बावु फेरि भारत गए ।
दाङ प्रहरी प्रवत्ता डिएसपी चक्रबहादुर मल्लका अनुसार अजयका बाबु भारतको हरियानामा लुटपाटको नेपालबाट गएलगत्तै पक्राउ परेका परेका छन् । प्रहरी स्रोतका अनुसार भारतीय प्रहरीसँगको बयानका क्रममा अनमोलले लूटपाट गर्न प्रयोग गरेको पेस्तोल दाङ बस्ने छोरालाई राख्न दिएको बयान दिएका थिए ।
उक्त सूचना भारतीय प्रहरीले दाङ प्रहरीलाई दियो । सोही सूचनाका आधारमा उनका छोराको बेडरूममा खानतलासी गर्दा एउटा अत्याधुनिक पेस्तोल,७ राउन्ड क्षमताको एउटा म्यागेजिन र ४ थान गोली दाङ प्रहरीले बरामद गर्यो ।
जानकारहरूका अनुसार अनमोलले भारतको हरियानामा यहाँ बरामद गरिएको पेस्तोलबाट ३ राउन्ड गोली फाएर गरेर त्यहाँ लूटपाट गरेका थिए । त्यसैले ७ राउन्ड क्षमता भएको म्यागेजिनमा ४ वटा मात्रै गोली बचेका थिए ।
बाबुले लुटपाटमा प्रयोग गरेको हतियार लुकाएका अजय अहिले प्रहरी हिरासतमा छन् । हतियारसहित प्रकाउ परेपछि अजयको इन्डियन आर्मी बन्ने सपना चकनाचूर भएको छ ।

Leave a Reply