रुपन्देही । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका कपिलवस्तुका १६ वर्षीय रौनक श्रीवास्तवलाई भव्य सम्मान गरिएको छ।
क्रिकेट संघ कपिलवस्तु शाखाद्वारा आयोजित विशेष कार्यक्रममा उनलाई फूलमाला र अबिर लगाएर राष्ट्रिय गीत बजाउँदै नगर परिक्रमा गराइएको थियो। त्यसपछि तौलिहवामा आयोजित सभामा विभिन्न संघ–संस्थाले उनलाई सम्मानित गरे।
खेलमा उत्कृष्ट भएका उनलाई कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले नगद ५१ हजार, सम्मानपत्र र मायाको चिनो प्रदान गरे।
त्यसैगरी युवा नेता प्रकाश घिमिरेले ५ हजार नगद, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयाद्दिन कुर्मीले २ हजार १ सय नगदसहित सम्मानपत्र हस्तान्तरण गरे। कपिलवस्तु नगरपालिका वडा नं ३ का अध्यक्ष रुद्रप्रकाश गैरेले २५ हजार रुपैयाँ बराबरको क्रिकेट ब्याट प्रदान गर्दै श्रीवास्तवको उत्साह अभिवृद्धि गरेका थिए।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डे, नगर प्रमुख सुदीप पौडेल, क्यानका पूर्व केन्द्रीय सचिव प्रशान्तविक्रम मल्ल, प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, प्रहरी उपरीक्षक निरञ्जन भट्ट र युवा नेता प्रकाश घिमिरेले रौनकको कीर्तिमानी उपलब्धिको प्रशंसा गरेका थिए ।
त्यस्तै, शिवराज नगरपालिका अन्तर्गत चन्द्रौटमा पनि मंगलबार नै आजै स्थानीय बासिन्दाले रौनकलाई नगदसहित सम्मान गरेका छन्।
कृष्णनगर नगरपालिका–१, मडहाका श्रीवास्तवले प्रतियोगितामा ६ खेलमा ३ इनिङ्स खेल्दै कुल २९६ रन प्रहार गरेका थिए। उनले १ शतक र १ अर्धशतकसहित प्रतियोगिताका सर्वाधिक रनकर्ता तथा उत्कृष्ट ब्याटर बने।
इन्डोनेसियाविरुद्ध ८८ रन बनाएका उनले भुटानविरुद्धको खेलमा १३२ बलमा ५ छक्का र १६ चौका प्रहार गर्दै १६८ रनको ऐतिहासिक इनिङ्स खेले। यो स्कोर नेपाली खेलाडीले कुनै पनि तहको अन्तर्राष्ट्रिय प्रतियोगितामा बनाएको व्यक्तिगत उच्च स्कोर हो।
यसअघि सन् २०२३ मा एसिसी यू–१९ प्रिमियर कपमा अर्जुन कुमालले साउदी अरेबियाविरुद्ध बनाएको १४२ रनको कीर्तिमान रौनकले तोडेका हुन्। रौनकलाई एसियन क्रिकेट काउन्सिल (एसीसी)ले समेत प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान तथा सर्वोत्कृष्ट खेलाडी बनेकोमा औपचारिक बधाई दिएको छ।
श्रीवास्तवले प्रदेशस्तरीय क्रिकेट छनौट प्रतियोगितामा कपिलवस्तु र पाल्पाको छनौट खेलमा ८८ रनमा १६ चौका र १ छक्का गरेर १ सय १० रन बनाएर चर्चामा आएका थिए भने कोशी विरुद्धको खेलमा ७० रन बनाएका थिए । तर त्यो भन्दा चर्चामा सुर्खेतमा जारी यू ९१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशको तर्फबाट रौनकले दोहोरो शतक बनाएर आफ्नो इतिहास बनाएका हुन् ।
जेठ २० मा विरेन्द्रनगर रंगशालामा भएको प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध लुम्बिनीका रौनकले २१७ रनको दोहोरो शतक प्रहार गरेका हुन् । उनले ११७ बलमा १६ चौका र १६ छक्का प्रहार गरे । रौनकको दोहोरो शतकको मद्दतमा लुम्बिनीले ४५ ओभर ४ बलमा सबै विकेट गुमाएर ४०३ रन बनाएको थियो ।
नेपालको कुनै पनि घरेलु क्रिकेटको खेलमा बनेको यो सर्वाधिक स्कोरसँगै घरेलु राष्ट्रिय क्रिकेट पनि पहिलो पटक दोहोरो शतक प्रहार भएको भन्दै उनको प्रशंसा भएको थियो । दायाँ हाते ब्याटर रौनक श्रीवास्तवले नयाँ नयाँ इतिहास रचेसँगै क्यानको नजरमा परिसकेका छन् ।
उनको छिमेकीसमेत रहेका कृष्णनगर नगरपालिका १ का वडाध्यक्ष तुंगनाथ चौधरीले सामान्य परिवारमा जन्मेका रौनकको परिवारमा दैनिक खर्च चलाउन समस्या परिरहेको परिवारबाट देशलाई नै चिनाउनेगरी खेलमा प्रगति गरेको सुनेर सबैलाई खुसी लागेको छ ।
‘मेरै गाउँको भाइ हुन्, घरको अवस्था निकै कमजोर छ, बुवा मजदुरी गर्नुहुन्छ, आमा गृहिणी हो, दुई साना बहिनी छन्, धेरै पढ्न पनि पाएनन् तर क्रिकेटमा उनको प्रगति सुनेर निकै खुसी लागेको छ, सिंगो वडा, गाउँ, पालिका खुसी भएका छौं,’ उनले भनेका छन् । घरमा ब्याट र बल किन्नसमेत कुनै नियमित स्रोत नभएका श्रीवास्तव साथीहरूको छेउमा बसेर क्रिकेट सिकेको र उनीहरूकै सहयोगमा खेल्न पाएको बताउँदै आएका छन् ।
आर्थिक अभावमा धेरै पढ्नसमेत नपाएका उनी साथीहरूको साथमा भारतको नौगढमा गएर क्रिकेट सिक्न पाएको स्मरण गर्दछन् । अहिले पनि उनका बुवाआमा गाउँमै सामान्य कृषि खेती गरेर बसेका छन् भने कहिलेकाहीँ ज्याला मजदुरी गरेर घर खर्चको जोहो गरिरहेका छन् । भारतीय सीमा क्षेत्र नजिक भएकाले उनका बुवा अशोक श्रीवास्तव मजदुरीका लागि भारतको नौगढसम्म जाने गरेको छिमेकीहरू बताउँछन् ।


Leave a Reply