काठमाडौं । गत वर्ष फागुन १२ गते सार्वजनिक प्रसारण सेवा नेपाल टेलिभिजनले समाचार वाचक/सम्पादक/प्रस्तोताका लागि भर्ना खुलायो । यही सूचना रेडियो नेपालमा कार्यरत बेलिना थापाले सविना प्रजा चेपाङलाई इनबक्समार्फत पठाइन्। उनले लेखिन्, ‘तिमी यही क्षेत्रमा काम गर्न चाहन्छौ भने यो राम्रो मौका हुन सक्छ। अल्पसंख्यक पनि हौं, प्रयास गर।’
पहिले लमजुङमा रेडियो चौतारी र एक त्रैमासिक पत्रिकामा सँगै काम गरिसकेकी अग्रज बेलिनाको कुरा सुनेर सविना हौसिइन्। फाराम भर्नेदेखि बुझाउने कामसम्म बेलिनाले साथ दिएपछि सविनालाई झन् सहज महसुस भयो। कामको अनुभव र योग्यताको आधारमा फागुन २३ गते सार्वजनिक भएको सूचनामा सविना सर्टलिस्ट भइन्। ४५ जना सर्टलिस्टमध्ये उनी थिइन् ।
उनले फागुन २७ गते लिखित, प्रयोगात्मक र मौखिक परीक्षा दिइन्। अन्ततः बेलिनाको भनाइ मिल्यो -चैत १ गते सार्वजनिक गरिएको अन्तिम नतिजाअनुसार, सविना पाँच सफल उम्मेदवारमध्ये पर्न सफल भइन्। अहिले उनी निरन्तर समाचार वाचन र रिपोर्टिङमा सक्रिय छिन्।
नेपाल टेलिभिजनमा प्रवेशसँगै सविनाको खुशीको सीमा रहेन । उनले पर्दामा देख्दै आएका अनुहारहरूसँगै काम गर्ने अवसर पाइन् । कुनै समय तालिम लिएका अनुहारहरूसँग एकै न्यूजरूममा काम गर्न पाउनु उनको लागि गौरवको कुरा हो ।
‘मलाई सेजनको तालिम सालिग्राम सरले दिनुभएको थियो,’ सविना भन्छिन्, ‘मैले टेलिभिजनमा देख्दै आएकी स्वेता सिन्हा, अनिता बिन्दु, पुष्पहरी क्याम्पा राई सरहरूसँग अहिले सँगै काम गर्न पाएकी छु। खुशी छु।’

यस्ता संयोग र अग्रजहरूको साथले उनलाई खुशी दिए पनि कतिपय सहकर्मी वा अन्य संस्थाका व्यक्तिहरूको प्रश्नहरूले भने उनको मन खिन्न बनाउँछन् । धेरैले भन्छन्, ‘चेपाङ भएर पनि समाचार पढ्न आइन्?’ यसमा सविनाको जवाफ छ– ‘चेपाङहरू नर्स छन्, शिक्षक छन्, राज्यमन्त्री र संविधानसभा सदस्य पनि भइसकेका छन्। समाचार वाचन गर्नु कुन ठूलो कुरा हो र ?’
तर उनले आफ्ना उच्चारणका केही कमजोरीहरू भने खुलेर स्विकारेकी छिन् । ‘कतिपय अन्तर्राष्ट्रिय तथा खेलकुदसम्बन्धी समाचारमा केही उच्चारण समस्या छन्,’ सविना भन्छिन् ।
नेपालमा चेपाङ समुदाय सबैभन्दा धेरै रहेको छैटौँ जिल्ला हो– लमजुङ। त्यहीँ सविनाले रेडियो र अखबारमा पाँच वर्ष काम गरिन्। रेडियो चौतारी ९१.४ मेगाहर्ज, ‘लमजुङपत्र’ साप्ताहिक, ‘स्वतन्त्र’ साप्ताहिक र ‘नयाँ सपना’ त्रैमासिकमा काम गरेकी सविनालाई समाचार लेखन, वाचन र रिपोर्टिङको भरपूर अनुभव छ । काठमाडौँ आएपछि उनले हेल्थआवाज डटकम र दैनिक नेपालमा पनि काम गरिन् ।
नेपाल टेलिभिजनमा काम गर्न थालेपछि उनलाई थाहा भयो कि आफू चेपाङ समुदायबाट समाचार वाचन गर्ने पहिलो अनुहार रहेकी रहिछन्। यसमा उनी गौरवान्वित छिन्। केही समयअघि धादिङका चेपाङ समुदायको चिउरीसम्बन्धी रिपोर्ट पढ्दा उनलाई झन् गहिरो आनन्द लागेको थियो ।
लमजुङको र काठमाडौँको समाचार अनुभवबीच उनले धेरै फरक अनुभूत गरेकी छैनन्। तर माध्यमको हिसाबले भने केही भिन्नता छ। ‘रेडियोमा आवाजबाट चिन्नेहरूले अब अनुहारबाट पनि चिन्छन्’, उनी भन्छिन्, ‘रेडियोमा आवाज प्रमुख हुन्थ्यो, टेलिभिजनमा पहिरन र साजसज्जा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।’
समाचार स्रोतको सन्दर्भमा पनि फरक अनुभव भएकी सविना भन्छिन्, ‘लमजुङमा हुँदा वडा अध्यक्ष, उपमेयर र मेयरसँग संगत हुन्थ्यो, काठमाडौँमा त मन्त्रीहरूसँग पनि समाचारकै क्रममा भेट हुन्छ ।’

२०५४ मंसिर १३ गते जन्मिएकी जेन–जेड पुस्ताकी सविनालाई नेपाल टेलिभिजनमा आफ्नो प्रवेश व्यक्तिगत मात्र नभएर समुदायको पनि प्रवेश लाग्छ । चेपाङ संघका केन्द्रिय अध्यक्ष गोविन्दरामको नेतृत्वमा टेलिभिजनमै आएर दिइएको बधाई र विभिन्न संस्थाबाट पाएको सम्मानले उनलाई समुदायको प्रतिनिधित्व गरिरहेको अनुभूति भएको छ ।
८४ हजार ३६४ जनसंख्या भएको चेपाङ समुदायमा मात्रै ७१ वटा थर छन्, र ती ३६ जिल्लामा फैलिएका छन्। तर पनि राज्यका विभिन्न तहसम्म पुग्न अझै बाँकी छ भन्ने संकेत सविनाले समाचार पढ्दा कतिपयले सोध्ने तिखा प्रश्नहरूबाट गर्छिन् ।
अब सविनाको सपना टेलिभिजनमै निरन्तर खारिने, अनुभव र अध्ययनले अझ बलियो हुने हो । ‘मैले गर्नसक्ने हदसम्मको ठूलो मिडिया यही हो’, सविना भन्छिन्, ‘पछि विदेशमा गएर अध्ययन गरेर थप खारिन चाहन्छु ।’

Leave a Reply