रुपन्देही । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–दोभान खण्डको सिद्धबाबा क्षेत्रमा झरेको पहिरोमा परेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छन्।
प्रहरी चौकी दोभान, पाल्पाका प्रहरी नायब निरीक्षक रुम केसीका अनुसार तिनाउ गाउँपालिका–३ स्थित हेडबक्स नजिकै सडक माथिबाट खसेको पहिरोले दुर्घटना गराएको हो।
पहिरोमा लु ५१ प ६६३३ नम्बरको मोटरसाइकल च्यापिँदा बुटवलबाट पाल्पातर्फ जाँदै गरेका पाल्पाको रामपुर नगरपालिका–६, तालपोखरा निवासी ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार जनककी श्रीमती २९ वर्षीया कल्पना चापागाईं भने घाइते भएकी छन्। मंगलबार साँझ करिब साढे ६ बजेतिर खसेको पहिरोमा परेका जनकलाई सडकदेखि झण्डै ३५ मिटर तल भिरबाट उद्धार गरिएको प्रहरीको भनाइ छ।
घटना भएको करिब १५–२० मिनेटमै उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएका जनकलाई चिकित्सकले मृत घोषणा गरेका थिए। घाइते कल्पनाको बुटवलमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
पहिरोका कारण केही समय सडक अवरुद्ध बनेको थियो भने हाल पहिरो हटाएर आवागमन सुचारु गरिएको प्रहरी नायब निरीक्षक केसीले जानकारी दिएका छन्।

Leave a Reply